गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः
गुरु: साक्षात् परब्रह्माः तस्मै श्री गुरवे नमः ।

गीता सापकोटा

असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकटगरि मनाउने गरिन्छ । ‘गु’ को अर्थ अन्धकार ‘रु’ को अर्थ प्रकाश हुन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकार नाश गराउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । अर्थात् अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तिलाई गुरु भनिन्छ । हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा मानेको पाइन्छ ।

ज्ञानरुपी उज्यालो र त्यसको महत्वको चित्रण जुनसुकै धर्म समुदायको भएको पाइन्छ । मानिसलाई ज्ञान, सीप ग्रहण गर्नका लागि गुरु र गुरुतत्वको आवश्यक हुन्छ । सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बीहरुले धर्म तथा ज्ञानको बाटो देखाउने गुरुप्रति आजकै दिन आभार व्यक्त गर्ने गर्दछन् । आजको दिन विद्यार्थी वा चेलाचेलीहरुको लागि ठूलो उत्सवको दिन हो । यस दिन विद्यार्थीहरुले आफ्ना गुरु गुरुआमालाई मीठामीठो खान दिने र उपहार दिएर खुसी बनाउने गर्दछन् । शिक्षकहरुले पनि आफ्ना चेलाचेलीहरुलाई टीकाअक्षता लगाइदिएर शुभकामना व्यक्त गर्दछन् ।

द्धापर युगको अन्त्यतिरदेखि गुरु पूर्णिमा मनाउन थालिएको पाइन्छ । गुरुमार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार व्यक्त गर्दै गुरुपूर्णिमा मनाउने गरिन्छ । गुरुबाट प्राप्त ज्ञानको पथमा सधैँ अगाडि बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्ति गर्ने दिनको रुपमा हर्षोल्लासका साथ गुरुपूर्णिमा मनाइन्छ । विशेषगरि यसै दिन आचार्य वेद व्यासको जन्म भएको हुँदा वैद्धिक कालदेखि नै व्यास जयन्ती मनाउने प्रचलन रहेको पाइन्छ । व्यास जयन्तीलाई नै हिन्दुधर्मावलम्बीहरुले गुरु पूर्णिमाका रुपमा मनाउने गरिएको हो । उनी वेदवेदान्त, अठार पुराण, उपनिषद् जस्ता ग्रन्थका साथै महाभारतका रचयिता पनि थिए । आजकै दिन गौतम बुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश दिनुभएको दिन परेकाले यसै दिनलाई धर्मचक्र प्रवर्तक दिवसका रुपमा बौद्ध धर्मावलम्बीहरुले पनि गुरुपूर्णिमा मनाउने गरेको पाइन्छ ।

पहिला गुरु भन्नाले गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुर्वाण सिकाउने व्यक्तिलाई मात्र बुझिन्थ्यो । अहिले गुरुको परिभाषा विशाल भएको छ । हिन्दू मान्यताअनुसार विद्यालय र विश्वविद्यालयका शिक्षकका साथै संगीतलगायत ६४ कला सिकाउने, गायत्री, दीक्षामन्त्र वेदमन्त्र दिने आचार्य, उमेर, बुद्धि, बल र अनुभवले पाका व्यक्तिहरु जसले हामीलाई स्वास्थ्यवान्, नैतिकवान् र चरित्रवान् बन्न सिकाइरहेका हुन्छन् । त्यसैले विद्यालय र विश्वविद्यालयमा औपचारिक शिक्षा दिने शिक्षक शिक्षिकाहरुका साथै हाम्रा पिता, हजुरबा, हजुरआमा, दाजुदिदी, काकाकाकी आदि परिवारका सदस्यहरु पनि हाम्रा पूजनीय गुरु हुन् । उहाँहरुबाट निरन्तर हामीले जीवनमा मार्गदर्शन पाएका हुन्छौँ ।

