
पुम्दीभुम्दीदेखि देजन सहरसम्म : शोभाकर बराल
लेखक शोभाकर बरालको यात्रासंस्करण हो ‘पुम्दीभुम्दीदेखि देजन सहरसम्म’ । पुस्तकमा लेखक शोभाकर बरालले दक्षिण कोरिया भ्रमण गर्दाको आफ्ना व्यक्तिगत अनुभवहरु समेट्नुभएको छ ।
”यो संस्मरणले एउटा साधारण नागरिकले विदेश भ्रमणका क्रममा सामना गर्नुपर्ने औपचारिकता, झन्झट, खुशी र तनाव सबैलाई प्रष्ट र जीवन्त शैलीमा प्रस्तुत गर्नुका साथै यात्राको रोमाञ्चक विवरण समेत प्रस्तुत गरेको छ ।” पुस्तकमा चिरञ्जीवी बराल लेख्नुहुन्छ, ”धेरै नेपाली उच्च अध्ययन, अध्यापन र रोजगार अनुमति प्रणालीमार्फत् कोरियामा पुगेको सन्दर्भमा यस यात्रा संस्मरणमा कोरियामा रहेका नेपालीहरुको जीवन, आपसी सम्बन्ध र अनुभवको चर्चा गरिएको छ । उनले कोरियाली जीवनशैली, सभ्यता, ऐतिहासिक संरचना र आधुनिक प्रविधिले दिएको सुविधालाई नेपालको अवस्थासँग तुलना गर्दै आफ्ना अनुभव बाँडेका छन् । यस पुस्तक पढेपछि कोरियाको विकास तथा सरसफाइ, सुशासन, कानुनी व्यवस्था, त्यहाँको सामाजिक, शैक्षिक, राजनीतिक, र वातावरणीय दृष्टिले प्रगतिशील अवस्था थाहा पाउन सकिन्छ ।”
त्यसैगरी पुस्तकमा डा. खगराज बराल लेख्नुहुन्छ, जीवनको उत्तरार्द्धमा बरालले अनुभवजन्य र पौराणिक कथाका आधारमा लेख्दै आउनु भएको छ । यसपूर्व बरालका मैले टेकेको धरती (२०७९) र पौराणिक आदर्श नारीहरु (२०८१) प्रकाशित छन् । स्वदेशका केही जिल्लाहरु र भारत, दक्षिण कोरिया र जापान घुम्नु भएका बरालको यात्रा साहित्यको झिल्को मैले टेकेको धरतीमा मुखरित भएको थियो । दक्षिण कोरियाको दुईपटक यात्रा गर्नुभएका बरालले २०८१ साल जेठको ६ गतेदेखि साउनको ५ गतेसम्म (दुई महिना) को पछिल्लो यात्राका सम्बन्धमा यात्रा साहित्य लेख्नु भएको छ । बरालले यस यात्रा साहित्यमा यात्रामा देखेका, भोगेका, सुनेका कुराहरु, लेखकका भावना र विचारहरु इमान्दारीपूर्वक लेख्नु भएको छ । कतै कतै त लेखक यति यात्रा अनुभूतिमा गहिरिनु भएको छ कि दक्षिण कोरियामा भएको विकास र प्रगति नेपालमा किन हुन नसकेको हो भनेर विश्लेषण पनि गर्नु भएको छ । दक्षिण कोरिया यात्रा नगर्नु भएका र गरेर पनि अनुभूति नगर्नु भएका पाठकमा लागि यो पुस्तक एउटा प्रेरणाको स्रोत बन्ने अपेक्षा गरिएको छ ।”
पुस्तकलाई शब्दमिडिया प्रा.लि साहित्यपोस्टले प्रकाशन गरेको छ । एक सय ७६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

