छरपस्ट सपनाको बिस्कुन फिँजाएर

आफ्ना वक्षभरि

गन्तव्यको खोजीमा

लगातार हतार, हतार हिँडाउन

उद्दत बनेका छन् यी सडकहरू ।१।

 

बालकको बालापनलाई माझ्दै

युवाको ऊर्जालाई तिखार्दै

वृद्धको रामभरोसा बनेर साखिंदै

हरेक प्रहर सबैको सहारा बनेर

सबैका लागि सेतो छडी बनेका छन् सडकहरू ।२।

 

आन्दोलनको लप्काले तातेका छन्

पर्व र उत्सवको उन्मादमा मातेका छन्

मस्त तारुण्य जवानी जस्तै

हरेक अफरहरुमा एक्स्पोज हुँदै

गतिशील ऊर्जा बन्न प्रतिबद्ध छन् यी सडकहरू ।३।

 

मौन स्वीकृतिसँगै पहरामा बसेका

यावत् बिम्बहरूलाई रोहवरमा राखेर

आफ्ना माग पूर्तिको विकल्प

निति र थितिको चित्र कोर्ने

राजनैतिक दलको क्यानभास बनेका छन् यी सडकहरू ।४।

 

हरेक कालखण्डलाई भोग्दै

घटना र परिदृश्यहरूको प्रत्यक्षदर्शी बनेर

समय र सन्दर्भसँग खारिँदै

अनवरत, अटुट योगी जस्तै

निष्काम कर्मयोगको अध्याय बनेका छन् यी सडकहरू ।५।

 

तिलोत्तमा, रुपन्देही