१. काल विभाजनको लघुकथा – अन्तर्राष्ट्रिय नारी दिवस
त्रिपुरा खरेल
ठूलो चौरमा गरगहनाले सजिएका नारीहरू मञ्चतिरबाट आएको जोसिलो पुरुषको भाषणलाई थपडीले स्वागत गर्दैथे। प्रमुख अतिथि महोदय, सभापति महोदय काजु चपाउन व्यस्त थिए। वरिपरि चिया चमेनाको अस्थाई पसलहरूमा नारीहरूको आवतजावतको क्रम जारी थियोे ।
“आमा दिदी बैनी हो। कति बस्छौ दासी भई…… ।” माइकमा ठूलो आवाजमा जे.बी. टुहुरेको स्वर घन्किरहेको थियो।
” दिदी चौरमा केको भीड हो? ” बाटोमा घाँसको भारी बोकेर हिंड्दै गर्दा मःम को गन्धले गर्दा मन थाम्न नसकेर पसलभित्र पसेकी रनमायाले अर्की ग्राहकलाई सोधी।
“खै ! म पनि ग्राहक हुँ । गुन्द्रुकको अचार र सेलरोटीको तिर्सना मेटाउन मात्र पसेकी हुँ।”
” रमाइलो मेला लागेजस्तो छ ।” रनमायाको ठूलो स्वरले चमेना पसल एकछिन भएपनि चकमन्न भयो।राम्रा लुगा , गहना र खादाले पुरिएका नारीहरू नाक खुम्चाउदै एकअर्कासँग आँखाको भाकामा कुरा गर्नथाले।
“आज अन्तर्राष्ट्रिय नारी दिवस हो त्यति पनि थाहा छैन ? पाखे आइमाई ।” त्रिपालभित्र कालो चस्मा लगाएकी,खादामालाले पुरिएकी नारीले बेन्चीमा बस्ने नर, नारीलाई हेर्दै भनी। उसको हाँसोसँगै हाँसोको फोहरा छुट्यो।
सुनमायाका आँखा रसाए ।लोग्ने जुवा,रक्सी रण्डीमा भुलिएपछि बालखा छोराछोरीको मुखमा माड हाल्नकै लागि उसले बोकेको घाँसको भारी मुसार्न थाली।
सेलरोटी मुखमा लाँदे गर्दा उसको हात फत्रक गले। दाइजोका लालचीहरूले उसलाई घरबाट निकालेपछि आफू गिद्धहरूबाट लुछिएको, भोको पेट शान्त पार्न आफू बेचिएको घटना संझिदा उसको हात मुखमा पुग्न सकेन।
राति सुतेकै अवस्थामा आफ्नैबाट बलात्कृत भएकी होटलवाल्नी आशमायाले आफ्नो ब्रह्माण्ड जत्रो पेट सुमसुम्याउँदै माथि हेर्दै प्रश्न गरी , “हे ईश्वर , अन्तर्राष्ट्रिय नारी दिवस भनेको यही हो ?”
###
(नेपाली लघुकथामा ७० को दशकलाई “सञ्जालमैत्री काल” भनिनु पर्छ । यसै कालदेखि नेपाली लघुकथाहरू सहज रुपमा सामाजिक सञ्जालहरूमार्फत एकैचोटि विश्वभरि फैलिरहेका छन् ।
लघुकथाकार त्रिपुरा खरेल नेपाली साहित्यमा विद्यालयकालीन समयदेखि देखिए पनि लघुकथामा भने उनी ७० को दशकदेखि मात्र लागेकी हुन् । उनी सिक्किमेली लघुकथा समाजको संस्थापक एडमिन बनेर नेपाली र सिक्किमेली लघुकथाहरूलाई जोड्ने पुल पनि बनेकी छिन् । प्रस्तुत लघुकथा “अन्तर्राष्ट्रिय नारी दिवस” त्रिपुरा खरेलले नारी दिवसको सन्दर्भमा लेखेकी हुन् । कथाले सिमान्तकृत नारीको अनभिज्ञतामा नारी दिवस मनाइएको कुरालाई उजागर गरेको छ ।)
२. सङ्ग्रहभित्रको लघुकथा : अनुमति
कल्याण पन्त
गोविन्दराजको नातिनातिना खेलाउने साह्रै रहर थियो । उनले छोरा प्रेमराजको १८ वर्ष पुग्दानपुग्दै बिहे गरिदिए तर पनि उनको २४ वर्षसम्म पनि जायजन्म भएन । उनीहरु डाक्टरकहाँ गए, धामीझाँक्रीलाई देखाए, पूजा लगाए, मन्दिरमा परेवा उडाए, एक खुट्टा टेकेर बत्ती बाले, हर उपाय गरे तर पनि कुनै प्रगति भएन ।
