काठमाडौं । चर्चित लघुकथाकार सुमन सौरभको छैठौँ लघुकथा सङ्ग्रह ‘रे’ मंगलबार राजधानीमा लोकार्पण गरिएको छ ।

ठमेलमा आयोजित कार्यक्रमबीच प्रा. डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, कवि तथा प्रकाशक नरेन्द्रकुमार नगरकोटी, लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइराला र स्वयं लेखक सुमन सौरभले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएकाे थियाे  ।

कार्यक्रममा बोल्दै प्रा. डा. गौतमले सुमन सौरभलाई ‘बौद्धिक लघुकथाकार’ का रूपमा चिनिँदै आएको उल्लेख गर्दै उनका कथाहरू गम्भीर विषयवस्तु र चुनौतीपूर्ण प्रस्तुतीकरणका कारण नेपाली लघुकथाको भीडमा अलग पहिचान बनाएको बताउनुभयाे  । उहाँले ‘रे’ लाई समेत सो परम्पराको निरन्तरता मान्न सकिने धारणा राख्नुभयाे ।

त्यस्तै,  साहित्यकार रोदनले सौरभको लेखनी प्रारम्भदेखि नै गम्भीर हस्तक्षेपपूर्ण रहेको स्मरण गर्दै, “साहित्यमा जे लेखेपनि हुन्छ भन्ने सतही भ्रमबाट अलग्गिएर उनले सधैं गहिरो चेतना र दृष्टिकोण प्रस्तुत गरेका छन्” भन्नुभयाे  । उहाँले ‘रे’ लघुकथाले पनि पाठकमा थप बहस र छलफल जन्माउने विश्वास व्यक्त गर्नुभयाे  ।

कलम प्रकाशनका प्रतिनिधि तथा कवि नगरकोटीले लेखक सौरभलाई शक्तिशाली सिर्जनशील कलमधारीको रूपमा चिनाउनुभएकाे थियाे । उहाँले ‘रे’ लाई नेपाली लघुकथाको प्रस्थान बिन्दुका रूपमा लिने सक्ने उल्लेख गर्दै पुस्तक प्रकाशनका विविध पक्षबारे जानकारी गराउनुभयाे ।

सङ्ग्रहका स्रष्टा सौरभले आफू लेखनलाई आत्मसन्तुष्टिका लागि गर्ने गरेको बताउँदै ‘रे’ मा समेटिएका लघुकथाहरू आफ्नै जीवन–बोध र सामाजिक अनुभूतिबाट जन्मिएका कृतिहरू भएको बताउनुभयाे ।

लघुकथा समाज, नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा अध्यक्षता तुलसीहरि कोइरालाले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य सुषमा चित्रकारले दिनुभएकाे थियाे  । छविरमण सिलवालले सञ्चालन गरेको सो कार्यक्रममा उपस्थित साहित्यप्रेमी, लेखक तथा समीक्षकहरूले कृतिबारे उत्साहपूर्वक प्रतिक्रिया दिनुभएकाे  थियाे  ।