काठमाडौं  ।  दाहाल यज्ञनिधिको ७२ औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा युवा साहित्यकार डा. रमेश शुभेच्छुलाई ‘नागार्जुन बाङ्मय जदौ पुरस्कार २०८२’ समर्पण गरिएको छ। पुरस्कारको राशि नगद  पन्ध्र हजार  पन्ध्र रूपियाँ रहेको नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले जानकारी दिनुभयो।

प्रतिष्ठानका अध्यक्ष पौडेलको अध्यक्षता र प्राज्ञ डा. तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा प्रतिष्ठानले यस वर्षदेखि पुरस्कार वितरण सुरु गरेको घोषणा गरेकाे छ । सचिव युवराज नास्तिकले शुभेच्छुलाई पुरस्कृत गर्ने निर्णयको जानकारी दिँदै उहाँले दाहालका कृति र जीवनीलाई अनुसन्धान गरी उजागर गरेको योगदानका कारण उहाँलाई छनोट गरिएको बताउनुभयो। छनोट समितिका संयोजक मातृका पोखरेलले पनि डा. शुभेच्छुको योगदान उल्लेखनीय रहेको बताउनुभयाे ।

समारोहमा प्रमुख अतिथि डा. भट्टराईले शुभेच्छुले मोतीराम भट्टले जस्तै भूमिकामा दाहाललगायत अन्य स्रष्टाहरूलाई चिनाउन योगदान दिएकोमा प्रशंसा गर्नुभयो। भट्टराईले पुरस्कारले पात्रको गरिमा मात्र बढाउने होइन, पुरस्कारकै प्रतिष्ठा बढाउने कुरामा जोड दिनुभयो।

साहित्यकार प्रा. प्रयागराज वाशिष्टले दाहालका कविताहरूबारे चर्चा गर्नुभयो भने डा. विनोद मञ्जनले दाहालका निबन्धहरूको समीक्षा गर्दै केही निबन्ध शैलीगत रूपमा कमजोर भए पनि विचार दृष्टिले ती महत्वपूर्ण रहेको तर्क गर्नुभयो।

डा. हरिप्रसाद सिलवालले डा. रमेश शुभेच्छु बहुआयामिक स्रष्टा रहेको उल्लेख गर्दै उहाँलाई पुरस्कार नदिएको भए अन्याय हुने धारणा राख्नुभयो। कार्यक्रममा अगिव वनेपाली, यशोदा अधिकारी, सुधा दाहाल, महेश प्रसाईं, रामप्रसाद पन्तलगायतले यज्ञनिधि दाहालका जीवन र साहित्यिक योगदानबारे प्रकाश पार्नुभएकाे थियाे ।

समारोहमा कवि देवकुमारी लुइटेलले दाहालका छ कविता वाचन गर्नुभएकाे थियाे । कवि रत्ननिधि रेग्मी शुक्राचार्य, असीम सागर, कृष्णप्रसाद जस्ताघरे, युवराज कुनाघरे, रामदेव पाण्डे, गौरी दाहाल, गङ्गा खतिवडालगायतले पनि कविता वाचन गर्नुभएकाे थियाे ।

प्रतिष्ठानको परम्पराअनुसार समीक्षकद्वय प्रा. वाशिष्ट र डा. मञ्जनलाई सम्मानपत्र प्रदान गरिएकाे थियाे । कवि पूर्ण विरामका दुई कविता वाचन भएका कार्यक्रममा यम बाँस्तोला रु एक हजार सहित पुरस्कृत हुनुभएकाे थियाे । देवकुमारी लुइटेललाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।

कवि यज्ञनिधि दाहालको जन्म २०१० साल साउन ८ गते खोटाङ जिल्लाकाे खाल्लेमा भएको थियो।