घरको संघारबाट

ढोका र झ्याल अनी खट्प्वाल हुँदै

समान तवरले

सूर्यका रश्मिहरूझैं

हरेक घर, मन मस्तिष्कमा प्रवेश गर्दैछ दशैं

 

हुनु र नहुनुको कुनै अर्थ

ठूला र सानामा कुनै फरक

स्वदेश या विदेशको कुनै भूगोल

स्वतन्त्र र परतन्त्रको कुनै खाडल

यावत् कुराको ख्यालै नराखी

हरेक घर, मनमस्तिष्कमा प्रवेश गर्दैछ दशैं

 

फूलपाती, कालरात्रीको अंक गणनासँगै

टीका र जमराको थाली लिएर

असुरमाथि सत्यको विजयोत्सव मनाउँदै

पिङ, चंगा र उत्सवमा रमाउँदै

नयाँ नोट र हँसिलो ओठसँगै

बुहार्तन् पछि बल्लबल्ल छुट्टी पाएकी दुहिताझैं

क्षणिक छुट्टीको आनन्दभोगमा रम्न

हरेक घर, मन मस्तिष्कमा प्रवेश गर्दैछ दशैं

 

कर्मचारीको बोनस बनेर

व्यापारीको डिस्काउन्ट र सेल्स अफर बनेर

नेताको बफे डिनर या टि पार्टी बनेर

विद्यार्थीको भ्याकेसन एसाइन्मेन्ट बनेर

पत्रकारको न्यूज स्टोरी बनेर

होटल र इनको रक्सी, चिउरा र मासु बनेर

हरेक घर, मन मस्तिष्कमा प्रवेश गर्दैछ दशैं

दुर्गाका प्रतिमाहरूले हरेक चोक सजाउँदै

भजन, शंख र घण्टको बेजोड संगीत बजाउँदै

खुसी र उत्साहले रम्दै रमाउँदै

काँधमा ट्रंक र निधारको पसीना पुछेर मुस्कुराउँदै

हरेक घर, मन मस्तिष्कमा प्रवेश गर्दैछ दशैं

 

दुष्कर्म बलि बनेर रेटिंदै

सत्कर्म फूलपाती बनेर भित्रँदै

गाली होइन, आशीर्वचन बनेर

आर्तनाद होइन, मालश्री संगीत गुञ्जेर

रोग, शोक र भोकको दशा होइन, दशैं बनेर

शंख र घण्टको मंगल ध्वनिसँगै

हरेक घर, मन मस्तिष्कमा प्रवेश गर्दैछ दशैं

 

कपडा आफ्नै नापको काटेर

आकांक्षा आफ्नै स्रोतसँग साटेर

सकारात्मक बन्दै खुसीहरू बाँडेर

आत्मबोधको परीक्षामा सामेल गराउन

हरेक घर, मन मस्तिष्कमा प्रवेश गर्दैछ दशैं ।

 

तिलोत्तमा, रुपन्देही