छिचोल्दै त्यो घना जङ्गल
एकान्तमा पुगेपछि
जब भेटाउँछे उसले
एउटा सुन्दर र सुरक्षित डालो
अनि सिँगार्न थाल्छे
ममताको संसार
बटुलेर
पिरतीका झिँजा

वात्सल्यका घुर्यान

ऊ मातृत्वको रङ्गमा रङ्गिन चाहन्छे
जहाँ
उसले अनुभूत गर्न सक्छे
बिछट्ट मखमली स्वर्ग
र पर्खिरहन्छे
स्वर्णिम बिहानीको नौलो उज्यालो
जून पर्खाइको अँध्यारोपछि
कुना र चरहरूबाट गिज्याई रहन्छ
र छर्दछ एक अँजुली खुसी

अब ऊ,
पुलकित छे र प्रफुल्ल हुन्छे
चन्चल छे र चलायमान बन्छे
मग्न छे र बेफिक्रि हुन्छे
मनभरि उडाई रहन्छे काउकुतीका पुतलीहरू

जब दह्रिन्छन्
बचेराका खुट्टा र पखेटा
जुध्न सक्ने हुन्छन् छाती
र चारा टिप्न सक्ने बन्छ चुच्चो
अनि बचेरालाई
चिन्न सिकाउँछे आफ्ना र पराया बीचको फरक
जुध्न सिकाउँछे हावा ,पानी ,घाम र हुण्डरीसँग
हिँड्न सिकाउँछे अक्करे भिरमा
रम्न सिकाउँछे गुराँसको सौन्दर्यमा
उड्न सिकाउँछे अनन्त आकाशमा

ठुला भई सकेका छन् बचेरा
अब यिनीहरू
चाहन्छन् धँगेरोका फूल चुम्न
फट्फटाएर पखेटा चाहन्छन् रम्न

खोज्दै रेशमी वैभव
चाहन्छन् आफ्नै पङ्खले उडान भर्न
पुग्दछन् दूर क्षितिज

जहाँ हृदयभरि रोपिएको थियो वात्सल्यको बीज
जहाँ लुकामारी खेल्थे सुख र दुःख
जहाँ बिसाएर खुसी भालेका छातीभरि
रमाउने गर्थी पोथी
आजभोलि त्यो ठाउँ, त्यो रुख र त्यो डालो सुनसान छ
एक्लो छ र अँध्यारो छ
त्यो बुढो रुख कल्याङ्मल्याङ् सुन्न नपाएर आत्तिएको छ
जोडी माउ चरा
गोधुलीमा बाटो हेरिरहन्छन् परदेशीएका आफ्ना बचेरा

रङ्गहिन मुस्कानसहित
आँखामा कसिङ्गर परेको
गरिरहेछन् जीवन्त अभिनय
मान्छे जस्तै चराहरू ।

तिलोत्तमा, रुपन्देही