गीता सापकोटा

युगले मान्छे जन्माउँछ भने मान्छेले युग जन्माउँछ भन्ने शास्वत विचारको सूचक बनेकी नेपाली नारी रत्न हुन्, अङ्गुर बाबा जोशी । वि.सं. १९८९ भदौ ३० गतेका दिन काठमाडौँको डिल्लीबजारमा माता दीपकुमारी पन्त र पिता पीताम्बरप्रसाद पन्तकी सुपुत्रीका रुपमा जोशीको जन्म भएको थियो । तत्कालीन समयमा नेपालमा बालविवाह प्रथा थियो । त्यस प्रथाबाट अङ्गुरबाबा पनि अछुतो रहन सकिनन् । उनको ११ वर्षको उमेरमा बलराम जोशीसँग उनको विवाह भएको थियो । शिक्षित र सम्पन्न पारिवारिक वातावरणमा उनको विवाह भयो । पारिवारिक वातावरणले पनि उनका जीवनले काँचुली फेर्ने अवसर पायो । आफ्नै सासूको प्रेरणा र सहयोगका कारण उनले विवाहपश्चात् श्रीमान् का साथ पढ्ने र बढ्ने मौका पाइन् । फलस्वरुप उनले विद्यालयीय शिक्षा हुँदै स्नातकोत्तरसम्मको अध्ययन गरिन् ।

अङ्गुरबाबा जोशी नेपालमा नारी शिक्षा र नारी चेतनाकी प्रेरणाकी स्रोत नै थिइन् । उनले आईए सम्मको शिक्षा उनका श्रीमान् बलराम जोशीका साथ नेपालमा गरिन् । त्यसपछि स्नातक तहको अध्ययनका लागि श्रीमान् कै साथ भारतको वनारसमा गइन् र आफ्नै जीवनसाथीसँग सहपाठी भएर उनले अध्ययन गरिन् । उनले त्यहाँ ऐच्छिक विषय राजनीतिक शास्त्र र संस्कृत शिक्षा पढिन् र स्नातक तहको औपचारिक शिक्षा पूरा गरिन् । त्यसपछि स्नातकोत्तर तहको शिक्षाका लागि बेलायत जाने अवसर पाइन् । तत्कालीन समयको बेलायत सरकारबाट प्रदान गरिने कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्ति पाउन सफल भएपछि उनले बेलायतबाट राजनीति शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरिन् । त्यसपछि नेपाल फर्किएर पद्मकन्या कलेजमा पढाउन थालिन् । उनले पद्मकन्या कलेजमा पढाउने मात्र होइन, त्यस मन्दिरलाई फुलाउने र फलाउने काममा पनि ठूलो योगदान दिइन् । त्यतिबेलासम्म नेपालमा छोरीहरुका लागि शिक्षा प्राथमिकतामा थिएन ।

नेपाली समाजमा छोरीलाई हेयका दृष्टिले हेरिन्थ्यो । छोरा जन्मे काखा, छोरी जन्मे पाखा भन्ने रुढिग्रस्त समाज थियो । विद्यालयीय शिक्षाका लागि पनि सबै छोरीले अवसर पाउँदैन थिए । चाँडै विवाह गरेर पराइ घर पठाउने चलन छँदैथियो । समाजमा शिक्षाको चेतना पुगिसकेको थिएन । अङ्गुरबाबा जोशीले पद्मकन्या कलेजमा पढाउन थालपछि काठमाडौँ र आसपासमा रहेका जिल्लाहरुका गाउँमा गएर घरघरमा छोरीबुहारीलाई पढाउनुपर्छ भन्ने चेतना फैलाइन् । नारीका लागि जनचेतना फैलाउन उनले नेतृत्व लिइन् । पद्मकन्या कलेज नितान्त नारीहरुकै कलेज हो । त्यहाँ नारीहरुले सुरक्षित वातावरणमा पढ्न पाउँछन् भन्ने विश्वास दिलाइन् । उनकै विश्वासले बिस्तारै छोरीहरुलाई पढाउने वातावरण सिर्जना हुँदै गयो । उनले पद्मकन्या क्याम्पसमा लामो समयसम्म प्राध्यापन गरिन् । त्यस अवधिमा १२ वर्ष उनी क्याम्पपस प्रमुख पनि भइन् । उनले नारीहरुले मात्रै पढाइने यस क्याम्पसमा छात्राको सङ्ख्या वृद्धि गर्न र छात्राहरुको पोशाक (गुन्यू चोली) व्यवस्थापन गर्न अग्रणी भूमिका खेलिन् । अहिलेसम्म पनि पद्मकन्या क्याम्पस नितान्त छात्राहरुको क्याम्पसको रुपमा विकसित भएको छ भने त्यही पोशाकलाई मान्यता दिइएको छ ।

[bs-quote quote=”उनी सामाजिक योद्धा पनि हुन् । उनले चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल संस्थाको स्थापना गरिन् । जहाँ समावेशी रुपमा दलित महिलाहरुलाई पनि वेद पाठ गराइन्छ । यसको उनी संस्थापक संरक्षक नै हुन् ।” style=”default” align=”left” color=”#dd3333″][/bs-quote]

