रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गत वि.सं.२०६६ मा स्थापित रिलायन्स साहित्य समाजका थुप्रै कार्यक्रममा म पटक पटक सहभागी भएको छु । यस संस्थाद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाका स्मृतिमा स्थापित रिलायन्स साहित्य स्रष्टा सम्मान–२०८० बारे पनि म जानकार छु । यो सम्मान योग्यतम प्रतिभाहरूलाई अर्पण गरिँदै आएको सर्वविदितै छ ।
यसअघि यस पुरस्कारद्वारा राष्ट्रकवि माधवप्रसाद घिमिरे, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, वरिष्ठ समालोचकहरू प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.कुमारबहादुर जोशी, प्रा.डा चूडामणि बन्धु, प्रा.डा.महादेव अवस्थी लगायतका विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसक्नुभएको छ । यस क्रममा यस वर्ष कवि एवं समालोचक हेमनाथ पौडेलज्यू छनोटमा पर्नुभएको छ । दुई वर्षअघिदेखि प्रदान गर्न प्रारम्भ गरिएको युवा प्रतिभा सम्मानका निम्ति भने यस वर्ष कवि हेम प्रभास चुनिनुभएको छ । उहाँहरू दुवै योग्य प्रतिभाको चयन भएको छ भन्ने मेरो बुझाइ छ । संयोग हेम नै हेम, त्यसमा पनि गुरुचेला एकै मञ्चमा सम्मानित हुनु दोहोरो खुसीको कुरा हो ।

डा. हेमनाथ पौडेल
डा. हेमनाथ पौडेल आज महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता विशिष्ट प्रतिभाका नाममा स्थापित जुन पुरस्कार ग्रहण गर्दै हुनुहुन्छ, त्यसका लागि योग्य बन्न उहाँले गरेको प्राज्ञिक, शैक्षिक साधना उल्लेखनीय रहेको छ । मैले बुझेसम्म उहाँको जीवनयात्रा निकै सङ्घर्षपूर्ण रहेको छ र त्यो सङ्घर्षको बाटो निकै घुमाउरो पनि छ । त्यो बाटो पहिले गोरेटै गोरेटो र पछि चक्रेटै चक्रेटो भएर अगाडि बढेको छ । उहाँले शिक्षा लिन विभिन्न गुरुकुल र विद्यालय चहार्नुपरेको कथा निकै मार्मिक छ । उहाँले जागिर खान निकै ठाउँ धाउनुपरेको कथा पनि उस्तै सङ्घर्षपूर्ण छ । यो पक्ष नयाँ पुस्ताका लागि निकै उपयोगी र प्रेरक हुन सक्छ ।
आज हेमनाथ पौडेललाई धेरैले हेम सर भनेर चिन्छन् । उहाँ त्रिविका प्राध्यापक एवं नेपाली भाषा–साहित्य, संस्कृति तथा शिक्षा र सामाजिक क्षेत्रका बहुआयामिक व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँले आफ्नो यो सुकृतिपूर्ण व्यक्तित्व निर्माण गर्न युवावयदेखि नै आफूलाई भाषा–साहित्यका क्षेत्रमा लगाउँदै र समर्पित गर्दै आउनुभएको छ । उहाँ नेपाली वाङ्मयको उन्नयन र परिष्कारमा आजीवन संलग्न हुँदै आउनुभएको व्यक्तित्व हो ।
झट्ट हेर्दा अलि कडा जस्तो देखिने तर सरल स्वभाव भएका हेम सरको व्यक्तित्व कवि, निबन्धकारका साथै मूलतः कुशल समालोचकका रूपमा प्रतिष्ठित रहेको छ । उहाँले नेपाली भाषा–साहित्यसँग सम्बन्धित दर्जनौँ कृतिको सम्पादन, पाठ्यपुस्तक लेखन र अनेकौँ सङ्घसंस्थाको नेतृत्व पनि गर्नुभएको छ । उहाँको परिचय कोशकारका रूपमा पनि रहेको छ । उहाँले प्रज्ञा नेपाली बृहत् शब्दकोशको विशेष सम्पादकका रूपमा काम गर्नुभएको छ । प्रज्ञा नेपाली शैक्षणिक व्याकरणका लेखक र अरू कृतिका लेखक पनि हुनुहुन्छ उहाँ । यस आधारमा उहाँ मूलतः आधिकारिक समालोचक, व्याकरणकार र कोशकार हुनुहुन्छ ।
