पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न  तीन वटा पुस्तक प्राप्त भएका छन् ।

…………………………………

 

१. ब्रहमुहुर्त –गोविन्दकुमार श्रेष्ठ


लेखक गोविन्दकुमार श्रेष्ठको आत्मसंस्मरण हो ‘ब्रहमुहुर्त’ । लेखकले पुस्तकमा आफ्नो जीवनको उतारचढावलाई सरल तरिकाले लेख्नुभएको छ ।
”आफूले सम्झेका, जानेका, बुझेका र भोगेका केही संस्मरण लिपिबद्ध गर्ने मनसायले लेख्न बसें ।”  पुस्तकमा गोविन्दकुमार श्रेष्ठ लेख्नुहुन्छ, ”तर के लेख्ने ? कसरी लेख्ने ? कहाँबाट सुरु गर्ने भन्ने जस्ता प्रश्नले निकै घोत्लिनु पर्यो। वास्तवमा आफ्ना बारेमा वा आफ्ना कुराका बारेमा लेख्ने काम त्यति सजिलो होइन । जसले जे भने पनि आफ्ना कमीकमजोरी सार्वजनिक नहोओस् तर राम्रा कुरा भने बाहिर आओस् वा सबैले थाहा पाऊन् भन्ने जोसुकैको पनि भित्री चाहना हुन्छ नै। यसलाई मानवीय कमजोरी, मानवीय स्वभाव वा मानवसुलभ गुण जे भने पनि यो यथार्थ हो, सत्य हो । यस्ता कमीकमजोरीलाई सकेसम्म न्यूनीकरण गरेर आफ्ना अनुभव, अनुभूति, भोगाइ, देखाइ र सुनाइ पस्कने जमर्को गरेको छु, जसले गर्दा मेरा जीवनचक्रसँग सम्बन्धित विभिन्न आयाम जोडिन पुगेका छन् । जीवन यात्राको क्रममा ठोक्किन पुगेका सप्ठ्यारा र अप्ठ्यारा परिवेश समेटिन पुगेका छन् । आफ्नो उचाइ पुष्टि गर्न अरूलाई होचो देखाउने प्रयास गरिएको छैन तथापि आफूले अनुभूत गरेका कुनै पीडादायी प्रसङ्ग उल्लेख गर्ने क्रममा अभिव्यक्त भएका कुनै शब्द वा वाक्यांशले कोही कसैको मन दुख्न पुगेमा क्षमायाचना गर्दछु । केही समय राजनीतिक क्षेत्रमा बरालिएर र केही समय अध्ययन, अनुसन्धान तथा प्राध्यापन क्षेत्रमा बिताएर पछिल्लो कालखण्डमा करिब ३४ ९चौतिस० वर्ष न्यायपालिकामा रहेर सेवा गर्दा अधिकांश समय न्यायिक कामकारबाहीमा नै व्यतित भयो । न्याय प्रशासनसम्बन्धी काममा थोरै समय मात्र संलग्न रहियो । न्याय सम्पादन गर्दा अनुभूति गरिएका केही सन्दर्भ सम्झना समेट्ने प्रयास गरेको छु । न्यायपालिका र विधिको शासनसँग सम्बन्धित समकालीन केही गन्धन पनि पस्कने जमर्को गरेको छु।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको हो । दुई सय ६४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य छ सय ५० रुपियाँ रहेको छ ।

