
मेरा
किनारामा बसेर
हेर्न चाहन्थे
आफ्नै प्रतिबिम्ब
त्यही कञ्चन पानीमा
जहाँ जलेवाका जोडीले
मनाइरहेका हुन्थे मधुमास
चाहन्थे पछ्याउन
हर कोही मनुवाले
प्रेयसीसँग डुङ्गामा शयर गरेका
आफ्ना पुराना यादहरू
अनि कल्पिन्थे
एउटा शृङ्गारिक महाकाव्य ।१।
मेरा गर्भबाट
निस्केका जलधाराले
भिजाउँथे तिम्रा खेत र बारीका आँत
भर्दथें तिम्रा भकारी र धनसार
र
पार्दथें हरियाली
तिम्रा करेसामा
अनि
फुलाउँथे
तिम्रो ओठमा मीठो मुस्कानको फूल ।२।
तर
आजभोलि
म
म रहिनँ,
जलकुम्भीले जेलिएर
कमलगट्टाले बेरिएर
थुप्रिएर रछानको पहाड
जिङ्ग्रिङ्ग भएको छु
विकराल भएको छ
मेरो आफ्नै स्वरुप ।३।
सूर्यका रश्मिले पनि
आजभोलि
घिन मान्दछन्
छिचोल्न मेरो सतह
सक्दैनन् मुस्कुराउन मेरा ओठहरू
चम्किन सक्दैनन्
खुसीले मेरा आँखाहरू
लहरिन सक्दैनन्
खुसीका छालहरू ।४।
बेहोस छु, मुर्छित छु
एउटा जीर्ण शरीर लिएर
श्रापित चन्द्रावतीझैं
मृत्यु कुरिरहेछु
तथापि
चाहन्छु
कोही कपिलमुनि बनेर आओस्
र
छु: मन्तर गरेर
मलाई मुक्त गरोस्
यो फजितीबाट
अनि
वर्षाओस् वासन्ती सौरभ
गरोस् संरक्षण कसैले
र
सिँगारोस् सधैं बेहुलीझैं मेरो स्वरुप
ताकि पुरानै लयमा फर्कियोस् मेरो यौवन ।५।
तिलोत्तमा, रूपन्देही
(कञ्चन गाउँ पालिका -१, दानापुरस्थित गजेडी ताल संरक्षणको पर्खाइमा रहेको एउटा प्रतिनिधि ताल मात्र हो। यस्ता थुप्रै जलाधार क्षेत्रहरूले संरक्षण र सम्बर्द्धनको अभावमा आफ्नो अस्तित्व गुमाएका छन्। यिनीहरूलाई जोगाउन सके जैविक विविधता संरक्षणमा टेवा पुग्न सक्छ। समयमै सबै सरोकारवालाको ध्यान पुगोस् ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

