सुन फूलाउने हातहरू
नूनको खोजीमा हराएपछि
जून रातभर रोएको छ
भिल्लका देशमा मिल्किएका पारसमणिहरू
छरपष्ट छन् यत्रतत्र सर्वत्र
सोचका पाइलाले किचिएर
माथि उठ्न नसकेको ब्रह्मजस्तो
कागजी खोस्टासँगै
मपाईँत्वको बुर्कुसी मार्नेहरूको भिडमा
हरेक प्रहर
साइनाइडमा अन्त्य हुन्छ एउटा जीवन ।१।
फेरि सरीसृपझैं घस्रँदै
जूनसँगै रोएर सुकेका आँखाहरू
खोज्दछन् एक चिम्टी खुसी
एक अञ्जुली माया र
एक छाकको पेट भराई
तातो बालुवाको लप्कासँगै
सट्टापट्टा गर्दछन्
आफ्ना आकांक्षाहरू ।२।
मौनताको सिन्धुमा कुनै तुफान छैन
न छ नौलोपना
विचार अनि विवेकमा
बयली खेल्न उद्दत छन् तनहरू
आशाको झिनो त्यान्द्रोमा
विना सर्त होमिन्छन् बत्तीका पुतलीझैं
र स्वाहा हुन्छन् रहरहरू
खाडी र साडीसँगै अनेकन बहानामा।३।
मरूभूमिले चुसेको जवानी
या होस्, पिपासुले लुछेको कहानी
रेमिट्यान्सले धानेको अर्थतन्त्र
कसैको मन्तव्य, न्युजस्टोरी
या टिकटक बन्न सक्छ
आगमन वाह्यगमनको
एयरपोर्टको स्टाटिस्टिक्स र
ब्रेनड्रेनले बतासिएको स्न्यापसट।४।
विडम्वना !
आँशुको रोपेर हाँसो उब्जाइँदैछ
जहर राखेर अमृत खार्न खोजिँदैछ
केवल एउटा दुस्वप्न
र
उत्सर्जी मनोविकार बोकेर
मनोरोगीझैँ
टुलुटुलु नियालिरहेछु देश ।५।
००००
तिलोत्तमा, रुपन्देही
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।