१. पहिलो लघुकथा

(लघुकथा प्रशिक्षणमा धेरै प्रयोग गरिएको लघुकथा)

दह्रो लौरो

खेमराज पोखरेल

‘हजुर, भोलि माता तीर्थे औंसी, आमाको मुख हेर्न जानु पर्छ, आफ्नो त आमा दैवले चुँडिहाले । म पनि सासू आमाको मुख हेर्न हजुर सँगै जान्छु’ श्रीमतीको यो भनाइले मैले झट्ट सम्झेंः ‘हो त नि, पोहोर पनि आमाले छोरा बुहारी आउँछन् भनेर बाटो हेरेर बस्नु भयो । हामी गएनौ । यसपल्ट त जानै पर्छ’
‘हुन्छ, आजकै ‘नाइट’ चढेर गए त पुगी हालिन्छ’ श्रीमतीले सहमति जनाइन् ।

हामी दम्पति सहरमा जागिर खान्छौं । फुर्सद त्यस्तै हो । मन पनि त्यस्तै हो । भन्छन् नि बाबु आमाको मन छोरा छोरी माथि, छोरा छोरीको मन ढुङ्गा मुढा माथि । हामी एउटा बहाना बनाउँछौ । बाबु आमा भेट्न गाउँ जान्नौ । तर यसपल्ट जुर्यो ।

‘आमा यो मिठाइ खानू ।’
-‘सुगर छ बाबु ।’
‘आमा यो स्याउ खानू ।’
– ‘दाँत छैन बाबु ।’
‘आमा यो सारी लाउनू ।’
– ‘यो राम्रो सारी कहिले पो लाउनु र बाबु ।’
‘आमा यो गहना लाउनू ।’
– ‘चोरले मार्छ बाबु ।’

मैले लगेका सबै कुरा सकिए । आमाले हाँसे जस्तो गर्नु भयो । कृत्रिम थियो ।

कुर्सीमा बसेर आमालाई एक टकले हेरिरहेँ । रुखको पहेंलो पात जस्तो । चाउरी परेको अनुहार । हद बोलेर लगलग कामिरहेका गोडा । थकानले भरिएका दृष्टि कमजोर भएका आँखा । चर्को मात्र सुन्ने कान । पूर्ण थाकेको शरीर । मलाई आफैंलाई खुइय आयो । आमाले लौरो खोज्नु भयो र उभिने प्रयास गर्नु भयो । मैले एउटा हात पक्रेँ ।
‘बाबु तिमीलाई भोक लाग्यो होला । टाढादेखि आयौ । म भात पकाउँछु ।’ – आमाको स्वरले म झसङ्ग भएँ ।

श्रीमतीले भनिन् – ‘हजुर, मुख हेराइ सकियो । आजै ‘नाइट’मा जाऊँ । घरमा बिजोग छ । केटा केटीले के गरे होलान् ?’

आमाले भन्नु भयो –
‘बाबु एउटा दह्रो लौरो बनाई दिएर जाऊ है ।”

###
(पछिल्ला समयहरूमा लघुकथाको लेखन प्रशिक्षणले गति र प्रगति लिएको छ । विभिन्न सहर र गाउँहरूमा लघुकथाको विज्ञ टोली पुगी वा भर्जुवल माध्यमबाट संसारका जुनसुकै कुनामा रहेका नेपाली लघुकथामा रुचि भएकाहरूलाई लघुकथाको प्रशिक्षित गर्न थालेको पाइन्छ । यही सिलसिलामा लघुकथाकार खेमराज पोखरेलद्वारा रचित लघुकथा “दह्रो लौरो” उदाहरणको रूपमा धेरै प्रयोग गरिएको लघुकथा हो ।
लघुकथाकार खेमराज पोखरेल पछिल्लो समय नेपाली लघुकथाको फाँटमा आएर लघुकथाको विकासको लागि उम्दा काम गर्ने व्यक्ति हुन् । दनादन लघुकथाहरू लेख्ने र कृतिको रुपमा प्रकाशन गर्ने, लघुकथाको सरल सिद्धान्तहरू बनाउने, लघुकथाहरूको सम्पादन गर्ने, लघुकथा लेख्नेहरूलाई एकीकृत गर्न खोज्ने र संभावना देखिएको लघुकथाकारहरूको संरक्षण गर्ने काममा उनको विशेष संङलग्नता छ । साँचोमा, खेमराज पोखरेल लघुकथाको एक कारखाना नै हुन् । उनका लघुकथाको पाँच कृतिहरू प्रकाशित भइसकेका छन् ।
प्रस्तुत लघुकथा “दह्रो लौरो”ले हाम्रो परम्परागत चाडबाडमा आएको स्खलनलाई सरल भाषामा औलाएको छ । आमाको ममताको शास्वततालाई प्रष्टाएको छ । कथाले सन्तनको विवशतालाई यथार्थ लेप लगाइएको छ । अझ कथामा बीज वाक्यले थेगेको खुल्ला समापनको विशाल आकाशले पाठकलाई मनमौजी बिचरण गर्न छोडिदिएको छ ।)

