चौतारो चिन्तन : डा. हिमलाल श्रेष्ठ

लेखक डा.हिमलाल श्रेष्ठको लघुकथासङ्ग्रह हो ‘चौतारो चिन्तन’ । श्रेष्ठले सङ्ग्रहमा पर्यावरण, जनयुद्ध र जनजीवन, समाज र परिवर्तन, आदर्श, कोरोना विशेष लघुकथाहरु समेट्नुभएको छ ।
”डा. हिमलाल श्रेष्ठ वातावरण अध्येता हुन् ।” पुस्तकमा ध्रुव मधिकर्मी लेख्नुहुन्छ, ”त्यसैले उनमा पर्यासम्बन्धी जानकारी र चेत निकै छ । शहरी विकास र भौतिक सामग्रीप्रति मानिसहरूको अत्यधिक मोहले प्रकृतिको दोहन निर्मम रूपमा भइरहेको छ । अलिकति पानी पर्दा नै बाढीको संकेत देखापर्नु, हिमाल नाङ्गिनु, मौसम प्रतिकूल हुनु प्राकृतिक विपत्ति बढ्नु, कार्वन उत्सर्जन आदि पर्या चेतनाको कमीले गर्दा हो । मुसाको आन्दोलन, सोलीफिस्टो, चौतारो चिन्तन, तामाको टुसा, कोप २८ सम्मेलन आदि लघुकथाबाट पर्या चेतना सम्बन्धी धेरै सन्दर्भहरूको जानकारी प्राप्त हुन्छ । यसैगरी जनयुद्ध र जनजीवन सम्बन्धी लघुकथामा नेपालमा चलेको माओवादी द्धन्द्ध र त्यसले मुलुकलाई पुऱ्याएको क्षति, सामान्य मानिसले पीडा र यातना भोग्नुपरेको विषयलाई मार्मिक रूपमा आएका छन् भने आदर्श खण्डमा प्रविधिले मान्छेलाई कृतिम बनाउँदै लगेको, आदर्श स्खलित भइरहेको, शैक्षिक स्थलमा विभेद, व्यस्त जीवन शैली र पारिवारिक समन्वयको अभावजस्ता विषयलाई उठाइएको छ । समाज र परिवर्तन र आदर्श खण्डमा भएका विषयहरू लगभग उस्तै उस्तै छन् समसामयिक जीवनसित जोडिएका ।”

त्यसैगरी पुस्तकमा डा. हिमलाल श्रेष्ठ लेख्नुहुन्छ, ”लघुकथा साहित्यको एउटा छोटो विधा हो । लघुकथा लेख्न बस्नुअघि विषयको छनोट, पात्रहरूको चयन, पात्रहरूले बोल्ने संवाद आदिमा ध्यान पुग्नुपर्ने त छँदै छ । त्यसका अलावा लघुकथाको आफ्नो संरचनात्मक ढाँचा, उत्कर्ष-निष्कर्षको संरचना अनि आकस्मिक उठान, एक घटनाको नालीबेली, छोटो समय अवधिको चित्रण, जादुमयी या चामत्कारिक अर्थात् चोटिलो अन्त्य जस्ता गहनाले सिङ्गार्नुपर्ने त रह्यो नै लघुकथामा । लघुकथा के होइन रु यो वर्णनात्मक नहोस् । धेरै पात्रहरूनथोपरिनु । धेरै घटनाहरूनजोडिनु । संवादहरूको भिड नलागोस् । सन्देशमूलक मात्र नहोस् । अति सरल नहोस् । केही रहस्य शीर्षकदेखि पूर्ण पाठसम्म कायम रहोस् ।

पुस्तकलाई सिर्जना अभियान समाज भक्तपुरले बजारमा ल्याएको छ । ४८ ओटा लघुकथा सङ्ग्रहित पुस्तकको मूल्य दुई सय २५ रुपियाँ रहेको छ ।