=========================

२. अनायोजिता – अनिता पन्थी


लेखक अनिता पन्थीको उपन्यास हो ‘अनायोजिता’ । अनिता पन्थीले विचार, तर्क, कल्पनालाई व्यापक प्रयोग गरेर सुन्दर उपन्यास लेख्नुभएको छ ।
”प्रस्तुत आख्यान यस परिभाषासँग राम्ररी मिल्छ ।”  पुस्तकमा डा. गोविन्दराज भट्टराई लेख्नुहुन्छ, ”सोही अनुकूल लेखक अनिताको कल्पना शक्ति पनि अति उच्च छ । उनले एक जोडी तरुणावस्थाका प्रेमी कल्पिन्, तिनका आशा उमङ्गका सपना देखाइन्, प्रेमालाप देखाइन्, तिनको वियोग गराइन् र वियोगमै अन्त्य पनि । यसलाई खण्डित-प्रेम उपन्यास भनिन्छ । ती पात्र उनका आफ्नै समवयी छन् । एक युवतीका लागि यो कल्पना धेरै औचित्यपूर्ण छ । यसको घटनास्थल (local) मा गाउँ, स्कूल, काठमाडौं शहर छन् । स्कूल कलेज जोडिन्छन् । प्रेम गर्ने र गरिने खेल शरीरबाट पसेर यो सञ्जीवनी आत्मातिर प्रसस्तै छ । यो विचार र तर्कले बुनिएको कृति हो । घटना त्यस्तो ठूलो छैन कतिको लागि अविश्वासनीय पनि हुन जान्छ तर आंशिक रूपको यो आख्यानलाई उताबाट पनि पढ्नु पर्छ । तर यो विन्दुमै आख्यानले आँट देखाएको छ। यन्त्रसँग मानव जुधेको छ, यन्त्रको मानविकीकरण भएको छ । पृथ्वी संहारक यन्त्रहरू विनाशका प्रतीक छन् । यन्त्र -मानवको विजय र प्रकृति मानवको पराजय छ । ससानो ग्राम्य परिवेशमा पनि त्यो देखाइएको छ । यन्त्र विमुख भएरै आफ्नो लक्ष्यप्राप्तिमा समर्पित युवा नायकले पहिले यौवन चढायो, पछि सम्पूर्ण जीवनै । त्यो प्रतीक अर्थपूर्ण छ। यसको मूल पात्र प्रयास त्यसको विरुद्ध छ, आफूलाई दण्डित औं निर्वासित ठाने तापनि प्रेमको प्राप्ति आशामा प्रेयसीसँगको मिलन तृष्णाले प्रतीक्षामा एक कर्म गर्दागर्दै जीवनै अन्त्य गर्दछ । यहाँ लेखकले उता ग्रीसेली शिशिफस र यता पूर्वीय मिथकका भीष्मपितामहको त्याग र बलिदानको दृष्टान्त दिँदै नायकले त्यस्तै मूल्यप्राप्ति हेतु जीवन उत्सर्ग गरेको देखाएकी छन् ।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेसनले बजारमा ल्याएको हो । एक सय ६६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।

========================

३. उर्वरा – नारद पोखरेल


लेखक नारद पोखरेलको उपन्यास हो ‘उर्वरा’ । नारद पोखरेलले उपन्यासमा पहाड छाडेर तराई झरेर बसोबास गर्ने जयन्तको माध्यमबाट समाजमा भैरहने सामाजिक र प्रेमको कथा प्रस्तुत गर्नुभएको छ ।
पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ”उपन्यासकार नारद पोखरेलको पारिवारिक पृष्ठभूमि साहित्य अङ्‌कुरणका लागि अनुकूल र उर्वर थियो । त्यही पृष्ठभूमिमा बाल्यकालदेखि नै साहित्यप्रति अनुरक्त हुँदै आए उनी । घरमा माता टीकादेवी र पिता सोमप्रसादबाट भगवद्‌गीता, महाभारत, रामायण, कृष्णचरित्र आदि धार्मिक ग्रन्थहरु नियमित वाचन हुन्थ्यो । सनातन कथामा प्रयुक्त साहित्यिक बान्की र कल्पनाशीलताले पोखरेलको मनमा जागृत चेतनासँगसँगै काव्यात्मक रसराग हुर्कियो । प्रारम्भिक कालमा प्राप्त सोही अवसरको आधारशिलामा टेकेर आज उनी नेपाली आख्यान-साहित्यको विशाल फॉटमा विस्तारित हुँदै छन् । यसबीच देशमा विद्यमान निर्दलीय व्यवस्थाको साँघुरो स्वतन्त्रता नारद पोखरेलभित्रको लेखकलाई चित्त बुझेन । त्यसले उनको विद्रोही चेत र लक्ष्यभेदी लेखनकर्मलाई थप मलजल गर्यो। फलतः उनले मनमा उत्पन्न हुने उकुसमुकुस, असन्तुष्टि र विद्रोह, माया र कल्पना साझा गर्ने मुख्य माध्यम आख्यानलाई बनाए । २०३० सालदेखि कविता र गीति क्षेत्रमा सक्रिय पोखरेल २०४० सालमा औपन्यासिक कृति ‘नयाँ बाटो’बाट आख्यानको मूलधारमा आएका हुन् । २०४६ मा प्रकाशित दोस्रो उपन्यास ‘सिर्जना’ले उनलाई कलात्मक आख्यानका स्वाद प्रिय पाठकले रुचाएर पढ्‌ने लेखकको लहरमा उभ्यायो । २०४६ चैत २६ मा भएको प्रजातन्त्र पुनः स्थापनापश्चात् भने उनको मनमा सल्किएको विद्रोही आगो केही वर्षका लागि मत्थर भएको देखिन्छ । तर प्रजातान्त्रिक हुने अपेक्षा गरिएको सरकारले लोकतान्त्रिक आचरण देखाउन नसक्दा पोखरेल सन्तुष्ट रहन सकेनन् । त्यसको सशक्त प्रतिकार र नागरिक चेतनाका लागि फुटकर लेख९रचनामार्फत सिर्जनशील भइरहे, जो २०७९ सालमा बाटो बिराएपछि शीर्षकमा सङ्गृहीत छन् ।”

पुस्तकलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । तीन सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य सात सय रुपियाँ रहेको छ ।