 

२. सकृयकालीन लघुकथा

 

शंका

सुमन सौरभ

सुमन सौरभ

स्कुलको फी कहिल्यै समयमा तिरिएन । ‘जुत्ता फाट्यो बा’ भन्यो, कैयौं दिनसम्म आउँदैन । साइकल चाहियो भनेको महिनौं भयो, पटक्कै आउने छाँट छैन ।

अनगन्ती कुराहरू जोड्दै जाँदा उसलाई आफ्नो बा पटक्कै मन परेन ।

यस्तो बाको छोरो हुनुमा अपमानबोध भएपछि ऊ हुत्तिएर गयो र लुगा धुँदै गरेकी आमालाई सोध्यो– ‘मेरा बा कसरी मेरा बा भए आमा ?’

‘कसरी भन्नु, महिनौँसम्म मलाई फकाउँदै पछि लाग्थे । एकदिन मौका पारेर उनीसँग भागेँ । अनि तँ जन्मिइस् र उनी तेरा बा बने ।’ आमाले सहज जवाफ दिइन् ।

हरे !
आमाको कुरा सुनेर उसलाई बा मात्रै होइन, आमा नै पनि मन परेन । जम्माजम्मीमा त्यही नालायक बाकी एउटी स्वास्नी हो जस्तो मात्रै लाग्यो ।

‘भाग्नै परेपछि के यस्तासँग भाग्या ? अलि पैसावालासँग त भाग्नुपर्थ्यो नि ! यस्तो ग….रिब … पैसा छ भनेको कहिल्यै सुनेको छैन । मलाई लाज भो आमा, ग्लानि भो ।’

‘भन्न खोज्या के ?’ आमा जिल्ल परी !

उसले प्वाक्क भन्यो, ‘तिमी यसलाई छोडिदेऊ । अनि मलाई पनि सँगै लिएर पोइल जाऊ, एउटा ध…नीसँग ।’

आमाले लुगा धुँदै गरेको साबुनको डल्लोले हानिन् उसलाई । तर उसले भनेजस्तो पोइल गइनन् ।

साबुन चिप्लो थियो, त्योभन्दा चिप्लो थियो समय । अहिले उसका बा थिएनन्, आमा थिइनन् ।

एउटा छानोमुनि ऊ थियो, उसकी स्वास्नी थिई र उसको ‘यो चाहियो र त्यो चाहियो’ भनेर सधैँ किचकिच गरिरहने बाकै अनुहारको छोरो थियो ।

एकदिन उसले दिमागमा भातको चिन्ता बजिरहेको सुन्यो– ‘छिन्द्रिङ छिन्द्रिङ’

घरभाडाको चिन्ता बजिरहेको सुन्यो– ‘टिरिङ टिरिङ’

स्वास्नी र छोराको खुसीको चिन्ता सुन्यो– धिन् तडाक् धिन्, धिन् तडाक् ।

गरिबीको झर्कोलाग्दो झ्याइँझ्याइँको बीचमा ऊ सुस्तरी स्वास्नीको छेउ गयो र शंकालु आवाजमा सोध्यो– ‘नढाँटी भन् त, फुच्छेले तँलाई पोइल जाने सुझाव त दे’को छैन नि ?’

