काठमाडौं । साहित्यकार रवीन्द्र समीरको लघुकथा संग्रह ‘अणु र पहाड’ को दोस्रो संस्करण बजारमा आएको छ। पैरवी बुक हाउसले प्रकाशित गरेको यस संग्रहमा जीवनका सूक्ष्मता र विशालतालाई ५६ वटा मार्मिक लघुकथा मार्फत प्रस्तुत गरिएको छ।

‘अणु’ ले जीवनको सूक्ष्मता र ‘पहाड’ ले विशालतालाई प्रतिनिधित्व गर्दछ। समीरले आफ्ना लघुकथाहरूमा जीवन र जगतका असंगत पक्षहरूलाई छोटो र प्रभावकारी शैलीमा उजागर गर्नुभएकाे छ। केही मिनेटको पठनमा पाठकलाई गहिरो प्रभाव पार्ने यी कथाहरूले समसामयिक विषयवस्तुलाई समेट्दै पाठकलाई सोच्न बाध्य बनाउँछन्।

रवीन्द्र समीरका ‘मृत्युको आयु’, ‘एकलब्यदृष्टि’, ‘अर्जुनदृष्टि’, ‘ईश्वरका कथा’, ‘भूकम्पमा मल्हमपट्टी’, ‘कोरोनातन्त्र’, ‘पैसाको उडान’ लगायत १४ वटा पुस्तक प्रकाशित भइसकेका छन्। उहाँ पद्मश्री साहित्य पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, नेपाल विद्याभुषण पदक जस्ता थुप्रै पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएकाे छ ।

पैरवी बुक हाउसका निर्देशक चन्द्र सिवाकोटीका अनुसार, थोरै शब्दमा धेरै कुरा भन्न सक्ने लघुकथा विधा आजको व्यस्त र डिजिटल युगमा धेरै पढिने विधा बनेको छ। ‘अणु र पहाड’ को दोस्रो संस्करणले समीरको साहित्यिक यात्रामा अर्को कोशेढुङ्गा थपेको छ र पाठकहरूमाझ यसको लोकप्रियतालाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।