साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई त्रि.वि.का विभिन्न क्याम्पसमा ४० वर्षदेखि अध्यापन कार्यमा संलग्न, अनुसन्धानकर्ता तथा लेखक प्रा.डा. श्रीरामप्रसाद उपाध्याय न्यौपानेको खोजअनुसन्धनात्मक कृति “नेपाल–भारत–चीन सम्बन्ध” प्राप्त भएकाे छ ।

पुस्तकलाई तीन भागमा विभाजन गरिएको छ । जसमा १. नेपालको भूगोल र इतिहास, २. नेपाल–भारत सम्बन्ध, ३. नेपाल–चीन सम्बन्ध हुन् । प्रत्येक भागमा उपशीर्षकहरू राखी इतिहासदेखि वर्तमानसम्मको नेपाल–भारत, नेपाल–चीन सम्बन्धलाई उल्लेख गरिएको पाइन्छ ।

प्रस्तुत एतिहासिक पुर्तकको भूमिकामा लेखक पुष्टि गर्छन्, “नेपालको प्राचीन कालदेखि नै भारतसँग वैवाहिक सम्बन्ध रहँदै आएको थियो। नेपालका राजघरानाहरूले प्राचीन कालदेखि आधुनिककालसम्म वैवाहिक सम्बन्ध कायम राखेका थिए। यस सम्बन्धले जनस्तरमा पनि निरन्तरता पाइरहेको छ। त्यसैले अचेल भारतसँग रोटी बेटीको सम्बन्ध रहेको भन्ने गरिन्छ। मित्रराष्ट्र चीनले पनि नेपालको भारतसँग राम्रो सम्बन्ध रहोस् भन्ने चाहेको छ । चीनभन्दा भारतसँग खुला सिमाना भएको हुनाले पनि नेपाल र भारतका जनताका बीचमा बढी घनिष्ठता हुँदै आएको छ । विभिन्न समयमा हुने गरेका उच्चस्तरीय भ्रमणले गर्दा पनि नेपाल, भारत र चीनका बीचमा राम्रो सम्बन्ध रहिआएको छ । यस्ता भ्रमणबाट तीन देशका बीचमा कुनै समस्या भएमा त्यसको समाधान निकाल्न सजिलो हुने गर्दछ । यस्ता उच्चस्तरीय भ्रमणको अवसरमा मित्रराष्ट्र चीन र भारतले नेपाललाई कसरी धेरैभन्दा धेरै सहयोग गरेर नेपाली जनतालाई सुखी र खुसी बनाउन सकिन्छ भनी चासो व्यक्त गरेका हुन्छन् । दुवै देशका जनता पनि नेपालसँगको आफ्नो मित्रता सदा उचाइमा पुगोस् भन्ने चाहन्छन् । त्रिदेशीय सम्बन्धबाट नै दक्षिण एसियाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भन्ने यिनको विश्वास रहेको छ ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । २ सय ९४ पृष्ठमा आधारित यसको मूल्य ६ सय ९५ रुपियाँ रहेको छ ।