प्रेमराज पूर्वतिर व्यापार गर्न गए । बुहारीलाई पनि उतै पठाइयो । वर्ष दिन बित्यो तर पनि सन्तानको मुख देख्न पाइएन् । क्रमशः घरमा खुसीयाली हराउन थाल्यो । परिवारमा मानसिक तनाव बढ्दै गयो । प्रत्येक दशैंमा दिइने आसिक पनि गोविन्दराजलाई व्यर्थ लाग्न थाल्यो । घरपरिवारै उदासीन देखिए । बुहारीप्रति नै दृष्टि बदलिन थाल्यो । बिस्तारै बिस्तारै छोरासित पनि कानेखुसी गर्न थालियो ।
अति भएपछि एकदिन मुख मिलाउँदै सासूले भनिन् “बुहारी ! ६ वर्ष कुरिसकियो गाउँमा कुरा काट्न थालिसके, अब तिमीले छोरालाई नयाँ बाटो खोलिदिनु पर्छ… ।”
बुहारीले भनिन्, “सन्तान नै हेर्ने भए उदार भएर सोच्नुस् र छोरालाई पनि अनुमति दिन भन्नुस्, अनि रहर मेटिहाल्छ नि ।”
###
(लघुकथासङ्ग्रह “जमाना”का स्रष्टा कल्याण पन्त नेपालका एक अग्रज लघुकथाकार हुन् । चौध वर्षको उमेरदेखि साहित्यमा लागेका उनी लघुकथाबाहेक सम्पादन र समसामयिक लेख पनि लेख्छन् । स्रष्टा पन्तले नेपालमा एकल लघुकथा वाचन परम्पराको थालनी गरेका हुन् । उनी लघुकथा प्रतिष्ठानको सचिव पदमा रहेर लघुकथाको विकासमा निरन्तर लागि परेका छन् । पन्त लघुकथाको नियममा पूर्णस्थिर भई चोटिला लघुकथा लेख्न सिपालु छन् ।
प्रस्तुत लघुकथा “अनुमति”मा नारीभित्र दबिएको विद्रोहलाई विस्फोट गराइएको छ । कथाले पाठकलाई अलग विषयमा अल्झाएर अन्त्यमा नारीको मुखबाट समाजको नवीन चेतनालाई उजागर गरेको छ । कथा यादगार बनेको छ ।)
३. समूहभित्रको लघुकथा : आडम्बर
लता केसी
मेसेन्जरमा ट्वाङ्ग आवाज आयो । हेरेँ , निम्तोपत्र रहेछ । भोलिपल्ट समयमा नै पुगेँ । मञ्च हेर्दा निकै सजिसजाऊ थियो । एकछेउमा एउटा कुर्सी ओगटेँ । समयले नेटो काटिसकेको थियो तर कार्यक्रम सुरू भएको थिएन । मैले आयोजकका साथीलाई कारण सोधेँ । जवाफ पाएँ , “प्रमुख अतिथि आउँदै हुनुहुन्छ । आएपछि सुरू गर्छौँ ।”
लगभग १ घण्टा बितेपछि तामझामका साथ सजिसजाऊ भएर उनी आइपुगिन् । वरिपरि २/४ जनाले घेरे । उद्घोषकले गर्व गर्दै खोक्न सुरू गरे । मेरो नजर ब्यानरमा पर्यो । लेखिएको थियो –
११२औँ नारी दिवस
कार्यक्रम परिचर्चा – विभेदको अन्त्य
आयोजक- महिला हकहित समिति
वक्ताहरूले आफूले जानेका बुझेका चिन्तन क्रमशः पेश गरे। लैङ्गिक समानता, वर्गीय समानता, बलात्कार, छाउपडी, शिक्षा र गरिबी विशेषमा सबैले चर्किएर चिच्याए । लगभग २ घण्टा पछि उदघोषक कराए , “हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ । अबको पालो प्रमुख अतिथिको”
कार्यक्रममा रौनक थपियो । उनी मञ्चमा आइन् । पहिरन मिलाइन् । आँखाको गगल्स टाउकोमाथि पुर्याइन् । अलि परसम्म आखाँ पुर्याइन् । सबै दर्शक ठुलै आशले मन्तव्य पर्खिरहेका थिए । उनले औलाले सङ्केत गर्दै भनिन्, “ऊ त्यो झुत्रे, बौलाही महिला कसरी प्रवेश गरिन् ? कार्यक्रममा सुरक्षा व्यवस्था छैन ?”
