‘एकलव्य दृष्टि’ रवीन्द्र समीरद्वारा लिखित लघुकथासंग्रह हो । यसमा करीब ८२ वटा लघुकथा छन् । फाइन प्रिन्टबाट प्रकाशित यसको दोस्रो संस्करण २०७२ सालमा प्रकाशित भएको थियो ।

लघुकथा दुई शब्द लघु र कथाबाट मिलेर बनेको शब्द हो । जहाँ लघु भनेको छोटो हो र कथा भनेको कहानी हो । समग्रमा भन्नुपर्दा लघुकथा भनेको छोटो कथा नै हो ।

यसभन्दा अगाडि कहिले लघुकथा नपढेको हुनाले मलाई लघुकथा भनेको के हो ? यसमा र सामान्य कथामा के अन्तर छ ? यो मलाई रोचक लाग्छ होला र भन्ने जिज्ञासा मेरो मनमा थियो । बुझ्दैजाँदा अङ्ग्रेजीको शर्ट सटोरी लेखनबाट नेपालतिर आएको रहेछ । नेपाली साहित्यमा लघुकथाको विषयमा अनेकौँ परिभाषाहरू छन् ।

कथा लघुकथामा गनिनका लागि छोटो मात्रै भएर पनि हुँदैन । लघुकथा छोटो भए पनि यो एउटा पूरा कथा नै हो । यसभित्र आदि, मध्य र अन्त्य हुनुपर्छ । लघुकथा के हो थाहा नपाउँदै पढें अगाडिका एकदुई कथा । त्यस बेला यो मलाई चुट्किला सङ्ग्रह जस्तो पनि लागेको थियो । तर लघुकथा भनेको चुट्किला होइन रहेछ । चुट्किला मनोरञ्जनका लागि मात्र हुन्छ भने लघुकथा अन्य कथाहरू जस्तै एउटा सन्देश लिएर आएको हुन्छ । जुन धेरैजसो सामाजिक कुरालाई सुधार गर्न लेखिएको हुन्छ ।

लघुकथा कथा जस्तै यसमा कथावस्तु, पात्रहरू र ती पात्रहरूको आआफ्नो चरित्र परिवेश आवश्यक पर्दो रहेछ । जुन यस किताबमा धेरैजसो डाक्टरको देखिने गरिएको छ । भाषाशैली र प्रस्तुति पनि मीठो र आकर्षक हुनुपर्छ ।

तीन भागमा भाँडिएको लघुकथाको आदि भाग जहाँ कथा के को बारेमा छ, पात्रको चरित्रको उठान सामान्य बुझाउन सक्ने हुनुपर्दछ ।

मध्यभाग जसले पाठकको उत्सुकतालाई विशेष ध्यान दिएर क्लाइमेक्स खडा गर्नुपर्छ । अन्त्य लघुकथा टुङ्ग्याउनी जुन महत्त्वपूर्ण भाग हो र यसमा लघुकथाले दिन चाहेको सन्देश पनि समावेश हुनुपर्छ ।

हास्यव्यङ्ग्य निबन्ध जस्तै लघुकथा पनि सामाजिक रूपमा केही बदलाव ल्याउन लेखिने रहेछ । यस किताबका लेखक डाक्टर भएकाले यस किताबमा धेरैजसो कथाहरू डाक्टरकै वरिपरि घुमेको देखिन्छ । डाक्टर सम्बन्धी कथा भएकाले हामी तथा बिरामीहरूलाई डाक्टरहरूले के कसरी हेर्छन्, बुझ्छन् र अनुभव गर्छन् भन्ने डाक्टरहरूको दृष्टिकोण बुझ्न सकिन्छ । बिरामीप्रतिको डाक्टरको मनोभाव झल्केको छ समावेश लघुकथाहरूमा । यसमा भएका ७८ वटा लघुकथाले आआफ्नै फरक किसिमका सन्देश बोकेका छन् । जसका कारणले यो पुस्तक पढ्दा कथावस्तु, पात्र र सन्देश दोहोरिइरहेको महसूस हुँदैन र हरेक पाठ आफूमा फरक भएको जस्तो लाग्नेछ । हरेक कथा एकदेखि दुई पेजमै सीमित भएकोले कथामा एकदेखि दुई घटना छिटोछिटो हुने र छिटै सकिने भएकाले कथा पढ्दा अल्छी पनि लाग्दैन । मलाई उपन्यास भन्दा पनि लघुकथामा धेरै रमाइलो अनुभव भयो ।

पढ्दैगर्दा मैले महसूस गरेका  कुराहरू भनेको लघुकथामा कविता र निबन्ध जस्तो ठेट नेपाली शब्दहरूको खासै प्रयोग देखिएन जसले म जस्तो नेपाली कमजोर भएको विद्यार्थीलाई पढ्न र बुझ्नलाई एकदमै सजिलो बनाएको थियो । अरूको सहयोग बिना पनि मैले सजिलैसँग हरेक कथा बुझेको थिएँ शायद यस संग्रहका लेखक समीरको मीठो, सरल र प्रष्ट भाषाशैलीको कारणले पनि हो ।

‘एकलव्य दृष्टि’को अर्को राम्रो पक्ष नयाँ पात्रहरूको नयाँ चरित्रचित्रण जुन हामीले हाम्रा समाजमा भेट्न सक्छौं । डाक्टरहरूको कथा सँगसँगै अन्य धेरै परिवेशका धेरै विषयका धेरै पात्रहरूका कथाका कारणले लघुकथा संग्रह पठनीय देखिएको छ ।

अन्त्यमा भन्नुपर्दा ‘एकलव्य दृष्टि’ पढेपछि पुस्तकबाट हुने मनोरञ्जन र कथाहरूले दिने सन्देशका साथसाथै लघुकथा भनेको के हो, अरू कथाभन्दा के अन्तर हुन्छ, यो चुट्किला किन होइन जस्ता धेरै ज्ञान प्राप्त भयो । जसले गर्दा म जस्ता पुस्तक धेरै नपढेको मान्छेलाई यो पुस्तक पढ्ने बेला पुस्तकको मात्र ज्ञान नभई अरू कुरामा पनि ज्ञान हुन्छ भन्ने मेरो विश्वास छ । त्यसैले मैले यो पुस्तक सबैलाई पढ्न सुझाव दिन्छु । किनभने यसमा उपन्यास पढे जस्तो धेरै समय चाहिंदैन । थोरै समयमा पनि धेरै कुरा एकैपटक सिकाउँछ । सोच्न लाउँछ । र हामीलाई नैतिकवान् बन्न प्रेरित गर्छ ।

कथाकार रवीन्द्र समीरलाई हार्दिक बधाई । यस्तै नयाँ संग्रहको पर्खाइमा म !