हेमनाथ पौडेल स्रष्टा र द्रष्टा मात्र होइन, प्राध्यापक र शिक्षासेवी व्यक्तित्व पनि हो । उहाँले केही समय माध्यमिक विद्यालयमा शिक्षण गर्नुका साथै करिब ३३ वर्ष त्रिविको प्राध्यापन सेवामा सक्रिय जीवन बिताउनुभयो । हाल अवकाश जीवन बिताइरहनुभएका उहाँ नेपाली भाषा–साहित्यसँग सम्बन्धित दर्जनौँ सङ्घसंस्थाहरूको सक्रिय सदस्य, विशिष्ट पदाधिकारी एवम् सल्लाहकारका रूपमा सेवारत रहँदै आउनुभएको छ । प्रचारमा धेरै आउन नचाहने तर निरन्तर साधना गरिरहने उहाँको सर्वस्व नै नेपाली भाषा–साहित्यको सेवा हो । उहाँ हाल बौद्ध रामहिटीस्थित साहित्य सदन नेपालको अध्यक्ष हुनुहुन्छ ।
म अलिकति हेमनाथ पौडेलज्यूको बाल्यकालतिर पनि फर्कन्छु । उहाँको जन्म परम्परागत धार्मिक, नैष्ठिक ब्राह्मण कुलमा भएको हो । पौडेल कुलका कर्मकाण्डविद् एवं ज्योतिषी बुबा पशुपतिनाथ र आमा कृष्णमाया पौडेलका कोखबाट उनीहरूका आठ सन्तानमध्ये दिदीपछिको दोस्रो सन्तानका रूपमा २०१७ साल आषाढ १३ गते तेह्रथुमको तत्कालीन ह्वाकु गाउँको वडा नं ५ मा उहाँको जन्म भएको हो ।
आजको पुनः संरचनाअनुसार त्यो ठाउँ हाल आठराई गाउँपालिका वडा नं ३ हो । पौडेलको न्वारनको र गाउँघरमा बोलाउने नाम हेमसागर पौडेल हो भने शैक्षिक प्रमाणपत्रमा र साहित्यमा हेमनाथ पौडेल हो । तत्कालीन परिवेशमा शिक्षादीक्षाको कुरा त्यति सहज थिएन । उहाँले घरमै पाँच वर्षको उमेरमा बुबासँग अक्षरारम्भ गर्नुभयो । त्यस बेलाको चलनअनुसार हिउँदे पाठशालाहरूमा अक्षरारम्भ गरी त्यसपछि गुरुकुलहरूमा पढ्न जानुपर्थ्यो ।
उहाँले गाउँका टेकनाथ लुइँटेल गुरुसँग चण्डीरुद्री पढ्नुभयो । केही समयपछि पाँचथरको अर्खौले र त्यसपछि जोरपोखरीमा सरेको संस्कृत पाठशालामा पं. टेकनाथ गौतम र जगन्नाथ पौडेलसँग लघुकौमुदी पढ्नुभयो । मलाई यहाँ बोलिरहँदा खुसी पनि लागिरहेको छ । मेरो जन्म गाउँ र उहाँकी आमाको जन्मगाउँ र पानी पँधेराको स्रोत एउटै हो ।
उहाँको मातृभूमि र मेरो पितृभूमि एउटै हो । यसपछि उहाँले मेरो घरभन्दा पारिको गाउँ पञ्चमी सिबुवाका पं माधव भण्डारीसँग व्याकरण पढ्नुभयो । भण्डारी गुरु उहाँका आमाका मामाका छोरा जो राजेन्द्र सुवेदीलगायत व्यक्तित्वहरूका समेत गुरु हुनुहुन्थ्यो । उहाँको नाम पाँचथर र पछि झापामा समेत प्रसिद्ध छ । त्यसपछि उहाँले ताप्लेजुङ रमितेका पं हरिप्रसाद निरौलासँग थप संस्कृत व्याकरण पढी प्रारम्भिक शिक्षा आर्जन गरेको कथा निकै मार्मिक छ । थोरैतिनो ज्ञानको भोकले यतिका गुरुकुल चहारिँदैन । उहाँले ज्ञानको भोककै कारणले यतिका गुरुकुल चाहर्नुभयो ।
छोरालाई संस्कृतको ठुलो विद्वान् बनाउने मनसायबाट उहाँका बुबाले आफूले चिने जति पण्डितहरूको सङ्गत गराउनुभएको थियो । यसपछि पौडेलले उनै पं हरिप्रसाद निरौलाका सहयोगबाट भारतको वृन्दावन पुगी सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयअन्तर्गत पूर्व मध्यमा (एस.एल.सी.) र बनारसबाट उत्तर मध्यमा (प्रमाणपत्र तह) उत्तीर्ण गर्नुभयो । यसपछि नेपाल फर्किएर धरानको पिण्डेश्वर विद्यापीठबाट स्नातक गर्नुभयो । त्यसपछि कीर्तिपुरबाट त्रिविअन्तर्गत नेपाली विषयमा स्नातकोत्तर र त्रिविअन्तर्गतकै तत्कालीन वाल्मीकि विद्यापीठबाट आचार्यसम्मको शिक्षा हासिल गर्नुभयो । यसपछि उहाँले निकै समयको अन्तरालमा त्रिविबाटै नेपाली कवितामा विद्यावारिधि (पिएच्डी) उपाधि प्राप्त गर्नुभयो ।