अहिलेको युग विज्ञान र प्रविधिको युग भएको छ । आजको युगमा एकलव्यले जस्तो द्रोणाचार्यको प्रतिमूर्ति बनाएर त्यसैलाई गुरु थापेर ज्ञान लिनुपर्ने दिन रहेन । गुरुदक्षिणाकै रुपमा औँला काटेर ज्ञान लिनुपर्ने पनि छैन । तर गुरुत्वका प्रेरणा र प्रोत्साहनले वर्तमान समयमा नैतिकवान् र चरित्रवान् व्यक्तित्व बन्न प्रेरित हुनुपर्ने देखिन्छ । वर्तमान परिप्रेक्ष्यमा आधुनिक शिक्षा प्रणालीले र विज्ञानको चमत्कारले गुरुविना नै म संसार हल्लाउन सक्छु भन्ने अहम् बढ्नसक्ने खतरा देखिन्छ, तर गुरुविनाको चेलो भनेको लिकविनाको रेल जस्तो हुन्छ । जस्तोसुकै विज्ञानको चमत्कार भए पनि हामीलाई मार्गदर्शन गर्ने आमाबुबा र कुशल शिक्षकको खाँचो सधैँ भइरहेको हुन्छ । यसका लागि हामीले विद्यालयदेखि नै शिक्षाको महत्व र शिक्षकको महत्वका बारेमा बालबालिकालाई सचेत गराउनु पर्छ । सकारात्मक प्रभाव पार्न सक्नुपर्छ ।

भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरताले मात्र शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सकिँदैन । जबसम्म ती साधनहरुको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । तबसम्म भौतिक वस्तुको कुनै अर्थ रहँदैन । यसका लागि योग्य शिक्षकको खाँचो हुन्छ । विद्यालयमा बालबालिकालाई पढाउने गुरुमात्र भएर भएन ।

गुरुभित्र गुरुत्व हुनुपर्छ । गुरुत्व छ भने मात्र शिक्षकले विद्यार्थीलाई सकारात्मक प्रभाव छोड्न सक्छ । उसका सकारात्मक र नकारात्मक पक्षको पहिचान गरेर सही मार्ग दर्शनका लागि समर्पित बन्न सक्छ । उसको प्रतिभा पहिचान गरी सक्षम नागरिक बन्न प्रेरित गर्नसक्छ । यस्ता गुरुप्रति विद्यार्थीहरुमा सम्मानको भाव अङ्कुराउन थाल्छ । फाबेलले ‘विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैँचा’ भनेका छन् । शिक्षक सधैँ समाज र विद्यार्थीका लागि पदप्रर्दशक हो ।

समाज निर्माणमा शिक्षकको ठूलो हात रहेको हुन्छ । त्यसैले शिक्षक समाजको परिवर्तनको संवाहक हुन् । यस्ता शिक्षकहरुप्रति सम्मानको भाव प्रकट गर्नु हामीले सभ्य संस्कृतिको निर्माण गर्नु हो ।

गुगल र युट्युब लगायतका इन्टरनेटका शिक्षण सामग्रीलाई अध्ययनको स्रोत मान्ने अहिलेको नयाँपुस्ताहरुका लागि गुरुपूर्णिमा संस्कार र संस्कृतिको जर्गेना गर्न सिकाउने महत्वपूर्ण दिन हो । संसार जति नै आधुनिक र व्यवसायमुखी भए पनि सीप प्राप्त गर्नका लागि कसै न कसैका माध्यमबाट हामीले प्रेरणा र प्रोत्साहन पाएका हुन्छौँ । यसैले गुरुपूर्णिमाका अवसरमा विद्यालय, विश्वविद्यालय एवम् विभिन्न संघसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति सम्मान अर्पण गर्ने गरेको पाइन्छ । यो परम्परा सधैँ चलिरहनु पर्छ । यसले हाम्रा बालबालिकामा सकारात्मक भावनाको विकास हुन्छ । असर र चरित्रवान् मानव विकासका लागि यस्ता संस्कार र संस्कृतिमा नयाँपुस्तालाई हौसला दिनु अति आवश्यक छ । जसले हाम्रो मौलिक संस्कृतिको सम्बद्र्धन हुनुका साथै सभ्य समाजको विकासमा सहयोग पु¥याउँछ ।

टीकाथली, ललितपुर