काठमाडौं । उपन्यासकार शुकदेव उपाध्यायको दोस्रो उपन्यास ‘ऐँजेरु’ को शनिबार साहित्य सदनमा लोकार्पण गरिएको छ।
नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा पत्रकार रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही ब्यास, चन्द्रप्रसाद भट्टराई, माधवप्रसाद गौतम लगायतले उपन्यासको लोकार्पण गर्नुभएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले उपन्यासले समाजको यथार्थलाई सजीव रूपमा प्रस्तुत गरेको बताउनुभयाे । उहाँले ‘ऐँजेरु’ जस्ता पात्रहरू समाजमा सर्वत्र पाइने उल्लेख गर्दै उपन्यासले पश्चिम नेपालको भौगोलिक परिवेशलाई पनि मार्मिक रूपमा चित्रण गरेको धारणा राख्नुभयाे।
साहित्यकार भट्टराईले उपन्यासका पात्रहरूको संवाद शैलीलाई प्रशंसा गर्दै कथावस्तुलाई शान्त र सलल बगेको जस्तो वर्णन गर्नुभयाे । उहाँले पात्रहरूको जीवन्त चरित्र चित्रण र पश्चिम नेपालको कथा समेटिएको यो कृति पठनीय रहेको बताउनुभयाे ।
नियात्राकार ब्यासले उपन्यासको कथानक यथार्थमा आधारित रहेको बताउँदै यो विषयमा उपाध्यायले नलेखेको भए आफूले लेख्ने धारणा राख्नुभयाे । उहाँले उपन्यास पढेर आफू भावुक भएको समेत बताउनुभयाे ।
सभाध्यक्ष एवम् नेपाल स्रष्टा समाजका अध्यक्ष रोदनले उपन्यासकार उपाध्यायले आफ्नो ७१ औँ जन्मदिनको अवसरमा कृति सार्वजनिक गर्नु उदाहरणीय कार्य भएको बताउनुभयाे । उहाँले ‘केक काटेर जन्मदिन मनाउनु र कृति सार्वजनिक गरेर जन्मदिन मनाउनुमा आकाश पातालको फरक छ’ भन्दै थोरै समयमा साहित्यमा परिचित हुन सफल उपाध्यायलाई बधाई दिनुभयाे ।
कार्यक्रममा डा. शान्तिमाया गिरीले लेखकको व्यक्तित्वमाथि प्रकाश पार्थिनुभएकाे थियाे भने उपन्यासकारका गुरु गौतम र उपाध्याय आफैले पनि मन्तव्य राख्नुभएकाे थियाे । स्रष्टा समाजकाे सदस्य प्रदीप सापकोटाले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे, कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

रोचक घिमिरेलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान
