पैसा चोरेरै हैरान पार्थी, एकदिन म र मेरो अहङ्कारलाई डस्टबिनमा फालेर स्वास्नी पोइला गई ।
ऊ गएपछिको पहिलो माइनस डिग्रीको बिहान,पत्रपत्र लुगामा चुरोट तान्दै बजारतिर  निस्किएँ ।
बजारमा बेचिन तयार थिए ताता लुगाहरू, किनिनँ । चियाकफिहरू, किनिनँ ।
तातो बेच्ने तरुणीहरू, किनिनँ ।

एक वाहियात अनुहारको गरीब  अगाडि आयो – ” अति जाडो भो, चुरोट पाऊँ न !”

सुमन सौरभ

हिम्मतिलो थियो, जाबो एकसरो पातलो कपडामा सर्दिलो सडकमा काँप्दै थियो । निर्लज्ज रहेछ, नचिनेको मसँग चुरोट माग्यो, सित्तैमा !
 भनेँ -” तेरो गरिबी गन्हायो, पर हट्  “
” प्लिज,मेरी गर्लफ्रेण्ड तातो बेच्न गएकी छे, फर्किदा ज्याकेट ल्याइदिन्छे । त्यतिन्जेल चुरोटकै ताताले बाँचेर देखाइदिन्छु ।”
“चुरोट त मागेर खाने रहेछस् , भो नबाँच् “
अचानक मेरो हात आफ्नो छातीमा पुग्यो – “आम्मै, हृदय घर मै छुटेछ त ! “
हतारमा घर गएँ, हृदय टिपेँ र सोचेँ- “जाबो चुरोट दिएकै भए नि हुन्थ्यो । “
र फेरि निस्किएँ बजारमा ।
ऊ फेरि देखियो – “फोन आएको थियो गर्लफ्रेन्डको,फर्किँदै छे रे बीच बाटाबाट । जोसँग गएकी थिई पैसाका लागि, जाडाले हार्टअट्याक भयो रे बाटैमा । अब ज्याकेट आउँदैन । उफ्…, कतै आगो पनि बालेनन् आज ।”
चुरोट दिएँ , ऊ काँपिरह्यो ।
ज्याकेट खोलेर दिएँ, ऊ काँप्न छोडेन -“लौ स्वेटर लगाऊ, लौ थर्मोकोट पनि लगाऊ । “
टोपी पनि दिँदा हात चिसो टाउकामा पुगेपछि थाहा भयो – धत् , दिमागचाहिँ घर मै छुटेछ यसपालि !
अर्धनग्नतामा काँप्दै दौडेर घर पुगेँ ।
न्यानो कपडा लगाएँ, दिमाग र हृदय बोकेँ र फेरि बाहिर निस्किएँ ।
देखेँ, कसैले आगो बालेछ सडकमा, ऊ नबिकेकी गर्लफ्रेन्डसँगै आगो ताप्दै थियो । दुवै पालैपालो गाँजा तान्दै थिए । मैले दिएको न्यानो कपडा गर्लफ्रेन्डलाई लगाइदिएछ ।ड्रग्सको कुलतले केके बनाउँछ मान्छेलाई, उसकी गर्लफ्रेन्ड उही मेरी  पोइलजाने स्वास्नी पो रहिछ ।
दिमाग साथमै थियो, हल्लिएन । हृदय साथमै थियो, दुखेन ।
हुस्सु म ! यसपालि अहङ्कार घरको डस्ट्बिन मै बिर्सेछु ।