अलोहा : हरिप्रसाद उप्रेती
लेखक तथा अधिवक्ता हरिप्रसाद उप्रतीको यात्रासंस्करण हो ‘अलोहा’ । उप्रेतीले अमेरिका यात्राको क्रममा देखिएको भेटिएको स्थानहरुलाई मिहिनता र रोचक जानकारी सहित मिठो भाषामा लेख्नुभएको छ ।
”हृदयमा निर्मल भावना उम्लेका क्षणमा हरि कवि पनि बन्दा रहेछन् ।” पुस्तकमा प्रा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”भावनामय हृदयले गीत र कवितालाई आह्वान गर्दछ । त्यसो त उनको अन्तर्मनका क्षितिजहरू (२०८१) शीर्षक एक सुन्दर कवितासंग्रह पनि पढिसकेको छु । नयाँ ठाउँमा निकै वर्ष बस्नेहरू ता अभ्यस्त होलान् तर प्रथम भ्रमणमा जानेलाई ससाना कर्म पनि भिन्न लाग्छन् । मलाई पनि त्यस्तै हुन्छ । उनी लेख्छन्- ‘यसक्रममा एकदुई नेपाली परिवारका जोडीसँग पनि भेट हुन्छ र हालखबरको आदान प्रदान हुन्छ कहिलेकाहीँ । केही नेपाली परिवारका घर हाम्रो घरबाट नजिकै भए पनि कार्यव्यस्तता र दिनचर्याका आ-आफ्ना शैलीका कारणले नेपालमा जस्तो नियमित भेटघाट र बातचितको सम्भावना न्यून मात्र हुन्छ । अब आफ्नो नवीन घरमा बस्न थालेपछि परिवेशहरू बुझ्न, डुल्न, तिनको अर्थ लाउन थाल्छन् उनी । जस्तो कि शीर्षकले बताउँछ- एकदिन वाइनरी (मधुशाला) पुगेर अंगुरको जुस चाखेको, अर्को दिन शनिबारे हाट अथवा शनिबारे मार्केट डुलेको आदि ।”
त्यसैगरी पुस्तकमा लेखक हरिप्रसाद उप्रेती लेख्नुहुन्छ, ”आज आएर हिजो आफैले गरेका कामको समीक्षा गर्दा चित्तबुझ्दो लाग्दैन । शायद आज गरेका काममा पनि भोलि गएर चित्त नबुझ्न सक्छ । सूचनाहरू र अनुभवहरू थपिदै जाँदा लेखनका काममा पनि परिमार्जन हुँदै जान्छ । विगतका अनुभवहरूबाट मैले सिकेको कुरा यही नै हो । यही सिकाइ र यात्राका सिलसिलामा लेखिएका सामग्रीले अहिले आएर पुस्तकाकार पाएपछि यो पुस्तक पाठकको भएको छ । हरेक पाठकका पुस्तकलाई हेर्ने दृष्टि अलग९अलग हुन्छन् । त्यसैले पुस्तक जस्ता पाठकले पढ्यो, त्यस्तै हुन्छ भन्ने गरिन्छ । वास्तवमा नै पुस्तक प्रकाशन भइसकेपछि त्यो सर्जकको मात्र रहँदैन, पाठकले नपढेको पुस्तकको अस्तित्व नै हुँदैन । त्यसैले पुस्तकका सार्वभौमिक हकदार पाठकहरू नै हुन्, पाठकहरूको प्रतिक्रिया नै पुस्तकले आर्जन गर्ने मुख्य पुँजी हो ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले बजारमा ल्याएको छ । दुई सय १४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










