बोकेर आँखाभरि
सपनाका नीला पहाडहरू
गुराँस फुल्ने पिरतीका अक्करे भिर
दौतरी रमाउने थुम्किलो र चौतारो
आरुबखडाका सेता फूलहरू प्रेम बनेर बर्सिने त्यो पाखो
आइन्स्टाइनलाई गुहारिरहेका ऊर्जाका उचाइहरू
आमाको वात्सल्य र बाबुको छहारी
प्यारीको काख र छोराछोरीको हाँसो
किंकर्तव्यविमूढ आफ्नाहरूको मुहार
आँगनको डिलनेर बालापनको साक्षी बनेको अम्बाको रुख
भाँडाकुटी खेलेका सम्झनाहरू
छातीका भित्ताभरि खाँदेर यी सबै सबै यादहरू
उसले चिलगाडीमा देश नाघेको हो ।१।

उसले
पखेरा फोरेर बाटोलाई गाउँ छिर्यायो
ढुङ्गा, गिट्टी र बालुवा बोकेर भ्यू टावर ठड्यायो
पत्थर खोपेर देउता बनायो
देउताको बास मन्दिर उभ्यायो
आशाका फूल र ऊर्जाको अमृत अर्पियो
भरोसा पाल्यो र जाँगरको कुलेसो खन्यो
जीवन र जवानीले सिँचाइ गर्यो
परिश्रमको खेती गर्यो
हातभरि ठेला उब्जायो
अर्म, पर्म ज्याला र मजदुरी गर्यो
घाट पुगेर दुःख बाँड्यो
पैंचो साट्यो र गुन दियो
के गरेन उसले
कयौंपटक आफ्नै जीवनलाई प्रयोगशाला बनायो ।२।

उसले;
आँखै अघाउने अभाव
अराजकता र कमिसनखोरी
मन मरेको मानवता
ब्रह्म विनाको विज्ञान
नैतिकता विनाको नीति र वाद
अतिचारको जालो
सत्ताको आलो-पालो
साइबर आतंक
आमाको मैलो मजेत्रो
बुबाको फाटेको कमिज
छोराछोरीका भाँचिएको कलम,च्यातिएका किताब र भत्किएका स्कूल
श्रीमतीका मृत आकांक्षाहरू
र देख्यो,
झाडा पखाला र सुत्केरी व्यथाले हेल्थपोष्ट नपुगी मरेका छिमेकीहरू ।३।

उसले,
कैयौं पटक गुहार्यो
आफैँले पत्थर खोपेर बनाएका देउताहरूलाई
चुल्हो नबल्दाखेरी पुकार्यो
भ्यूटावरको बार्दलीमा घाम ताप्दैगरेका नव महिन्द्र मल्लहरूलाई
र सम्झियो
सपना बाँड्नेहरूको बजेट वक्तव्य
कृषि क्रान्तिका सुनौला कुराहरू
र बिर्सनै सकेन
एक छाकको पेट भराइ सँगै सरीसृपझैं घस्रदैं बाँचेको जिन्दगी
धनभन्दा विद्या ठूलो भन्ने वादविवादमा प्रथम भएको क्षण
स्वरोजगार अनि उद्दशील आदर्श
आगमन वाह्यगमनको एयरपोर्टको स्टाटिस्टिक्स
रेमिट्यान्सले धानेको देशको अर्थतन्त्रको कहानी ।३।

आज, उसको घर , उसका आफन्त र परिवार
अम्बाको रुख र आरुबखडा फुल्ने त्यो पाखो
देउराली र चौतारो
फेरि उस्तै निरस छन्
नि:शब्द छन्
र अवशान भएका छन् आँखाभरि टिल्पिलाउने सपनाहरू
घरको आगनमा तेर्सिएको
गजधम्म एउटा बाकसभित्र ।४।

तिलोत्तमा, रुपन्देही