हरेक बर्षझैं फेरि पनि
क्यालेण्डरका पाताहरू पल्टाउँदै
पर्व र उत्सवमा रम्दै रमाउँदै
संक्रान्ति र मसान्तको गणनामै
बिदामा घर फर्किएको परदेशीझैँ
टुप्लुक्क आँगनमा उदाउँदैछ नववर्ष

हजारौं योजनाका पोका बोकेर
आशा र ऊर्जाका आलोक छर्दै
खुसीको सांगीतिक कलरब बनेर
विभीषिकाको विजयोल्लासझैं

उमंगको बहार ल्याउन
हरेक बस्ती दलानमा उदाउँदैछ नव वर्ष

विगतको मीठो स्मृतिसँगै
आगतको स्वर्णिम कल्पनामा डुबाउन
कर्मको गोरेटोमा आशाका फूल फुलाउन
सपनाका वृक्षमा भाग्यका बाला झुलाउन
माइतीको आँगन टेक्दा रमाएको चेलीको मनझैं
ओठमा हर्ष बनेर उदाउँदैछ नववर्ष
रक्तसञ्चारमा नौलो आभा छर्दै
तरुलतिकामा नवीन पालुवा भर्दै
रङ र सुगन्ध फूलका बोटमा मुस्कुराउँदै
सबैका लागि उन्नयनको कामना बनेर
आत्मालोचनासँगै प्रतिबद्धताको बोध गराउन
वार्षिक मुखपत्र बनेर उदाउँदैछ नववर्ष ।

तिलोत्तमा, रुपन्देही