वाणी झर्नासाथ सुरक्षा गार्ड खडा भयो । उसलाई लचारपछार गरेर धपाउँदै थियो । ती महिला भने बारम्बार कराउँदै थिइन्, “एक सातादेखि भोकै छु हजुर !”
आर्तनाद सुनेपछि म उठेर हेर्न गएँ । बौलाही महिलालाई देखेपछि अनायस मुखबाट फुस्कियो, “बुहारी महिला अधिकारकर्मी, सासू बेसहारा !”
###
(लघुकथालाई सिक्ने र सिकाउने ठाउँको अवधारणासहित सामाजिक सञ्जालमा देखिएको हाम्रो लघुकथा पाठशाला पछिल्लोपटक सञ्जालभित्र बढी सक्रिय फेसबुक समूह हो । यसै समूहमा लता केसीले पोष्ट्याएको कथा हो “आडम्बर”।
लता केसी हाम्रो लघुकथा पाठशालाको संस्थापक एड्मिन हुन् । यस पाठशालामार्फत् लता र उनीको साथीहरूले नेपाली लघुकथालाई सर्वसुलभ बनाउने प्रयास गरिरहेका छन् । लता केसी लघुकथा सम्पादन र संगठनमा पनि रुचि राख्छिन् । स्वैरकल्पना र नारी संवेदना लताको लघुकथा लेखनको प्रवृति हो ।
प्रस्तुत लघुकथा “आडम्बर” केसीले हतारमा लेखेको लघुकथा हो । फिल्मी शैलीमा केही मसलाहरू राख्नै पर्छ भन्ने सोचले लेखिएकाले यो लघुकथा आफैँमा सस्तो बनेको छ । तर यसो हुँदाहुँदै पनि कथामा एक नारीको पीडालाई अर्को नारीले बुझ्न नसकेको प्रष्ट्याउने प्रयास गरिएको छ ।)
४. समसामयिक लघुकथा : नारी र नदी
दीपक लोहनी
नारी र नदी
मलाई उस्तै उस्तै लाग्छन् ।
बग्नु छ दुबैलाई अप्ठ्याराहरूबाट
ठोक्किनु छ अनेक पीडा र चाहनाहरूमा
हिँड्नु छ असङ्ख्य गल्ली, गौडा र मोडहरूमा
भिड्नु छ दुबैलाई हरेक समस्याहरूसँग ।
नारी र नदी
मलाई उस्तै उस्तै लाग्छन् ।
झरनाझैँ झर्नु छ दुबैलाई भीरबाट
तर सधैँ सुन्दर देखिरहनु पर्छ ।
कुल्चेर पीरहरूलाई आफ्नै पैँतालाले
सधैँ छङ्गछङ्ग बगिरहनु पर्छ ।
उज्यालोदेखि अँध्यारोसम्म नारी र नदीलाई पटक्कै फुर्सद हुँदैन ।
कहीँकतै पनि
कुच्चिन, चेप्पिन र रोक्किन
नारी र नदीले जानेकै हुँदैन ।
नारी र नदी
सधैँ कञ्चन र पवित्र छन्,
तर कुनै स्वार्थीले तुरुन्तै दाग लगाइदिन सक्छन् ।
नारी र नदी
नुहाएर आफ्नै दमित आँसुहरूबाट
पुन: शुद्ध हुन सक्छन् ।
नारी र नदी दुबै जननी हुन् ।
प्रत्येक विजहरू
नारी र नदीबाट सिञ्चित भएपछि मात्र अङ्कुरण हुन्छन् ।
###
(पछिल्लो समय नेपाली लघुकथामा शैलीको विविध प्रयोग हुन थालेको छ । केही कट्टरपन्थीहरूले परम्परागत शैलीको वकालत गरिरहे पनि अधिकांशहरू फरक शैलीको स्वादको लघुकथाहरूलाई स्वागत गरिरहेका छन् । यसै सिलसिलामा देखिएको स्रष्टा हुन् दीपक लोहनी ।
दीपक लोहनी लघुकथामा फरक शैलीका कारण चर्चामा छन् । उनी साहित्यपोष्टमार्फत् लघुकथाको विकासमा लागिपरेका छन् । प्रस्तुत लघुकथा “नारी र नदी” नारीलाई नदीसँग समानान्तर तुलना गरिएको कवितात्मक शैलीको फरक कथा हो । यस्ता लघुकथाहरूमार्फत् लोहनीले लघुकथामा शैलीको बहस छेडेका छन् । प्रस्तुत कथामा नारीको गुण र पीडालाई व्यक्त गर्न काव्य र कथ्यक दुबैको प्रयोग गरिएको छ ।)