###
(नेपाली लघुकथामा ५० को दशकलाई सकृय काल मानिन्छ । यही दशकदेखि लघुकथाकार सुमन सौरभले आफ्नो दरिलो उपस्थिति लघुकथामा बनाएका हुन् ।
सुमन सौरभ प्रयोगवादी र स्वैरकल्पनावादी लघुकथाकार हुन् । हालसम्म उनका ५ वटा लघुकथा संग्रहहरू प्रकाशित छन् ।लघुकथा समाज, नेपालको कोषाध्यक्ष रहेका सुमन सौरभ साहित्यमा लघुकथा मात्र लेख्न रुचाउँछन् ।

प्रस्तुत लघुकथा “शंका”मा सुमनले आम जीवनको प्रिय अभावलाई बालसुलभ मनबाट अंकुरण गराएका छन् । यस लघुकथाले पाठकलाई उठानदेखि यात्रा गराउँदै घुम्ती र मोड घुमाई बीज वाक्यमा टक्क उभ्याउँछ र आफ्ना लालाबालाको हरेक खासखुसमा शंका उब्जाउँ छ ।)

३. मलाई मन परेको लघुकथा

मन

हेमलता उप्रेती

“यो गाग्री जत्रो भएको भए म भित्र पनि धेरै अँटाउने थियो । थुक्क मेरो भाग्य !” मनमा आइरहने यही विचारले थाल सँधै दुःखी देखिन्थ्यो ।

“यो थाल जस्तै फराकिलो हुनपाए पो ! आफू त पेन्टे भुँडी निस्केको, हेर्दै घिनलाग्दो ! छि !, म त कति अभागी !” गाग्रीको पीडा झन् गहिरो थियो ।

साबित्राको भान्साका यी दुई पित्तलका सामानहरु सँधै असन्तोषी र उदास देखिन्थे । जवकि उनी सवै भाँडाहरुलाई समान महत्व दिन्थिन् । सवैलाई उज्याला र चम्किला बनाई आफ्नो भान्साको रौनक बढाउँन चाहान्थिन् । हरतरहले कोशिस गर्दा पनि ती दुईलाई चम्काउँने उनको प्रयास विफल भयो । उनी दिक्क भइन् । अन्ततः निकै सोचविचार गरेर उनी अर्को निष्कर्षमा पुगिन् ।

उनी गाग्री र थाल दुवैलाई लिएर बाँडाकोमा गईन् र ती दुवैलाई गालेर अर्को सामान बनाउँन आग्रह गरिन् ।

“यिनलाई गालेर के बनाउँने हजुर ? भगवानको मूर्ती बनाइदिऊँ ?” बाँडाले सोध्यो ।
उनले झट्टै आफ्नो निर्णय सुनाइन् “भगवानको मूर्ती होइन, यिनीहरु दुवैलाई गालेर एउटा कोपरा बनाइदेऊ ।”

###
(हेमलता उप्रेती पछिल्लो पटक लघुकथामा हलक्कै प्रगति गर्ने थोरै लघुकथाकार मध्येको एक हुन् । उनी शिक्षण पेशामा सम्बन्धित भएको कारण पनि हुन सक्छ । चुपचाप लघुकथा लेखन सिक्ने र सिकेको कुरा लघुकथामा चुपचाप नै पोख्ने काम गरिरछिन् । उनलाई हल्ला पटक्कै मन पर्दैन ।
प्रस्तुत “मन” लघुकथा हेमलता उप्रेतीको केही उत्कृष्ट लघुकथाहरू मध्येको एक हो । यस लघुकथाले नेपाली उत्कृष्ट लघुकथाहरूसंग सिधै प्रतिस्पर्धा गर्न सक्छ । यस लघुकथामा स्वैरकल्पनाको प्रयोग गरि जीवनमा आचरण र स्थानको अर्थबोध गराएको छ । लघुकथाले अन्त्यमा झड्का हैन आगो बालेको छ ।)