नुनको जोहो : गणेशप्रसाद खतिवडा
लेखक गणेशप्रसाद खतिवडाको यात्रासंस्मरण हो ‘नुनको जोहो’ । नुनको लागी ग्रामिण जीवनले भोग्ने कारुणिक पाटोमाथि लेखकले चित्रण गर्नुभएको छ ।
पुस्तकको प्रकाशकीयमा लेखिएको छ, ”भौगोलिक विकटताले देशको सिमानालाई विभिन्न भूवनोटमा तयार पारेर राखेको छ । सडकसञ्जालले छुन नसकेको अवस्थामा मुख्य मार्ग पैदल यात्रा नै हो र विगतमा त झन् दूर थियो सडकसञ्जाल । त्यतिखेर दैनिक उपभोग्य वस्तुहरूका साथै दैनिक अत्यावश्यक नुन र यसको जोहो कति कठिन थियो । नुन र अन्य सरसामानको जोहो गर्नका लागि कस्ताकस्ता अप्ठयारा भोग्नुपर्थ्यो, भोगियो, त्यस अवस्थाको कारुणिक पाटोले भारीमाथि भारी खामेर जोहो मिलाउनुको यथार्थ चित्रण छ। सामूहिक रूपमा अनकन्टार गाउँदेखि बजारसम्मको यात्रा र यात्राका क्रममा आएका विभिन्न अप्ठयारा परिस्थितिलाई जस्ताको तस्तै पस्किएर एक पटक त्यो विगतलाई आँखा र मस्तिष्कभरि छरपस्ट पारिदिएका छन् । नुनबिना जीवन सुरु नहुने र यही नुनको जोहोले जीवनलाई कति कष्टकर बनाउने र गन्तव्यछेदनपछिको सुखानुभूतिलाई सरल, सहज रूपमा पस्किएका छन् स्रष्टाले यस कृतिमा ।”
त्यसैगरी पुस्तकमा लेखक गणेशप्रसाद खतिवडा लेख्नुहुन्छ, ”यो मेरो आफ्नै भोगाइ हो । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाका तमाम मानिसहरूले झैँ मैले पनि सोलुखुम्बुदेखि उदयपुर जिल्लाको कटारी बजार झरेर नुन बोकेको यात्रालाई समेटेर यो यात्रा संस्मरण तयार पारेको छु । यात्रा गरेको एक दशक नाघेपछि लेखेको हुनाले केही पात्र र घटना बिर्सिएको ठाउँमा काल्पनिक प्रसङ्ग जोड्नुपर्ने तथा कुनै पात्रको नाम फेर्नुपर्ने मेरो बाध्यतालाई विद्वान् पाठकहरूले बुझनु नै हुनेछ । केटी मान्छेको नामको अन्त्यमा ईकार अनि केटा मान्छेको नामको अन्त्यमा एकार जोड्ने हाम्रो परिवेश पालना गरेकोमा मेरा उक्त यात्राका सहयात्री आफन्तहरूले सहज रूपमा लिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
पुस्तकलाई साझा प्रकाशनले बजारमा ल्याएको हो । एघारौँ दिन सम्मको यात्रासंस्मरण समेटिएको पुस्तकको मूल्य एक सय ८५ रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










