साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई अनुसन्धानात्मक काम तथा समाज सेवामा रुचि राख्ने कवि तथा लेखक डा. हरिकुमार श्रेष्ठकृत पुस्तक “फर्मोसाबाट नेपाली सुस्केरा” प्राप्त भएको छ ।

७९ पृष्ठमा मौलाएको कवितास‌ंग्रहमा ‘सहिद’, ‘एन.आर.एन हामी’, ‘सुधारिएको एक पुजारी’, ‘छाया’, ‘पुनर्मिलन’, ‘देश कहाँ मुस्कुराउँछ’, ‘मर्स्याङ्दी’, ‘पीडा र चाहना’, ‘निकास’लगायत ४७ थान कविता समावेश छन् ।

फर्मोसाबाट नेपाली सुस्केरा

फर्मोसाबाट नेपाली सुस्केरा

शुभकामनामा जीवा लामिछाने लेख्छन्, “ विदेशमा बस्दा पनि राष्ट्रप्रतिको चासो र माया कति हुँदो रहेछ भन्ने सन्देश यस पुस्तकमा समेटिएका विषयवस्तुले दिएको छ । यस पुस्तकमा कविले राष्ट्रियताका सवालमा उठेका मुद्दाहरू, देशका विषम परिस्थितिहरू, माया र सामाजिक कुराहरूलाई यथार्थ चित्रण गर्ने प्रयास गरेको पाइन्छ । देशमा विद्यमान विकृति, विसङ्गति, अन्याय, अत्याचार, शोषण र दमनबाट कसरी समाज र देशलाई रूपान्तरण गर्न सकिन्छ भन्ने सोचहरू प्रस्तुत भएको पाइन्छ । त्यसैले यी विविध विषयवस्तुहरूलाई समेटी कवितारूपी साहित्यिक फूलको सिर्जना गर्न गरिएको यो प्रयासप्रति म डा. श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।”

ज्ञानेन्द्र गदाल लेख्छन्, “कवि हरिकुमार श्रेष्ठद्वारा लिखित प्रस्तुत कवितासंग्रहमा प्रवासी जीवनको पीडा, स्वदेशी माटोप्रतिको मोह, मानवीय जीवनका भोगाइ आदिको यथार्थ चित्रण गरिएको पाइन्छ । यसका साथै मानवसमाजलाई एकताको मालामा गरिन यही सुझाव र आग्रहसमेत गरिएको छ । यसै सङ्ग्रहबाट सानो अंश उदृत गर्दछु ।

खोला पानी धमिलिंदा त माछा मार्ने ओइरो । 
वास्तविकता बुझ्दै जाँदा रहस्य झन् गहिरो ।।
भाइ फुटे गवार लुटे भन्थे नि हाम्रा बाले । 
हुन्नौं सफल हामी कोही मनमा रिस पाले ।। (एनआरएनए हामी, पृष्ठ ६)

प्रस्तुत सङ्ग्रहले कवि हरिकुमार श्रेष्ठको साहित्यिक व्यक्तित्वमा निश्चय पनि नयाँ उचाइ थपिनेछ । उनको लेखनप्रतिभा उच्च छ भन्ने यथार्थलाई यस सङ्ग्रहले प्रष्ट पार्ने कुराप्रति म विश्वस्त छ । भविष्यमा उनको साहित्यिक प्रतिभा अझ परिष्कृत हुँदै जाओस् ।”

कवि लेख्छन्, “ जीवनमा निकै नै उतारचढाव आइरहन्छ । जस्तै: कहिले क्रोध त कहिले रुणिकता, कहिले सुख त कहिले शोक, कहिले शान्ति त कहिले अशान्ति, कहिले त कहिले बिछोड, कहिले मित्रता त कहिले शत्रुता । त्यसैले मैले जस्तो देखेको भोगेको थिएँ, त्यसलाई त्यसरी नै प्रस्तुत गर्ने जमर्को गरेको छ । यसमा मैले दशमा बस्दा पनि देशको अवस्थाबाट कहिल्यै पनि टाढा भएर बस्न सकेको थिइनँ । त्यसैले यसमा मैले राष्ट्रियताका सवालमा उठेका मुद्दाहरू, देशका अन्य विषम परिस्थिति, माया, सामाजिक कुराहरूलाई यथार्थ चित्रण गर्ने प्रयास गरेको छु ।”

दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषबाट प्रकाशन गरिएको यस कवितासंग्रहको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।