त्यो झापा औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार : तीर्थ सिग्देल

लेखक तीर्थ सिग्देलको पुस्तक हो ‘त्यो झापा औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार’ । तीर्थ सिग्देलले तराईको औलो, कालाजार, बिफर, हैजा आदीको प्रकोप र भूमिसुधार, बसाइँसराइ जस्ता विषय पुस्तकमा लेख्नुभएको छ ।

”पृथ्वीनारायण शाहले लिम्बुवान हातमा लिनुअघि र पछि भएका पृथ्वीसिंह र जगदल लिम्बूको विद्रोह, सेनापति कासोरेको हत्या, इमानसिंह चेम्जोङको भूमिका, योगमायाको संघर्ष, रामप्रसाद राईको विद्रोह, नारदमणि थुलुङको योगदानदेखि यस भूमिमा भएका क्रान्ति, प्रतिक्रान्ति र युद्धहरूको सार पनि त्यही चेतनाको राँको बनेको हो ।”  पुस्तकमा लेखक तीर्थ सिग्देल लेख्नुहुन्छ, ”विराटनगरको जुट मिलको आन्दोलन, भूविक्रम नेम्वाङले गरेका विद्रोह, झापाको वर्गशत्रु खत्तम अभियान, झोडा काण्डहरू, क्याप्टेन यज्ञबहादुर थापा, रत्नकुमार बान्तवा, बम बान्तवा, विमान अपहरण, छिन्ताङ काण्ड, सुखानी काण्ड र वीपी कोइराला, मनमोहन अधिकारी, सिके प्रसाईं, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, नरेन्द्रनाथ बाँस्तोला, झलनाथ खनाल, सीपी मैनाली जस्ता हस्तीहरूले गरेका राजनीतिक क्रियाकलापले पूर्वको यो भूमिलाई चिनाएको हो । राणा शासनको उत्तरार्धतिर पूर्वी पहाडमा भएका विभिन्न क्रान्ति र प्रतिक्रान्तिको परिणाम पनि हो आजको झापा । त्यो समयमा पूर्वी तराईतिर झापा, मोरङ, सुनसरीमा बसाइँसराइको ओइरो लाग्यो । कोही अवसरका लागि त कोही बाध्यताका कारण पहाड छोड्‌नेको लर्को लाग्यो । २००७सालका क्रान्तियोद्धा नरेन्द्रनाथ बाँस्तोलाले आफ्नो किताब पूर्वाञ्चलमा सात सालको क्रान्तिमा लेखेको तथ्यलाई केलाउने हो भने यो सत्य सावित हुन्छ र यही किताबमा उल्लेख भएको तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’का भनाइलाई आधार मान्ने अनि दिनानाथ ढकालका तर्क सुन्ने हो भने प्रस्ट हुन्छ ।”

पुस्तकलाई मिडिया रिसर्च सेन्टरले बजारमा ल्याएको छ । दुई सय ९६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय १५ रुपियाँ रहेको छ ।