साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कथाकार डा. रामकृष्ण आचार्य ‘विशेष्य’द्वारा लिखित कथासङ्ग्रह “आदिबिम्ब – राउटेबस्तीका कथा” प्राप्त भएकाे छ ।

कथाहरू जङ्गलका आदिवासी राउटेहरूकै जीवनका कथा-व्यथालाई केन्द्र मानेर रचना गरिएको छ । पुस्तकमा ‘राउटेको बिहे’, ‘जङ्गली प्रेम’, ‘हृदयको आवाज’, ‘बासी समाचार’, ‘दर्शन र राउटे’लगायत २० थान कथा सङ्ग्रहित छन् ।

आदिबिम्ब

आदिबिम्ब

“नारी नभए वंश रोकिन्छ भन्ने थाहा पाएर पनि राउटे जातिमा नारीमाथि गरिएको शोषण, अन्याय, अत्याचार, हिंसा र बलात्कारबाट अत्यन्तै पीडित नारीहरूको अवस्था देख्दा जो कसैको हृदय पनि मर्माहत हुन्छ ।” भूमिकामा प्रा. डा. सुषमा आचार्य लेख्छन्, “ज्ञान भए पनि शैक्षिक चेतनाको कमीले उजिल्याउन नसकेको अधकल्चो ज्ञानले स्वघोषित राजा बनेको राउटे मुखियाको शोषण, दमन र थिचोमिचोले गाउँ नै ग्रसित हुँदा पनि उसको विरोधमा कसैले बोल्न नसक्नु र उसको सन्तानबाट समेत हेपिनु, थिचिनु र किचिनुको वास्तविकतालाई धेरै वर्षसम्म नजिकबाट नियालोका कथाकार आचार्यले चर्लङ्ग पार्न खोजेका छन् ।”

पछिल्लो पृष्ठमा डा. मधुसुधन गिरी लेख्छन्, “…समग्रमा नयाँ विषयवस्तुयुक्त यी नेपाली साहित्यमा नै नयाँ स्वाद प्रदान गर्ने छन् । नयाँ सन्तुष्टि दिने छन् । यसबाट एकातिर नेपाली कथा साहित्यमा विषयगत विविधीकरण हुने छ भने अर्कोतिर राउटेसँग सम्बद्ध मानवशास्त्रीय अध्ययन अझ समृद्ध बन्दै जाने र बन्न प्रेरणा प्रदान गर्ने छ ।”

पछिल्लो पृष्ठमा प्रा.डा. रामचन्द्र लम्साल लेख्छन्, “…यस कथासङ्ग्रहमा कथाकारले अद्यापि आखेट युगबाट कृषि युगमा समेत प्रवेश नगरेका जङ्गललाई राज्य मान्ने र आफूहरूलाई जङ्गलकै राजारानी मान्दै जङ्गल-जङ्गल चहारेर र घुमन्ते जीवन बिताउन रुचाउने राउटेका रहस्यमय तथा रोमाञ्चक जीवनको पर्दा उघार्नु भएको छ ।”

लेखक लेख्छन्, “‘आदिबिम्ब’ अनुसन्धान र साहित्यको सङ्गम हो । यसमा समाविष्ट कथामा अनुसन्धानबाट प्राप्त तथ्यलाई साहित्यिक रङ भरिएको छ । अनुसन्धान र साहित्यका सक्दो समन्वय गरिएको छ । अनुसन्धान तथ्यमा र साहित्य कल्पनामा आधारित हुन्छ । यस कथासङ्ग्रहका कथामा बढी तथ्य र कम कल्पनाको उचित संयोजन भएको छ । काल्पनिक भन्दा यथार्थमा विशेष जोड दिई कथा रचना गरिएको छ । तथ्य बढी र कल्पना कमको संयोजन गरी कथासङ्ग्रह तयार गर्नु निकै गाह्रो काम रहेछ ।”

पुस्तकलाई क्याप्टेन जगतप्रसाद आचार्यले प्रकाशनमा ल्याएका हुन् । १ सय ४ पृष्ठमा फैलिएको यस पुस्तकको मूल्य ३ सय ५५ रुपियाँ रहेको छ ।