सन्तापको आगोमा
कठ्यांग्रिएको तनसँगै
एकजोडा हातहरू
सपनाको सेकुवा पोल्दै छन्
र, गरेका छन्
बिक्री खुला
सबैका लागि
अनेकौँ अफरहरूसँगै

नून र उनको जोहो गर्न
हरेक बिहान, हरेक साँझ
घट्टझैँ घोटिइरहेका छन्
दिनझैँ छोट्टिइरहेका छन्
अश्वमेघ यज्ञपछि छाडेका
बिनालगामका घोडाहरूझैँ
मन, मस्तिष्क असन्तुलित बनाएर
लागिपरेका छन् निष्काम कर्मयोगको अध्यायमा

चुक घोप्टिएको रातमा
सकुनीको छलमा लट्ठिएका पाण्डवहरूझैँ
भवभावको राग अलाप्दै
हरेक प्रहर तमासे बन्छन् द्रौपदीको चिरहरणको
र,
भजिरहन्छन् कलियुगको नवगीता आधुनिक सञ्जयहरू

समय र परिवेश बदलिएको छ
रूप र यौवन फेरिएको छ
केशको सुन्दरता हराएको छ
अनुहारमा चमक डराएको छ
ती कसिला हातहरू
हिजोआज
सेकुवा पोल्ने झिरझैँ सुकेका छन्
तर पनि
ओठको हिसी हराएको छैन
क्रेताको पर्खाइमा बसेका विक्रेताझैँ
हरेक प्रहर दन्तविहीन मुस्कानसँगै
उज्यालो कुरिरहछन्
एकजोडा आँखाहरू ।

तिलोत्तमा, रुपन्देही