सुमन साैरभ

समयको एक मध्यान्तर !

एउटा परम्परागत कारोबारको मौखिक सम्झौता लिएर ऊ पश्चिमको एकटुक्रा जमिनमा उभियो ।

उसको अगाडि एक युवती भित्रभित्रै त्रसित मनस्थितिमा उभिएकी थिई ।

उसले सम्झिसम्झी सम्झौताका बुँदाहरू प्रस्तुत गर्‍यो – दुईतीन छाक खान दिन्छु पकाउने काम तेरो । शरीरमा एकधरो कपडा दिन्छु, मेरो कपडासमेत जोडेर धुने काम तेरो ।

नाक, कान, हात, घाँटीमा केही टुक्रा सुन दिन्छु, घरको सरसफाईको जिम्मा तेरो । एक निद्रा ओछ्यान दिन्छु, बाँडेर सुत्नुपर्छ र नाईँ-हुन्न-सक्दिनँ भन्न पाइँदैन । सबैभन्दा ढिलो सुत्नुपर्छ र सबैभन्दा चाँडो उठ्नुपर्छ …. मन्जुर ?? ”

सालाखाला सम्झौता पनि भयो – “मन्जुर।”

हस्ताक्षरको रुपमा उसले युवतीको शिरको मध्यरेखामा सिंदुरको धर्सो तानिदियो र एकझुप्पो पोते घाँटीमा बाँधेर युवतीलाई रुवाउँदै घिसार्दै उत्तरमा अवस्थित आफ्नो घरमा भित्र्यायो ।
सम्झौताको पालनामा दिन बित्दै गयो । ऊजस्तै छोरो जन्मियो, ठूलो भयो र ऐतिहासिक परम्परा बुझ्यो – “मेरो बाउको सम्पत्ति मेरो सम्पत्ति, मेरो बाउको घर मेरो घर, मेरो बाउको पुर्खा मेरो पुर्खा ।”

समयको अर्को मध्यान्तर !

छोरो सुदूरपुर्वको एकटुक्रा जमिनमा उभियो । एक युवती सम्झौताका सर्तहरू सुन्न र मान्न उभिएकी थिई । उसले बाउकै पालाको सम्झौताका सर्तहरू सुनायो – “मन्जुर ?”

“मन्जुर ।”

फेरि उस्तै हस्ताक्षर, उस्तै घिच्याई, उस्तै रुवाईकासाथ एकजोडी उत्तरमा अवस्थित घरमा छिरे ।

समयको नयाँ मध्यान्तरको एकदिन क्लाइमेक्स् आयो ।

निकैबेर बाउछोराले जिल्ल परेर एक अर्कालाई हेरेपछि छोराले बाउलाई इशारामै सोध्यो – “ए लै लै, कोही सुदूरपूर्वका, कोही बेपत्ताले पश्चिमका । कोसौं परबाट रुँदैरुँदै भित्रिएका यी नारीहरू किन हाम्रो घरमा अशान्ति मच्चाउँछन् बेला न कुबेला ? सोध्नूस् त गएर !!”