पदको मदमा लठ्ठिएकाहरू
घुम्ने मेचमाथि
अजङ्गको काया अड्याएर
जबसम्म निदाइरहन्छन्
कुम्भकर्णे निद्रा
र
सुण्ड, मुण्डका झुण्डहरू
आधुनिक सञ्जयझैँ
सुनाइरहन्छन् कृत्रिम विरताको महाभारत
तबसम्म ऊ
समय अँधेरिएको देख्दैन
खाडल गहिरिएको भेट्दैन ….१
एक तमास जब वरपर
भजन मण्डलीहरू
गुणगानको गीता भजिरहन्छन्
तबसम्म ऊ
आफूलाई देवलको देवभन्दा बृहत्
दर्शनको अथाह सिन्धुझैं
अनन्त ब्रह्माण्डको केन्द्र
ग्यालेक्टिक सेन्टरझैं देख्दछन्
तर देख्दैनन्
विषमताका ब्ल्याकहोलहरू
तर जहिल्यै मग्न हुन्छन्
आत्मरतिको आनन्दमा….२
लुई चौधौंको खोलमा
आफूलाई नै विश्व ठान्नेहरू
हातका रेखाहरू काटेर
वोनापार्ट बन्न उद्दत छन्
देश जलिरहँदा पनि
निरोझैँ बाँसुरीको धुनमा मस्त छन्
ढुङ्गाझैँ मन भएका मान्छे र
मान्छेझैँ आवरण भएका ढुङ्गाहरू….३
तिलोत्तमा, रुपन्देही



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 










