गुरु हुन् गुणका खानी
ब्रह्मा, विष्णु, महेश्वर
गुरुहुन् मैन झैं त्यागी
झल्को दिन्छन् बराबर ।१।
गुरु हुन् जगका माली
सुन्दर फूल फुलाउँछन्
गुरुहुन् स्वप्नद्रष्टा ती
सुनौलो विश्व देखाउँछन् ।२।
गुरु हुन् सितलु छाँया
वट वृक्षको झैं सुन्दर
गुरु हुन् ज्ञानका सिन्धु
बाँड्छन् ज्ञान बराबर ।३।
गुरु हुन् सतका मार्गी
असल मार्ग हिंडाउँछन्
गुरु हुन् प्रेमका सागर
निश्चल प्रेम बर्साउँछन् ।४।
गुरु हुन् नदि झैं वेग
जीवन गति प्रदायक
गुरु हुन् सृजना कल्प
बन्दछ जीवन लायक ।५।
गुरु हुन् यि शैल श्रेणी
हुन् विश्वासका साधक
गुरु हुन् तेजस्वी योगी
हुन् दुराचारका बाधक ।६।
गुरु हुन् शान्तिका ध्वनी
मानवताका हिमायती
गुरु हुन् कर्मले माझी
दिन्छन् जीवनको गति ।७।
पुरा गर्न सक्छौं जब
गुरुका यि स्वप्न दर्शन
अनि मात्र होला पूर्ण
अमूल्य हाम्रो जीवन ।८।
तिलोत्तमा, रुपन्देही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला