पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न छ वटा पुस्तक प्राप्त भएका छन् ।
…………….
१ यात्रा खुसीको – विष्णुबहादुर जी.सी.

लेखक विष्णुबहादुर जी.सी.को पुस्तक हो ‘यात्रा खुसीको’ । लेखकले पुस्तकमा आफ्नो शैक्षिक क्षेत्रको स्व अनुभूतिहरुलाई समेटनुभएको छ ।
”डा. विष्णुबहादुर जी.सी .मेरा अनन्य मित्र र आत्मीय सहकर्मी हुनु हुन्छ ।” पुस्तकमा डा. लवदेव अवस्थी लेख्नुहुन्छ, ”उहाँले प्रस्तुत पुस्तकमा पहिल्याउनु भएको आदर्शको बाटो मानवतावादी चिन्तनबाट अभिप्रेरित भएको मैले पाएको छु । यो एउटा संयोग मात्र पनि हुन सक्छ कि नेपालका राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहले निर्माण गर्नुभएको मानवीय आदर्शको बाटो र डा. जी.सी.को जीवन दर्शनबीच सामञ्जस्य रहेको मैले पाएको छु । डा. जी.सी.ले लेख्नु भएको ‘यात्रा खुसीको’ एउटा जीवन दर्शनलाई अङ्गीकार गरेर निर्माण गरिएको रचना र अनुभूतिको सङ्गालो हो भन्ने मलाई लागेको छ । ‘यात्रा खुसीको’ एउटा आत्मवृत्तान्त र नियात्राको संयोजन भए पनि सारमा यसले ब्रह्माण्डीय चरित्रको चित्रण गरेको मैले पाएँ । पूर्वीय दर्शनका शिखर व्यक्तित्व भर्तृहरिले अक्षरलाई शब्दब्रह्मसँग एकाकार गरी ब्रह्माण्डीय चेतना र ऊर्जाको तरङ्गीय सम्बन्ध ‘परा’अवस्थामा पुऱ्याएका छन् । ‘नभः सशब्दम्’ बाट अक्षरको नैसर्गिक सम्बन्ध आकास तत्त्वसँग रहेको वैज्ञानिक आधार साङ्ख्य दर्शनबाट समेत निर्माण भएको छ ।”
त्यसैगरी पुस्तका प्रा. डा वासुदेव काफ्ले लेख्नुहुन्छ, डा. विष्णुबहादुर जी.सी .र उहाँको यो सुन्दर कृतिलाई कसरी प्रस्तुत गरौं भन्ने मनमा खुल्दुली लागिरहेको बेला कुशल प्रशासक, अनन्य शिक्षाप्रेमी, सफल नियात्राकार र सदासर्वदा कौतुहलता बोक्ने अनुसन्धाताका कलमबाट अपेक्षित कृति यति सुन्दर हुनुपर्छ भन्ने अपेक्षा साहित्यनुरागी कसैले पनि गर्न सक्छ भन्ने मलाई लाग्यो । मृदुभाषी, सरस, सरल र अनुशासन प्रिय व्यक्तित्वसँग लामै समयदेखि सङ्गत गर्न पाएको यो अवसरलाई उहाँकै शीर्षक सापटी लिँदा ‘यात्रा खुसीको’ क्षितिजभित्रै आफू पनि छु भन्ने अनुभूति भइरहेको छ । यात्रा खुसीको कृति कथात्मक शैलीमा लेखिएको मनलाई आल्हादित गराउने कृतिकारको जीवनकै प्रतिविम्बन बोकेको सिर्जना हो जसले विश्वलाई विहङ्गम रूपमा हेर्दै आफूलाई आफैभित्र बसाएर आफ्नो खुसीको आत्मिक खोज गर्नुभएको भेटिन्छ । त्यसैले त कृतिकारले भन्नुभएको छ खुसी एक क्षणको एउटा खुसीभन्दा समग्र जीवनको समग्र खुसी नै समष्टिगत खुसी हो भन्ने भनाइमा कसैको विमति रहन सक्दैन ।”
पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको हो । एक सय ७० पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ५० रुपियाँ रहेको छ ।
======================
२. केशवप्रसाद आर्चायका कथा – स अमोद भट्टराई

कथाकार केशवप्रसाद आर्चायको कथाहरुलाई संकलन गरी अमोद भट्टराईले सम्पादन गर्नुभएको कथा संग्रह हो ‘केशवप्रसाद आर्चायका कथा’ ।
को हुन् केशवप्रसाद आचार्य ?
संवत् १९५० अगाडि शिवदत्त शर्माको ‘वीरसिक्का,’ मोतीराम भट्टको ‘पिकदूत’ र ‘कवि भानुभक्त आचार्यको जीवनचरित्र’ नेपाली वाङ्मय पाइसकेको थियो । संवत् १९५८ मा गोरखापत्रको प्रकाशन प्रारम्भताका सुनसान काठमाडौँको मध्यपश्चिम स्वयम्भू डाँडा ठिङ्ग तर झलझलाकार उभिएको देखिन्थ्यो भने काठमाडौँको मध्य-उत्तरमा पूर्व-पश्चिम भएर विष्णुमती कलकलाउँदै बग्थिन् । विष्णुमतीको ठीक पारि बालाजु गाउँ थियो । अझ उत्तरतिर विकट गाउँ थियो_- मुड्खु । यही मुड्खु थियो आचार्यहरूको पुस्तौंदेखिको थातथलो । शिवशङ्कर आचार्य र उनका छोरा गणेशवल्लभ आचार्य त्यहीँ खेती-किसानी गर्थे । चन्द्रशमशेरको प्रधानमन्त्रित्वकालमा गणेशवल्लभ आचार्यका छोरा गुरुप्रसाद आचार्य सरकारी जागिरमा डिठ्ठा भए । मुड्खुदेखि मध्य-काठमाडौँ दैनिक आउने-जाने गर्न सम्भव थिएन । यसर्थ, उनले नक्सालस्थित मालीगाउँमा जग्गा किने र घोडा राख्ने तबेलासमेत बनाए । दैनिक घोडसवारीसाथ दरबार जानुपर्थ्यो उनलाई । त्यसैताका संवत् १९५९ मा सदाशिव शर्माको ‘महेन्द्रप्रभा’, १९६० मा गिरीशवल्लभजोशीको ‘वीर चरित्र’ र १९६३ मा पहलमान सिंह स्वाँरको नाटक ‘अटलबहादुर’ नेपाली साहित्यले पाएको थियो भने १९६३ मा वनारसमा ‘रसिक समाज’ नाममा साहित्यिक-सांस्कृतिक समाजको गठन भयो । समाजले मासिक ‘सुन्दरी’ पत्रिका पनि प्रकाशित गर्न थाल्यो । केशवप्रसादका हजुरबुबा गुरुप्रसाद कविता पनि कोर्थे । उनका केही समस्यापूर्ति कविता ‘सुन्दरी’ मासिकमा प्रकाशित भएका छन् । गुरुप्रसाद र पद्मकुमारीका कान्छा सुपुत्रका रूपमा संवत् १९७१ सालमा काठमाडौं, नक्साल, मालीगाउँमा बद्रीप्रसादको जन्म भयो । बद्रीप्रसादको पनि साहित्यमा रुचि थियो । यद्यपि, पेशाले उनी सुब्बा थिए अदालतको । बद्रीप्रसादको ‘शारदा’ (काठमाडौँ संवत् १९९१) र ‘उदय’ (वनारस, संवत् १९९३) मा गरी डेढ दर्जनजति कविता, गीत र गजलका साथै एउटा कथा ‘अनाथ बालिका’ प्रकाशित भएको देखिन्छ ।
पुस्तकलाई किहोतेज् कोव प्रा.लि.ले बजारमा ल्याएको हो । एक सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।
=====================
३ . समयको फन्को – उद्धव देवकोटा

कवि उद्धव देवकोटाको कविता सङ्ग्रह हो ‘समयको फन्को’ । देवकोटाले कवितामा समसायिक नेपाली समाजको चित्रण गर्दै, राजनीतिक, विकृति, विसंगती प्रति खबरदारी गर्नुभएको छ ।
”कविता लेखनका दृष्टिले रुपन्देही क्षेत्र पनि उर्वर मानिन्छ ।” पुस्तकमा वनमाली निराकार लेख्नुहुन्छ, ”यसको पुष्टि यहाँ लेखेका र अहिले लेखिइरहेका अब्बल दर्जाका श्रष्टाहरुको हस्तक्षेपकारी उपस्थितिले गर्दछ । यसै क्रममा पछिल्लो समय देखापरेका उदीयमान कवि हुनुहुन्छ उद्धव देवकोटा । देवकोटाले गद्य शैलीमा सशक्त कविता लेख्नुहुन्छ । उहाँका कवितामा समय बोल्छ, समसामयिक विकृति विसंगति उजागर हुन्छ र कविताका माध्यमले विद्रोही भावना स्थापित गराउन खोज्दछ । अहिले रुपन्देहीमा देखापरेका आशालाग्दा युवा कविहरूमध्ये देवकोटा कविका रुपमा स्थापित हुन आतुर देखिन्छन् भन्ने कुरा उनका कविताले सावित गरिरहेका छन् । यिनै देवकोटाको कविता सङ्ग्रह ‘समयको फन्को’ प्रकाशित हुँदैछ । यो सङ्ग्रहले साहित्यिक बजारमा आफ्नो मूल्य स्थापित गराउन सक्नेछ भन्नेमा म विश्वस्त छु ।”
त्यसैगरी पुस्तकमा लेखक उद्धव लेख्नुहुन्छ , ‘समयको फन्को’ कविता सङ्ग्रह मेरो केही वर्षको भावनात्मक यात्राको दस्तावेज हो । बाबुआमाका लागि सन्तान प्राप्तिले प्रदान गर्ने सुखानुभूति जत्तिको रहन्छ त्यत्तिकै प्रफुल्लता आज मैले पनि अनुभूत गरिरहेको छु। यो कविता सङ्ग्रह मेरो मानसपुत्र हो । समाजका जटिल अनुहारहरू, समसामयिक घटनाक्रम अनि कहिलेकाहीं मनस्थिति उथलपुथल बनाउने भावनाहरू यी सबै कुराहरूले मलाई लेख्न उक्साइरहे । लेखनको यात्रामा यिनै अनुभूति र भावनाहरूलाई आज सङ्ग्रहको रुपमा तपाईंहरूसँग पस्केको छु । ‘समयको फन्को’ कविता सङ्ग्रह त्यस्तो समुच्चय हो जसमा कहिले मेरो मौनताले स्वर पाएको छ त कहिले समाजको विम्ब बोलेको छ अनि कहिले फगत भावनाको चचहुई मात्र ।”
पुस्तकलाई तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानले बजारमा ल्याएको हो । ३५ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।
=========================
४. कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा – चन्द्र गुरुङ

कवि चन्द्र गुरुङले स्वर्गीय कवि विमल गुरुङको जीवनीलाई समेटनु भएको पुस्तक हो ‘कवि विमल गुरुङ मिर्मिरेमा झरेको तारा’ ।
”आएको थिएँ प्रमुख अतिथि भएर फर्कदैछु पोखरा विमलभाइको दाइ भएर ।” पुस्तकमा सरुभक्त लेख्नुहुन्छ, म विमलभाइलाई कविता हरुमा भेटिरहन्थे । उनको स्मृति पुस्तकालयमा प्रवेश गर्दा र स्मृति कार्यक्रममा सहभागी हुँदा अरू बढी भेट्न पाएको अनुभूति भईरहेछ ।
म आएँ
मैले देखें
तर मैले जित्तिन मात्र हारें
पुण्यात्मा विमलका प्रिय बाबुआमा, मेरो हृदयमरिको प्रणाम ! ”
त्यसैगरी पुस्तकमा लेखक चन्द्र गुरूङ लेख्नुहुन्छ, ”बुद्धचोक स्थित कवि विमल स्मृति पुस्तकालय आज काव्यप्रेमीहरूको मन्दिर बनेको छ । पुस्तकालय केवल किताबको सङ्ग्रहालयमात्रै होइन । त्यो विमलको अधुरा इच्छाहरुको अभिलेख पनि हो । यहाँ मानिसहरु केवल पढ्न होइन, बुझ्न आउँछन् । जीवन बुझ्न, पीडा बुझ्न । आशा र समर्पण बुझ्न आउँछन् । विमल पुस्तकालयमा एउटा पुरानो आलमारी छ । जहाँ विमलले लेखेका लेखहरु, डायरीहरु र विमलले पढ्ने गरेका किताबहरु राखिएका छन् । थुप्रै हस्तलिखित पानाहरु पनि छन् त्यसभित्र । विमलसित जोडिएका अधुरा लेखरचनाहरु पनि छन् । यी सब विमलको अधुरो जीवनजस्तो लाग्छ । तर त्यस अधुरोपनाभित्र नै पूर्णता लुकेको छ । विमलको परिवारले उनको स्मृतिमा स्थापना गरेको पुस्तकालयलाई बेहिसाब माया दिएको छ । बहिनी शान्ति गुरूङ अहिले आफ्नो परिवारसित काठमाडौंमा बस्छिन् । आमा बितेपछि बाबा पूर्णबहादुर गुरूङ एक्लै यस पुस्तकालयको हेरचाहमा खटिरहेका छन् । उनलाई यस पुस्तकालयले गर्दा आफ्नो जीवनले सार्थकता पाएको महसुस गर्छन् । दैनिकी जीवन पुस्तकालयवरिपरि बिताइरहेका पूर्णबहादुर भावुक हुँदै भन्छन् ”यहाँबाट टाढा कता जानु छ अब ? यही हो मेरो संसार । विमल एक व्यक्तिको आवाजमात्रै थिएन, त्यो आवाज विमलले बाँचेको र भोगेको सिङ्गो पुस्ताको, अझ भनौँ युगकै थियो, जसले पञ्चायतकालको अन्याय देखेको थियो । जसले विभेद र विसङ्गतिहरुबीच पनि बाँच्न सङ्घर्ष गरेको थियो । विमलका शब्दहरु ती सबैका आवाज बनेका छन् । विमलको अल्पायुमै मृत्यु भए पनि उनको चेतनाले धेरैलाई प्रभावित बनाएको छ । उनका बाबु, जसले जीवनमा पढ्नै पाएनन्, अहिले यही पुस्तकालयरूपी मन्दिरको पुजारी बनेका छन् । उनी पुस्तकालयमा आउने हरेकलाई भनिरहेका हुन्छन् ”यो किताब मात्र होइन, मेरो छोराको हृदय पनि हो । हेर त, उसले कस्तो लेखेको छ बाबु ?”
पुस्तकलाई विमल गुरुङ स्मृति पुस्तकालयले प्रकाशन गरेको हो । एक सय ८० पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ९९ रुपियाँ रहेको छ ।
=============================
५. शीतलको लौरो – ऋषिराम अर्याल

मुक्तककार ऋषिराम अर्यालको मुक्तक सङ्ग्रह हो ‘शीतलको लौरो’ ।
अर्यालले मुक्तकबाट सामाजिक विकृति विंसगती हटाएर सुन्दर समाज बनाउने कुरा लेख्नुभएको छ ।
१
लामखुट्टे सगरमाथा चढे के होला ?
यसैगरी बैमनस्य बढे के होला ?
वातावरण बिगारेर हिँड्न थाल्यो भने
आउँदा दिन यो संसार चढे के होला ?
२
आहा भन्न मन लाग्छ फूल फुलेपछि
अहो भन्न मन लाग्छ मूल खुलेपछि
आफ्नै बारी आफ्नै खेत आफ्नै परिश्रम
गरौं केही जस्तो लाग्छ धान झुलेपछि ॥
३
हावापानी घामछायाँ माटो दिएकै हो
वनजङ्गल छाँगा झरना बाटो दिएकै हो
केले छेक्यो समृद्धिको छाता ओढ्नलाई
बलबर्कत बुद्धि विवेक साटो दिएकै हो ॥
४
कतै मनमुटाव भए माफ पाऊँ भन्दे भैगो
गल्ती कमजोरी भए माफ पाऊँ भन्दे भैगो
कहिले काहीँ अहम् चढ्छ मान्छेभित्र धेरै
माफ पाऊँ भन्न गाह्रो भए सरी भन्दे भैगो ॥
५
मान्छे हुँ म भन्दै गर्दा जस्तै मान्छे सोचौँ
संसारमै गर्व गर्न लायक मान्छे खोजौँ
सोकेसमा राख्ने डमी जस्तो मान्छे होइन
धर्म, अर्थ, काम, मोक्ष, जान्ने मान्छे रोजौँ ।
६
दोष हुँदैन आँखाको राम्रो देखु भन्यो भने
गल्ती हुँदैन जिब्रोको मीठो खाऊँ भन्यो भने
कहाँ गल्ती हुन्छ नाकैको सुगन्ध लिउ है भने
दोष हुँदैन कानैको राम्रो सुनु भन्यो भने ॥
पुस्तकलाई राष्ट्रिका साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । ९५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।
==========================
६ आफ्नै स्वर आफ्नै सुर – जयप्रसाद पाण्डे

कवि जयप्रसाद पाण्डेको कविता सङ्ग्रह हो ‘आफ्नै स्वर आफ्नै सुर’ । पाण्डेले सुन्दर छन्दमा देश प्रेम मानवता, प्रकृति प्रेमलाइ समेटनुभएको छ ।
‘प्रतिभा पुरस्कार प्रतिष्ठान’मोफसलको प्राज्ञिक संस्था हो। यसले २०३९ सालदेखि स्रष्टाका सिर्जनाको प्रकाशन गर्ने, नेपाली वाङ्मय जगतमा प्रकाशित भएका नयाँ नयाँ कृतिहरु खोजेर मूल्याङ्कनका साथ प्रतिभा पुरस्कारहरू प्रदान गर्दै उच्च सम्मान प्रदान गर्ने अनि नवागन्तुक सर्जकहरूलाई प्रोत्साहित गर्दै अगाडि बढाउने जस्ता रचनात्मक कामहरू गर्दै आएको छ। यो आदिकवि भानुभक्त आचार्य र सन्त आवाल ब्रह्मचारी षडानन्द अधिकारीका कीर्ति पताकाहरू दिग्दिगन्तसम्म फहराइ रहून् भन्ने उद्देश्यका साथ जनसहयोग जुटाएर स्थापना गरिएको हो। यसको अक्षयकोषमा करिब ३० लाख रुपैयाँ छ र आजसम्म यसैको व्याजले सञ्चालन भइरहेको छ। यस प्रतिष्ठानले प्रकाशनको काम पनि गर्दछ। प्रकाशन पूर्वको प्रेस व्यवस्था, सजावट, शुद्धाशुद्धि र विमोचन आदिको काममा सर्जकहरूलाई सहयोग पनि पुऱ्याउँदै आएको छ। यो प्राज्ञिक उन्नयनमा रमाउने संस्था हो। यसका संस्थापकहरूमा विशेषतः प्रा.डा. नरेन्द्र चापागाईं र प्राज्ञ दधिराज सुवेदीको सर्वोपरि भूमिका रहेको पाइन्छ। पछिल्लो चरणमा आएर प्राध्यापक कविराज न्यौपानेको पनि उल्लेख्य भूमिका रहेको पाइन्छ। यस संस्थाले करिब १०० जति स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदा नगरिसकेको छ भने त्यति नै सङ्ख्यामा कृतिहरूको प्रकाशन पनि गरिसकेको छ। यसको वार्षिक महोत्सव सधैं असार २९ गते भानुजयन्तीका दिन सुसम्पन्न गर्ने परम्परा छ। प्रस्तुत कवितासङ्ग्रहका रचनाकार जयप्रसाद पाण्डे (१९९९) हुन् । यिनी कुनै कालखण्डमा सनातन वैदिक धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मानिएको वाराणसीमा बस्दथे। यिनको भाषिक उच्चारण, रहनसहन र शब्द ८३ विन्यास आदिले यसै कुरालाई पुष्टि गर्दै ल्याएका छन् । यिनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको भावना गाङ्गेय प्रकाशन हुँदा सम्पादकीय लेख्न भ्याएका थिए। यिनको साहित्यिक गतिविधिलाई देखेर तत्कालीन रोयल नेपाल एकेडेमीले बनारस शाखाको पहिलो सदस्यमा मनोनयन गरेको थियो । यो २०२०|०२१ सालतिरको कुरा हो।
पुस्तकमा लेखक जयप्रसाद लेख्नुहुन्छ ”नागरिक अभिनन्दनद्वारा अभिनन्दित हुनुहुने अथक साहित्य सेवक मेरा प्रिय बन्धु श्री दधिराज सुवेदीज्यूसितको मेरो सम्पर्क भएको झण्डै तीन दशक भइसकेछ। वहाँको साहित्य सेवाप्रतिको अटुट निष्ठा र लगन अत्यन्त प्रशंसनीय रहिआएको जगजाहेरै छ। ठूला साना विविध कृतिहरूको लेखन र प्रकाशनको सफलता वहाँको ऊर्जाशील दक्षतालाई सिद्ध गर्दछ । वहाँद्वारा सुसंचालित ‘प्रतिभा पुरस्कार प्रतिष्ठान’ आफैमा उदाहरणीय साहित्यिक संस्था भएकोले छाप्न बाँकी थुप्रै रचनाहरूलाई यसै प्रकाशनबाट प्रकाशित गरौं भन्ने आफ्नो मनशाय वहाँलाई व्यक्तगर्दा सहर्ष स्वीकृति पाएपछि उत्साहितभै मैले केही लामा कविताहरूलाई र साथै विगतको राष्ट्रिय आपदमा लेखिएका भुकम्पप्रतिका केही रचना र कोविड-१९ को महामारीमा अझै सास्ती भोगेका देशको विषम परिस्थितिले केही शब्द संवेदनाहरू सहज लेखिए सो पनि र विगतमा केही महिना अमेरिका प्रवासमा रहँदा सहज व्यक्त भएका केही कविताहरू पनि यसैमा सङ्कलित गरेको छु आशा छ यी विविध आयामी कविताहरूको लेखनमा चित्तलाउँदै सकभर सक्रिय हुँदाहुँदै पनि केही त्रुटि रहेका हुन सक्दछन् त्यसका लागि सुधी पाठक वर्गसित क्षमाप्रार्थी हुन्छु । म प्रस्तुत ‘आफ्नै सुर आफ्नै स्वर’ लोकार्पित हुन गैरहेका बेला मित्रवर श्री दधिराज सुवेदीजीप्रति अन्तरहृदयबाट आभार प्रकट गर्दछु र भविष्यमा अरु पनि पद्य कृतिहरू प्रकाशित गर्ने ईच्छा राखेको छु। प्रस्तुत सङ्ग्रहको सफलता असफलता साहित्य प्रेमी सुधी पाठकहरूमाथि नै निर्भर हुने हुनाले यसको निर्णय पनि उनीहरूकै माथि छोड्दछु।”
पुस्तकलाई प्रतिभा पुरस्कार प्रतिष्ठानले बजारमा ल्याएको छ । ५६ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










