एक फन्को फनक्क
घुमाएर नियाल्दा समयलाई
उछिट्टिएर सूर्यका गोलाबाट
आकासिँदै बढाएर एक–अर्काको दूरी
जन्मिए केही सुन्दर खगोलीय पिण्डहरू ।
राप र तापको लप्काले सेकिएर
उम्लिरहेका गोला,
करोडौँ वर्ष पहिले टेकेर
समयका भर्याङहरू चिसिन थाले,
अनि प्रवाहित हुन थाले समयका पहिला झिल्काहरू ।

नक्षत्रहरूको लयपूर्ण सङ्गीतमा
अनन्त आकाशले पालेका थिए
असरल्ल सपनाहरू
जसको उज्यालोले टाँगिदिएको थियो
आशा र विश्वासको चित्र ।
त्यसपछिको जीवन केवल
आकस्मिकताहरू थिएनन्
बरु बृहत् योजनामा रचिएको
एउटा विराट नाटक थियो
जहाँ प्रत्येक अवयवले बोकेका थिए
सजगता र क्रमिकताको स्वप्न–सौन्दर्य ।

पानी बनेर झरनामा बग्दै
उब्जिन थाले सृष्टि र सिर्जना
हावा बनेर लहराउँदै आयो
चेतना धरतीको अँगालोमा ।
दिन थाल्यो जीवनको गति वनस्पति र फूल बनेर
रङ्ग्याउन थाले प्रकृतिका पत्रहरूलाई
पोत्न थाले हरिया रङ्गले विश्वलाई
निला रङ्गहरू पोतिए शून्यता र सागरमा ।
अद्भुत थियो शून्यबाट सुरू भएको त्यो यात्रा
र फेरि पनि शून्यताकै गर्भमा सल्बलाउँदै थिए
जीवनका नवीनतम स्वरूपहरू
प्रकाशको पहिलो स्पर्शझैँ ।
जहाँ प्रकृतिका प्रत्येक कणमा थिए सिर्जना
र अस्तित्वका सन्देश
अनि समयको अन्तहीन यात्रामा
मिठासपूर्ण बनेको थियो
समयपारिको त्यो अदृश्य पूर्वकथा ।

ढुङ्गा, माटो, वायु र वनस्पति हिमाल
पहाड, झरना, नदी र सागर, जीव, जगत्, ऊर्जा, प्रकाश
र तरङ्ग, जहाँ समय र चेतना मिसिन्छ
धर्ती, आकाश र जीवन एकै स्वरमा गुञ्जिन्छ ।
सबै एकाकार भए बाँधिएर स्वच्छन्दताको साङ्लोमा
जो एक–अर्काबिना कहाँ सोच्न सक्थे जीवनको गति ?

बिस्तारै ढलेका ढुङ्गामा पनि उम्रियो जीवनको गीत,
शिलामा लेखिए आत्मस्मृतिहरू ।
जहाँ ब्युँझिँदै गए क्रमिक विकासक्रमसँगै
चेतनाको झिल्कोझैँ समयका अणुहरूमा
सम्भावनाका फूलहरू ।