तिमी सानो छँदा
तिम्रा कलिला हातहरूले
कापीका पाना र भित्ताभरि कोरेका
लामा, छोटा र घुमेका रेखाहरूजस्तै
रेखा कोरिएर
ग्राफ कपीजस्तै बन्दा हाम्रो अनुहार
तिमी हामीलाई चिन्छौ हैन ?

तिमीले सानो छँदा
तिम्रा कलिला ओठहरूले
पढ्ने गरेको
बूढो य जस्तै
हाम्रो शरीर बुढिएर
निहुरिएको न जस्तै
कुप्रिएर
जीर्ण र शिथिल हुँदा
तिमी हामीलाई चिन्छौ हैन ?

म तिमीलाई
राप, ताप र प्रकाश दिइरहँदा
म सल्किरहूँ
म पग्लिरहूँ
म जलिरहूँ
म बगिरहूँ
म खिइरहूँ
तर, मलाई खेद छैन
बस्, यति भए पुग्छ
सल्किएर सकिएपछि पनि
दाग मात्र रहँदा अवशेषजस्तै पृष्ठभूमिमा
छैन भन्न मिल्ने उपस्थिति हाम्रो बनिरहँदा
तिमी हामीलाई चिन्छौ हैन?

तिमी,
आकाशको जुन छुन हिँडेको मान्छे
म भुईंमा फूल स्याहार्दै जुन हेरेर रमाएको मान्छे
चुम्बकका दुई ध्रुवजस्तै
आकाश र धर्ती बनेका हामी दुई
खै, अब हाम्रो भेट कहिल्यै नहुने पो हो कि !
तर,
आकाश छोएर फर्कियौ भने
एक अँजुली अमृत ल्याउन नबिर्सनु
सुनेको छु,
अमृतको एक बुँद पिउँदा पनि
विस्मृतिका सबै कुरा स्मृतिमा आउँछन् रे !
हामी दुवै सँगै बसेर पिउँला
एकएक घुँट अमृत
रमाउँला फ्ल्यासब्याकमा
र, जिउँला एक मिठो जिन्दगी
तर,
तिमीले अमृत लिएर आउने समयमा
मसँग आइपुग्ने बाटो त चिन्छौ हैन ?
परिवर्तन पनि परिवर्तन भइसक्दा
तिमी हामीलाई चिन्छौ हैन ?

००० ०००

तिलोत्तमा, रुपन्देही