५. मलाई मन परेको लघुकथा : लज्जा
सुमन सौरभ
उसले क्लोरिनको गन्ध फैलिरहेको कोठाको चारैतिर हेरी र आश्चर्य व्यक्त गरी – `यो कुन ठाउँ हो ? म कहाँ छु ? बलात्कारबाट बच्न लाचार भएर आत्महत्या गरेकी थिएँ मैले त, कहाँ आइपुगेँ ?´
`तपाईं लासघरमा हुनुहुन्छ म्याडम, हामी तपाईँजस्तै लासहरू हौँ, समय पर्खिरहेका ।´
`हँ ? लासघर ? किन ? तपाईँहरू पनि लास ? समय पर्खेको ? किन ? ´
`हजुर ! यो लासघर, हामी पनि लास , समय पर्खेको । हामीमध्ये कोही घरका मान्छेले कहिले लैजालान् र सद्गतिको कार्य गर्देलान् भनेर पर्खिदै छौँ । कोही पोस्टमार्टमको पालो पर्खिरहेका छौँ । कसैको पोस्टमार्टम भइसकेको छ, त्यस्को रिपोर्ट पर्खिरहेका छौँ ।तपाईंचाहिँ कसरी मर्नुभएको नि ? ´
`भनेँ नि, आत्महत्या गरेकी । उसले मेरो शरीरमा आँखा लगायो, मेरो लाज लुट्न खोज्यो, केही सीप लाग्ने देखिनँ र इज्जत जोगाउन आत्महत्या गरेकी ।´
`ए ! त्यसो भए यो पुलिस केस हो । तपाईँलाई पनि पोस्टमार्टम गर्न ल्याइएको हो । अब धैर्यतापूर्वक पालो पर्खनुस् ।´
`पुलिस केस ? मेरो पोस्टमार्टम ? किन ?´
`मरेकी कि मारेको भनेर छुट्याउन ।´
`किन छुट्याउनु ? मरे पनि मारे पनि के फरक पर्छ र अब ? के के गर्छन् पोस्टमार्टममा ?´
`तपाईँलाई सर्वाङ् नाङ्गी बनाउँछन् । अङ्गअङ्गलाई होसियारीका साथ निरीक्षण गर्छन् । ठाउँठाउँमा चिर्छन्, लासको भाषा बुझ्छन् र रिपोर्ट लेख्छन् । अनि त्यहीअनुरूपको सिफारिस लेख्छन् – मरेको कि मारेको ?’
ऊ त्रसित भई र सङ्कुचित पनि – `के रे ? अब पनि मलाई नाङ्गै बनाएर वरिपरिबाट घुमीघुमी हेर्छन् ? जहाँ पायो त्यही छुन्छन् ?´
ऊ स्ट्रेचरमा थिई , ओर्लिई । अरू कराए – `ए ! तपाईं कता ? पोस्टमार्टम त्यही स्ट्रेचरमै हुन्छ । त्यहीँ त्यही अवस्थामै चुपचाप बस्नुस् ।´
`यही लाज बचाउन त आत्महत्या गरेकी, मैले आफ्नो नाङ्गो कुमारी शरीरको गिजोलगिजोल कसरी सहनु ? मरेपछि पनि नछोडने भए यिनीहरूले थोपर्न ? नाइँ म फेरि आत्महत्या गर्छु ।´
###
(लघुकथाकार सुमन सौरभ प्रख्यात नेपाली लघुकथाकार हुन् । लघुकथा मात्रै लेख्ने अत्यन्तै कम स्रष्टाहरूमध्ये सुमन पनि एक हुन् । सौरभ लघुकथा समाज नेपालको केन्द्रीय कोषाध्यक्ष हुन् ।
सुमन सौरभ स्वैरकल्पनायुक्त लघुकथाहरू लेख्न सिपालु छन् । उनी चर्चाबाहिर रहन चाहेर पनि सधैँ चर्चामा छन् । प्रस्तुत लघुकथा “लज्जा” स्वैरकल्पनामा लेखिएको एक बेजोड लघुकथा हो । उत्तरआधुनिकवादको प्रशस्त सुभाष पाइने यो लघुकथामा नारीको अस्मिताको सुन्दर चर्चा गरिएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।