मकवानपुर । पाँचथरका अग्रज साहित्यकार डा. रमेश शुभेच्छु मकवानपुरमा सम्मानित हुनुभएकाे छ । मकवानपुरको बकैया गाउँपालिकामा क्रियाशील झरना साहित्यिक परिवारले उहाँलाई ‘होमनाथ–टिकामाया प्रतिभा सम्मान’बाट सम्मानित तथा पुरस्कृत गरेको हो।

झरना साहित्यिक परिवारका विविध पुरस्कारमध्ये सबैभन्दा ठूलो तथा प्रतिष्ठित मानिने उक्त सम्मान २१ हजार १ सय २१ रुपैयाँ राशिसहित प्रदान गरिएको हो। सिर्जना, समीक्षा, सम्पादन तथा संस्थागत विकासमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ। सम्मान तथा पुरस्कार बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले प्रदान गर्नुभएकाे थियाे ।

सम्मान ग्रहण गर्दै साहित्यकार शुभेच्छुले आफ्नो जीवनमा सम्मानभन्दा सिर्जनाकर्मलाई बढी महत्व दिएको उल्लेख गर्दै छनोट समिति र आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयाे । “म यो पुरस्कारको भारी बोकेर हिँड्न योग्य बन्न सकूँ,” उहाँले भन्नुभयाे ।

झरना साहित्यिक परिवारको ३२३औँ साहित्य शृङ्खला, ३३औँ वार्षिक उत्सव तथा सातौँ बकैया कला–साहित्य महोत्सवका अवसरमा विभिन्न विधाका ११ जना स्रष्टालाई नगदसहित सम्मान गरिएको संस्थाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिनुभयाे ।

सो अवसरमा ‘कुलकुमारी–झलकनाथ लोकसाहित्य सम्मान–२०८२’  लोकगायक नन्दकृष्ण जोशीलाई प्रदान गरिएको थियो। १५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२’ डा. निमेष निखिललाई प्रदान गरिएको छ।

त्यसैगरी ११ हजार १ सय ११ रुपैयाँ राशिको ‘गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२’ सञ्चारकर्मी दीपक अधिकारी, ७ हजार ७ सय ७७ रुपैयाँ राशिको ‘सञ्जीवनी बुटी साहित्य सम्मान–२०८२’ अर्पण पराजुली तथा ‘सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२’ एसआर मञ्जरी ओलीलाई प्रदान गरिएको संस्थाका कोषाध्यक्ष अजर फुयाँलले जानकारी दिनुभयाे ।

यसैगरी ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२’ ऋचा लुइँटेल, ‘खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२’ सूर्य सन्यासी तथा ‘ऋशेश्वर–रुक्मिणी लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२’ सिर्जना खनाललाई प्रदान गरिएको थियो। साथै ‘नेपाली मुक्तकमा वक्रोक्ति’ विषयमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएकाेमा विश्वनाथ सञ्जेललाई पनि संस्थाले सम्मानपत्र प्रदान गरेको जनाएको छ।

दुई दिनसम्म सञ्चालन भएको महोत्सवअन्तर्गत चित्रकला प्रतियोगिता, रचना वाचन, समसामयिक कविता प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। चित्रकला प्रतियोगितामा महेन्द्र माविका विद्यार्थी मिहाजुल थोक्कर, रिषा दोङ र प्रसिद राई उत्कृष्ट घोषित हुनुभएकाे थियाे ।

कार्यक्रममा विभिन्न जिल्लाका स्रष्टाहरूले रचना वाचन गर्नुभएकाे थियाे भने लोकगायक नन्दकृष्ण जोशीले सुदूरपश्चिमका लोकभाका प्रस्तुत गर्नुभएकाे थियाे । मकवानपुरका विभिन्न जातजाति र संस्कृतिलाई झल्काउने सांस्कृतिक प्रस्तुति पनि महोत्सवको आकर्षण बनेको थियो।