हेमनाथ पौडेलज्यूको शैक्षिक यात्रा रउहाँहरू तीन जना भाइहरू हेम, रुद्र र रोहित जेठो, माइलो र साइँलो क्रमशः नेपाली, अङ्ग्रेजी र गणितका प्राध्यापक हुनुहुन्छ भने कान्छो भाइ डमरु परराष्ट्र सेवामा हुनुहुन्छ । तिन जनाले विद्यावारिधि गर्नुभएको छ । पहिलो पुस्ताको औपचारिक शिक्षित पात्रले यतिका उन्नति गर्नु कम उन्नति होइन । यहाँ भाउजू टीकादेवी पौडेल पनि हुनुहुन्छ । सबैमा हार्दिक अभिवादन गर्छु र हेम सरको मिहिनेतलाई सलाम गर्छु ।
हेमनाथ पौडेलले साहित्यका अन्य विधामा फाटफुट कलम चलाए पनि उहाँको लेखनको मूल विधा चाहिँ समालोचना हो । उहाँले प्रायः कविता र निबन्धलाई समीक्षाको पनि र सिर्जनाको पनि विधाका रूपमा चिन्नु र चिनाउनु भएको छ । यस अर्थमा निबन्ध र कविताका शिखर देवकोटाका नामको पुरस्कार उहाँले पाउनु उपयुक्त देखिन्छ । उहाँले यस पुरस्कारको हकदारका रूपमा दर्जनभन्दा बढी पुस्तकाकार कृति प्रकाशन गर्नुभएको छ । कैयौँ दर्जन फुटकर रचनाहरूका स्रष्टा पौडेल प्राज्ञिक क्षेत्रमा सुपरिचित व्यक्तित्व हुनुहुन्छ ।
हेमनाथ पौडेलको व्यावहारिक पाटो र बसोबासोको कुरा गर्दा उहाँले २०३७ सालमा तेह्रथुमकै इसिबुकी टीकादेवी तिम्सिनासँग विवाह गर्नुभयो र सुमधुर दाम्पत्य जीवनलाई अगाडि बढाउनुभयो । टीका भाउजू यहाँ मञ्चमै हुनुहुन्छ । उहाँहरूका एक छोरा र एक छोरी रहेका छन् । छोराछोरी दुवैले आआफ्नो गरिखाने मेलो समाइसकेका छन् ।
हेम सर पहिला कपनको यही स्कुलका छेउमा नै बस्नुहुन्थ्यो । उहाँको समाजसेवाको पाटोबारे पनि यो समाज जानकार छ । उहाँले यस क्षेत्रमा कपन साहित्य समाजको सल्लाहकार, सिद्धेश्वर क्षेत्र विकास समितिको अध्यक्ष, विद्यालय र कलेजका सञ्चालक समिति आदिमा रहेर लामो समय समाजसेवाका काम पनि गर्नुभयो ।
उहाँ हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं दुईमा बसोबास गर्नुहुन्छ । हेम सर विद्यार्थी जीवनदेखि नै राजनीतिक र वैचारिक रूपमा वामपन्थी धारमा संलग्न भई राजनीतिक सङ्गठनका साथै सामाजिक, सांस्कृतिक एवं साहित्यिक आन्दोलनमा समेत सक्रिय रहनुभयो । उहाँले मार्क्सवादी चिन्तनलाई आत्मसात् गरेर साहित्यलेखनमा प्रगतिवादी विचारधारालाई मलजल गर्नुभयो । उहाँको वैचारिक यात्रा निकै सशक्त छ ।
साहित्यको कुरा गर्दा हेमनाथ पौडेल स्रष्टा, द्रष्टा र अन्वेषक व्यक्तित्व हुनुहुन्छ । उहाँको पहिलो रचना ‘सरस्वती वन्दना’ कविता (हिमज्योति, २०३४) हो भने पहिलो कथा ‘कान्छी पाथी’ (पीप्पल, २०३७) हो अनि पहिलो निबन्धात्मक समालोचना ‘देवकोटाका कवितामा अध्यात्म’ (२०३७) हो ।
