सिन्धुपाल्चोकको सदरमुकाम चौतारास्थित कञ्चन स्मृति ग्राम पुस्तकालयको स्थापना भएको धेरै भएको छैन । यस पुस्तकालयमा सिन्धुपाल्चोक जिल्लाका पुस्तकप्रेमीसहित जिल्लाबाहिरका पुस्तकप्रेमीको पनि उपस्थिति बढ्दो छ । पुस्तकालयका कर्मचारी देवी भारतीका अनुसार नजिकैका विद्यालय र क्याम्पसका विद्यार्थीका साथै बौद्धिक व्यक्तित्वहरुको उपस्थिति बाक्लो रहेको छ । पुस २९ गते काठमाडौँबाट साहित्यकार डा. रमेश शुभेच्छु र गीता सापकोटा बोरामा केही पुस्तक बोकेर पुस्तकालयमा उपस्थित हुनुभयो । उहाँहरुले पुस्तकालयलाई आफ्नो सङ्कलनका पुस्तक दान गर्नुभयो ।
डा. शुभेच्छुको चौतारासँग शैक्षिक सम्बन्ध छ । उहाँ चौतारा बहुमुखी क्याम्पसका अतिथि प्राध्यापक हुनुहुन्छ । उहाँ चौताराका प्रायः साहित्यिक कार्यक्रमहरुमा उपस्थित भइरहनु हुन्छ । त्यसै गरी शैक्षिक प्रशिक्षण र अन्य कार्यक्रममा पनि पुगिरहनुहुन्छ । उहाँले आफ्नो घरलाई नै पुस्तकालयका रुपमा विकास गर्नुभएको छ भने विभिन्न पुस्तकालयमा आफ्नातर्फबाट यथासक्य पुस्तक दान गर्दै आउनुभएको छ । पुस्तकालयका सञ्चालक सिन्धुपाल्चोकका पत्रकार सुरेश कसजुले शुभेच्छुलाई पुस्तकालय अवलोकन र पुस्तक हस्तान्तरणका लागि धन्यवाद दिनुभयो ।
त्यस्तै डा. शुभेच्छुले कञ्चन स्मृति पुस्तकालयको विकासको कामना गर्दै समाज विकासमा भौतिक विकासले मात्र नपुग्ने र पुस्तकालय जस्ता संस्थाको विकासले मानसिक विकासमा टेवा पुग्ने बताउनुभयो । पुस्तकालयमा उपस्थित साहित्यकार गीता सापकोटाले निजी पुस्तकालयमा भन्दा सार्वजनिक पुस्तकालयमा रहने पुस्तकमा धेरैका आँखा पुग्ने भएकाले हामीले दोहोरिएका पुस्तक पुस्तकालय छानेर दान दिने गरेका छौँ ।
शुभेच्छु शैक्षिक कार्यक्रममा चौतारा क्याम्पस आएका बेला पुस्तकालय भ्रमण र पुस्तक हस्तान्तरण गर्नुभएको हो । उहाँले पुनः चौतारा आउँदा थप पुस्तक बोकेर आउने बताउँदै पुस्तकालयको विकासको कामना गर्नुभयो । शुभेच्छुको विचार थियो समाज विकासका लागि फिल्महल, रङ्गशाला, भ्युटावर र चिल्ला बाटा भन्दा ससाना पुस्तकालयले बढी सघाएका हुन्छन् । उहाँलाई देवी भारती, सुमित्रा श्रेष्ठ र सशांक कसजुले पुस्तकालयमा स्वागत गरेका थिए ।
डा. शुभेच्छुले पुस्तकालयको सबै पुस्तक कम्प्युटरमा अभिलेखन गरेर खोज्ने वित्तिकै भेट्ने गरी राखिएकोप्रति खुसी व्यक्त गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।