अङ्गुरबाबा जोशी मूलतः प्राध्यापक हुन् । यसका साथै उनी सामाजिक योद्धा पनि हुन् । उनले चितवनको देवघाटमा गार्गी कन्या गुरुकुल संस्थाको स्थापना गरिन् । जहाँ समावेशी रुपमा दलित महिलाहरुलाई पनि वेद पाठ गराइन्छ । यसको उनी संस्थापक संरक्षक नै हुन् ।
बाल्यकालमै विवाह बन्धनमा बाँधिएकी जोशी पारिवारिक जिम्मेवारीबाट अछुतो रहेर अगाडि बढेकी होइनन् । उनले सासूको प्रेरणा र अनुकूल वातावरणले उच्च शिक्षाका लागि मौका पाइन् । यो नेपाली समाज र समाजका नारी वर्गका लागि उदाहरणीय पक्ष हो, यद्यपि उनको पारिवारिक दायित्व पनि उत्तिकै थियो । दुई छोरी र एक छोराकी आमा बनेर होस् वा बुहारीको भूमिका निर्वाह गरेर होस्, उनका जीवन सङ्घर्षपूर्ण पक्कै थियो । नेपाली समाजमा घर चुलोचौका र छोराछोरीका जिम्मेवारीहरु नारीकै पेवा जस्तै प्रायः अहिले पनि छन् भने त्यतिबेला उनी पनि पक्कै यस्ता कुराबाट पन्छिएर शिक्षा, जागिर र समाजसेवाको क्षेत्रमा सफल बनेकी होइनन् । उनीभित्रको दृढ इच्छाशक्ति र आत्मविश्वासले उनलाई कर्ममा डोहोर्‍याइरह्यो । उनी अघि बढ्दै गइन् । यसमा पारिवारिक साथसहयोगले पनि पक्कै भूमिका खेल्यो । फलतः उनी बौद्धिक समाजमा नारी हस्तीका रुपमा चिनिदै गइन् र आज चेतना र सङ्घर्षकी प्रतिमूति बन्न सफल भइन् ।
अङ्गुरबाबा जोशी आम नेपालीका लागि नै प्रेरणाकी स्रोत हुन् । उनमा भएको दृढ आत्मविश्वास र साहसले क्यान्सर जस्तो प्राण घातक रोगले पनि पटकपटक हार खानु परेको थियो । उनलाई पहिले घाँटीको क्यान्सर र पछि स्तन क्यान्सर भएको थियो । दुई पटकसम्म यस्तो डरलाग्दो रोगलाई जित्न उनी सफल भइन् । उनको यो अद्भूत क्षमताले आम मानिसहरुलाई साहसी पाठ सिकाउँछ ।

अङ्गुरबाबा आध्यात्मिक चिन्तनमा निकै विश्वास गर्थिन् । यसले उनीभित्र सकारात्मक ऊर्जा थपिँदै गयो र गरेका कार्यमा सफल हुँदै गइन् । आज सङ्घर्षकी प्रतिमूर्ति बन्न सफल भइन् । पारिवारिक जीवन, प्राध्यापन, समाजसेवाका साथै उनले सिर्जना यात्रा पनि त्यति नै दरिलो बनाइन् । वि.सं. २०३१ सालमा ‘कल्पना’ नामक कथासङ्ग्रह लिएर साहित्यका क्षेत्रका उदाएकी जोशीका क्यान्सर वरदान, वृद्धा अवस्थाः जीवनको श्रीपेच, दीक्षा नामक कृतिहरु प्रकाशित छन् । उनका यिनै बहुमुखी कार्यको उच्च कदर गर्दै नेपाल सरकारले र अन्य संघसंस्थाले उनलाई पटकपटक सम्मान गरेको पाइन्छ । उनले प्राप्त गरेका राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कारहरुमा महेन्द्र विद्याभूषण प्रथम (इ.सं. १९६१), गोरखा दक्षिणबाहु दोस्रो, त्रिशक्ति पट्ट तेस्रो, शुभराज्याभिषेक पदक २०१३, २०३१), दीर्घसेवापदक, रत्नश्री सुवर्ण पदक, गद्दी आरोहण रजत महोत्सव पदक, जगदम्बा श्री पुरस्कार आदि रहेका छन् ।

यसरी अङ्गुरबाबा जोशी नेपाली नारीहरुका लागि मात्र नभएर आम समुदायकै लागि चेतनाको दियो बाल्ने अग्रणि व्यक्तित्व हुन् । समाज विकासका लागि शिक्षा महत्त्वपूर्ण कुरा हो यसमा पनि एउटा घरलाई शिक्षित बनाउन आमाको भूमिका ठूलो हुन्छ त्यसैले नारीलाई पनि शिक्षा र चेतनाको प्रकाश अति आवश्यक छ भन्ने चेतना भएकी अङ्गुरबाबाले आफू मात्र होइन सिङ्गो नेपाली समाजका नारीहरुलाई शिक्षाको उज्यालो दिनको लागि सङ्घर्ष गरिन् । आफू कलेजको प्राध्यापक भएर समाज र समाजका नारीहरुका माझ शिक्षाकै ज्योतिका लागि चेतनाको दियो लिएर हिँडिन् । समावेशी रुपमा वेद पढ्न पाउने वातावरण मिलाइन् । सिर्जनाका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिइन् । जीवनभरि सङ्घर्ष गरिरहिन् र आम मानवका लागि आत्मविश्वास र दृढ अठोट सफलताको प्रतीक हो भन्ने पाठ सिकाएर २०७७ जेठ ६ गते ८८ वर्षको उमेरमा सधैँका लागि यस धर्तीबाट अस्ताइन् । उनको देह लीला समाप्त भए पनि उनले जीवनभर गरेका महत्त्वपूर्ण कार्यहरुले उनी हामीमाझ सधैँ उदाइरहने छिन् ।