यसपछि उहाँका सृजना, समालोचना र पाठ्यपुस्तक गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उहाँका प्रमुख कृतिहरूमा : कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू (२०६४), भाषा साहित्यका दुई हस्ती (२०६४), प्रगतिवादी दृष्टिमा कवि र कविता (२०६५), सन्दर्भपरक समालोचना (२०७०), भाषा विज्ञान र नेपालका भाषाहरू (२०७०), प्रगतिवाद र कवितासम्बन्धी मान्यता (२०७५), कविता समालोचना (२०७५), लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच (२०७७) आदि हुन् । उहाँका सहलेखनमा प्रज्ञा नेपाली शैक्षणिक व्याकरण (२०७८) लगायत विभिन्न तहका गरी आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने सृजना र समालोचनाका गरी चारओटा कृति प्रकाशोन्मुख रहेका छन् ।
उहाँका सङ्कलन हुन बाँकी थुप्रै अनुसन्धानात्मक लेखहरू पत्रपत्रिकामा प्रकाशित छन् । यहाँ हेमनाथ पौडेलको कुशल सम्पादक व्यक्तित्वको चर्चा नगर्नु अपूरो हुन्छ । उहाँले भाषा–साहित्यसँग सम्बन्धित दर्जनौँ कृतिको सम्पादन गर्नुभएको छ । उहाँले कृतिको मात्र होइन, विभिन्न राष्ट्रिय स्तरका पत्रिकाको पनि सम्पादन गर्नुभएको छ ।
उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने कविता (चौमासिक) र प्रज्ञा (षाड्मासिक) पत्रिकाको सम्पादन गर्नुका साथै प्रकाश साप्ताहिक, उन्मेष, ह्युमानिटिज एन्ड सोसल साइन्सेस जर्नल, युगधारा साप्ताहिक (रातो), उत्साह (मासिक), नेबुप स्मारिका, आर्थिक संसार (मासिक), आजको तिब्बत (त्रैमासिक) आदि पत्रिकाको सम्पादन गरेको इतिहास छ ।
मैले उहाँ नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्मा रहँदा उहाँ प्रधान सम्पादक रहेको कविता पत्रिकाको कार्यकारी सम्पादकका रूपमा काम गर्ने अवसर पाएको थिएँ । उहाँसँग काम गर्न साह्रै सजिलो छ । उहाँले एउटा मावली भाइ, गाउँले भाइ, झन्डै छोराको उमेरको म फुच्चेलाई कहिल्यै भाइ भनेर बोलाउनुभएन । आदरपूर्वक काम अराउनुभयो । भेट्न चाहेका बेला भेट दिनुभयो । मैले सङ्गत गर्दा बुझेको उहाँ निर्लोभी, निःस्वार्थी एवं सदाचारमा बस्ने र काममा अत्यन्तै लगनशील हुने व्यक्तित्व हो । उहाँसँग रहेर हामीले त्यस पत्रिकाका जति अङ्क निकाल्न सक्यौँ ती नेपाली साहित्यमा उल्लेख्य छन् । यस अर्थमा म उहाँलाई एउटा कुशल प्राज्ञिक अभिभावक पनि मान्छु ।
हेम सरको शिक्षाआदान यात्रा सँगै शिक्षाप्रदान वा जागिरे जीवनको यात्रा पनि त्यत्तिकै उतारचढावपूर्ण छ । उहाँले सुरुमा पाँचथरको सुभाङस्थित नीलगिरि माविमा पढाउनुभयो । त्यस बेला उहाँले मामाघरको पायकमा पर्ने विद्यालयमा जागिर खाएको बेला वैचारिक रूपमा नझुक्दा तत्कालीन पञ्चहरूले देखिसहेनन् र त्यहाँबाट उहाँलाई लखेटे । त्यो जागिरबाट लखेटिँदा उहाँको भविष्य बन्ने वातावरण पो बन्यो । उहीँ बसिरहनुभएको भए उहाँ मावि शिक्षक मात्र बन्नुहुन्थ्यो र उहाँको परिवार पनि सायद आजको यो अवस्थामा हुने थिएन होला । परिवारलाई शिक्षित र आफू समान बनाउने कुरामा उहाँको त्याग र लगानी उल्लेखनीय र अनुकरणीय रहेको छ ।
