काठमाडौँ, जेठ २६ / राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभा हल, बागबजार काठमाडौँमा डा. रमेश शुभेच्छुका दर्जन कविता वाचन गरिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरेको ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा शुभेच्छुका एक दर्जन कविता प्रस्तुत भए । शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन् ।

स्वागत मन्तव्य र कवि परिचयपछि रमेश शभेच्छुकले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र ‘उल्टो न्याय’ गरी छ ओटा कविता वाचन गर्नुभयो । कवि जय गौडेलले ‘हन्मेर्नो’, कवि नारायण निरासीले ‘अचानो’, कवि देवु लुइँटेलले ‘माझी’, कवि गीता सापकोटाले ‘आमा’ र ‘द्रोणाचार्यमाथि अभिमन्यु प्रश्न’, कवि डम्बर पहाडीले ‘लुखुरेको वादी’ वाचन गरी कवि शुभेच्छुकका कवितामा थप ओज प्रदान गर्नुभयो ।

शुभेच्छुका नौ वटा कविता शास्त्रीय लयढाँचामा र बाँकी तीन वटा मुक्त लयढाँचामा संरचित थिए । ती कविताले एकपछि अर्को गर्दै स्रोताको मन तान्न सकेका थिए । शुभेच्छु आफैँ सशक्त कवि, वाचक र शास्त्रीय एवम् लोककलाका विशिष्ट प्रशिक्षक पनि हुनुहुन्छ ।

शुभेच्छुले अविरल जनसाहित्य यात्रामा थुप्रो पटक सहभागी भएर, थुप्रो पठक वाचक भएर र केही पटक समीक्षक भएर उपस्थित भएको स्मरण गर्दै कविताका रचना गर्भ पनि सामान्य प्रस्तुत गर्दै आफ्ना कविता प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधि सभाका सांसद् माननीय दयालबहादुर शाहीको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, पूर्व अध्यक्ष खगेन्द्र राई, मधेसी आयोगकी आयुक्त सेतु , शुभेच्छुका पितामाता, डम्बर घिमिरे, रामणि ढुङ्गेल, डा. कृष्ण भारद्धाज, इन्द्रकुमार श्रेष्ठ सरित, नवराज रिजाल, गोपाल मैनाली, डा. भागवत आचार्य, आर.सी न्यौपाने, डा. सीता सुवेदी पन्थी, ज्ञानु विद्रोही, रुपक अलंकारगायतको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय जनसाहित्य सङ्घ, नेपालका महासचिव प्रकाश सिलवालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि रमेश शुभेच्छुकको साहित्यिक परिचय दिनुभयो भने प्रा. केशवप्रसाद सुवेदीले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षात्मक टिप्पणी गर्नुभयो ।

टिप्प्णीका क्रममा सुवेदीले शुभेच्छुका सबल र दुर्बल पक्ष दुवैको निकै गहन विश्लेषण गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले यस युगका लेखकले महाभारतको युगका व्यासको काम गरेको बताउनुभयो । उहाँले लेखकहरुले हामीलाई प्रेरित गर्न सक्ने गरी लेख्नुपर्ने भन्दै लेखनले समाज परिवर्तनमा सघाउँछ भन्ने विचार राख्नुभयो । उहाँले शुभेच्छुको पारिवारिक साहित्यिक वातावरणबाट आफू प्रभावित भएको र फुर्सदमा लेख्ने गरेको पनि बताउनुभयो । करिब तीन घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका उपाध्यक्ष नर्मदेश्वरी सत्यालले उपस्थितहरुलाई धन्यवाद ज्ञापन गर्दै सभाको समापन गर्नुभयो ।