ऊ रोएको देखेर रातभरि ऊसँगै रोयो आँसु ।

आँसुकै साथमा एकछिन उसको आँखा पनि रोएको हो, मन पनि रोएको हो । तर मन एकोहोरो भएपछि आँखा पनि टोलाई मात्रै रह्यो । निरन्तर साथ दिने त आँसु मात्रै भयो !

उसले सम्झियो– रातको एक खण्डमा घनघोर पानी पर्दै थियो । अनिष्ट बोकेर ! अनि त्यही रातको अलग्गै खण्डमा घरभित्र सुतिरहँदै घरसँगै चिप्लिँदैचिप्लिँदै, लडिबुडी गर्दै कुन्नी कताकता पुगेको हो ऊ । पहिरो रोकिएपछि गड्यौँलासरी हिलाम्य भएर निस्किँदा न अघिसम्म सुतेको घर कतै थियो, न घरभित्रका परिवार कतै थिए ! केही बाँकी थिएन, कोही बाँकी थिएनन् । खाली पीडाहरूको उकुसमुकुस मात्र थियो– परिवारको पीडा, सम्पत्तिको पीडा ।

अनि त निर्दयी आकास हेर्दै ऊ रोएको रोयै र ऊ रोएको देखेर उसको आँसु रोएको रोयै । कोही जिउँदै भेटिन्छन् कि भनेर माटोको एक छेउ खोस्रियो, रोयो । अर्को छेउ खोस्रियो, रोयो । च्वः, कोही भेटिएनन् !

रात मरेपछिको अर्को खण्डमा छिमेकीहरू भेला भएर माटो बोकर्न थाले । नरुने बहानाको बीउसम्म पनि भेटिएन ।

सुमन साैरभ

थरिथरिका मान्छेहरू आए– उद्धारकर्मी, संचारकर्मी, उत्सुककर्मी । सबैले पालैपालो देखे– उसको आँखामा आँसुको गाजल थियो । सबैले नानाथरी सोधे – उसको आवाजमा आँसुको आर्द्रता थियो ! सबैजना रात, झरी, पहिरो र मृत्युको आख्यानमा उत्सुक थिए ।

सबैको उत्सुकताको जवाफ सकिएपछि ऊ रुँदारुँदा थाकेर गन्हाइसकेको आफ्नो आँखा बोकेर प…र रुखमुन्तिरको एकान्तमा गयो र आँसुलाई सुम्सुम्याउन थाल्यो । जे भयो भयो, अब उसलाई साथ दिने त आँसु थियो तर विचरा आँसुको ऊभन्दा बाहेक अरु को नै थियो र !