उहाँ सुभाङबाट सिधै काठमाडौँ आउनुभयो र अनेक दुख गर्दै प्रेसहरूमा प्रुफ हेरेर तथा कैयौँका कृति सम्पादन गरेर जीविका गर्नुभयो । पढाइसकेपछि उहाँले सिद्धार्थ वनस्थली माविमा केही समय शिक्षण गर्नुभयो । यसै बेला उहाँ निकै बिरामी पनि पर्नुभयो । पढाइमा अब्बल रहेका र स्नातकोत्तरमा राम्रो अङ्क ल्याई उत्तीर्ण गरेका पौडेलले यसपछि २०४५ सालमा रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रवेश गरेर प्राध्यापन पेसा सुरु गरी ३३ वर्षको सेवापश्चात् २०७७ मा त्रिविबाट स्वैच्छिक अवकाश लिनुभयो ।
यही क्रममा उहाँले २०६८ बाट केही वर्ष त्रिविमा उपकुलपतिको सल्लाहकार भएर पनि काम गर्नुभयो । यस क्रममा उहाँले त्रिविमा अनिवार्य नेपाली विषय समितिको सदस्य र पछि अध्यक्ष तथा २०६५ देखि २०७४ सम्म उच्च माध्यमिक शिक्षा परिषद्, नेपाली विषय समितिको सदस्य र विज्ञका रूपमा काम गर्नुभयो । उहाँले २०७५ पुस १ गतेदेखि २०७९ मंसिरसम्म चार वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य र निमित्त सदस्य सचिवसमेत भई कार्य गर्नुभयो । उहाँको कार्यकालमा उहाँहरूले प्रज्ञा–प्रतिष्ठानमा गरेका कामहरू सर्वाधिक उल्लेखनीय रहेका छन् ।
यहाँ के कुरा स्मरणीय छ भने कहीँबाट कसैले लखेट्यो भने त्यसलाई स्वीकार गरेर आफ्ना क्षेत्रमा लागिरहे सफल भइने रहेछ । उहाँका जीवनमा प्राध्यापक, प्राज्ञ हुनु रहेछ अनि स्कुलबाट नलखेटेको भए त्यहीँ फसेको फस्यै हुनुहुन्थ्यो नि उहाँ । उतिखेर नमिठो लागेको भए पनि धन्य छन् ती लखेट्नेहरू ।
हेमनाथ पौडेलले सम्मान–पुरस्कारहरू पनि उल्लेख्य मात्रामा प्राप्त गर्नुभएको छ । २०७६ सालमा प्राध्यापक पदमा पदोन्नति भएका पौडेलले भाषा–साहित्य र शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेबापत राष्ट्रिय—अन्तर्राष्ट्रिय स्तरका विभिन्न मानसम्मान, पदवी र पुरस्कार पाउनुभएको छ । उहाँ ०७९ सालमा नेपाल सरकारको निर्णयबमोजिम राष्ट्रपतिद्वारा सुप्रबल जनसेवाश्री मानपदवीबाट विभूषित हुनुभयो । उहाँ २०७२ सालमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको महाकवि देवकोटा पुरस्कारबाट पुरस्कृत हुनुभयो ।
उहाँले २०७४ सालमा पारिजात स्मृति केन्द्रद्वारा पारिजात सृजनशील पुरस्कार प्राप्त गर्नुका साथै २०७९ सालमा नेपाली वाङ्मय परिषद्ले नेपाली वाङ्मय साधना सम्मान प्रदान गरेको छ । हामीले हाम्रो गाउँका नाममा स्थापित संस्था हाम्रो सुभाङ्, हाम्रो गौरव, काठमाडौँद्वारा उहाँलाई सम्मान (२०६९) गरेका थियौँ । यस क्रममा उहाँले २०७६ मा इटलीस्थित विकिपोजिया, इनसाइक्लोपेडियाबाट मानार्थ अध्यक्षता प्राप्त गर्नुभएको छ भने २०७६ मैं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिंगटन डिसीले सम्मान गरेको छ ।
यस किसिमका दर्जनौँ संस्थाले उहाँलाई सम्मान, पुरस्कार र अभिनन्दन गरेका छन् । जन्मभूमि आठराईले माध्यमिक तहको स्थानीय पाठ्यक्रममा उहाँको जीवनी राखेर सम्मान गरेको छ । यही सिलसिलामा आज रिलायन्स शैक्षिक प्रतिष्ठानले देवकोटाका स्मृतिमा स्थापित यो सम्मान समर्पण गरेको छ । यसबाट रिलायन्स पनि सम्मानित भएको छ । यस क्रममा हर्कबढाइँका साथ उचित मूल्याङ्कन गरी पुरस्कार प्रदान गरेकोमा संस्था र सम्मानित हुनुभएकामा हेम सर दुवैलाई बधाई व्यक्त गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










