म देखिरहेछु
एउटा श्रमजीवी काँधको बोझिलो भारीले
थिचिएर कुप्रिएको छ उसको शरीर
जसमा छाला च्यातेर बाहिर निस्कन खोजेझैँ
विद्रोह गरे जस्ता देखिन्छन् नसाहरू ।
ऊ सडकका पेटीबाट पर-परसम्म नियालिरहेछ
आफ्नो धमिलो भविष्य ।

उसका शिरा अनि धमनीमा रगत कम
र जिम्मेवारी ज्यादा बग्ने गर्दछन् ।
उसको चेप्टिएको टाउको
जसमा कपाल कम छन्
र चाप र भार थेग्न सक्ने योग्यता बढी छ ।
हरक्षण मस्तिष्कका सेरेब्रोस्पाइनल फ्लुइडले बोकिरहेछन्
सूचनाका तरङ्गभन्दा बेसी जिजीविषाका टन्टा
र उसका क्षीण गोडाहरू डगमगाइरहेछन्
बोकी हिँड्न उसकै शरीरको भार ।

उसका ती पैतालाहरू जसले पाइला-पिच्छे
पाउँछन् ठेस र चोटिला प्रहार
तर हरेक प्रहर ती दमित चाहना
र कुण्ठाका पहाडलाई दबाउँछ
त्यही पैतालामुनि ।
उसलाई आकर्षण गर्न सक्दैन
चिया पसलमा बजिरहेको
बजेट वक्तव्यको लाइभ टेलिकास्टले ।
तथापि सहरका क्याफेबाट बग्ने स्वादिला परिकारको
हरहर बास्नाले तृप्त नभई भोकले धकेलेका भित्ताहरूलाई
थमौती दिँदै पुनः चलायमान बनाउँछ उसले जिन्दगी।

मैलो दौराका फेरले पुछ्दै निधारका पसिनाहरू
एकैछिन सुस्ताउँछ
र हेर्छ आफ्नै हात
जहाँ उसले पाउँछ नाम्लाका बरियासँग पौँठेजोरी खेलेर
धमिलिइसकेका भाग्यरेखा ।
अनि मनभरि चिच्याउँछ
आफूलाई प्रश्न गर्छ
उसको ऊ बाहेक अर्को को छ
त्यहाँ जसले उसका मौन आवाजहरू ध्यान दिएर सुनिदेओस्
काँधमा हौसलाको ढाडस देओस्
अनि भनिदेओस् — हरेक अँध्यारो रात पछि
सुनौलो बिहानी पनि त आउँछ ।