काठमाडौँ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत नियमित रूपमा सञ्चालन हुँदै आएको मासिक कथावाचन कार्यक्रमको उनान्तीसौँ श्रृङ्खला डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ । २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको उक्त कार्यक्रम यसपटक पनि साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुवात दिवंगत स्रष्टा गोविन्दबहादुर मल्ल ‘गोठाले’को सम्झनामा उहाँको तस्वीरमा माल्यार्पण गर्दै ‘औंठी’ शीर्षकको कथा वाचनबाट गरिएको थियो । उक्त कथा शारदा मासिक (वर्ष ९, सङ्ख्या ९, १९९९ पुस) मा प्रकाशित भएको थियो, जसलाई उपन्यासकार शुकदेव उपाध्यायले वाचन गर्नुभयो ।
त्यसपछि विभिन्न दशकका कथाहरू प्रस्तुत गरिएकाे थियाे । २०४० को दशकअन्तर्गत कथाकार योगेन्द्र तिमिल्सिनाले ‘मूल्याङ्कन’ शीर्षकको कथा वाचन गर्नुभयो, जुन गोरखापत्रमा २०४६ सालमा प्रकाशित भएको थियो । २०५० को दशकअन्तर्गत कथाकार अमर प्रधानले आफ्नो ‘सौन्दर्य’ कथा वाचन गर्नुभयो भने २०७० को दशकअन्तर्गत कथाकार बिन्दु अधिकारी ढकालले ‘समयको छुरा’ शीर्षकको कथा प्रस्तुत गर्नुभयो ।
कथावाचनपश्चात् स्रोताहरूले कथामाथि जिज्ञासा राख्दै प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो । बैरागी जेठा, प्रकाशकुमार अर्याल, चोकबहादुर दाहाल, सुमन अर्याललगायतले प्रश्न राख्नुभएकाे थियाे भने कथाकारहरूले त्यसको उत्तर दिनुभएकाे थियाे । प्रत्यक्ष प्रतिक्रिया र संवादले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
कार्यक्रमको प्रारम्भमा पुनर्जागरण अभियानका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथासाहित्यको विकासक्रमबारे चर्चा गर्दै आधुनिकता, बौद्धिकता र विश्वसाहित्यसँगको सम्बन्धबारे गम्भीर चिन्तन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाली विषयमा अध्ययन गर्नेहरूमा आधुनिक भाषागत पहुँचको कमीका कारण पाठ्यक्रममा अपेक्षित परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रमको समापनमा अर्का परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले कथावाचनमार्फत विभिन्न कालखण्डका कथा र कथाकारहरूबीच सेतु निर्माण भएको उल्लेख गर्दै यसले नयाँ पुस्तालाई अध्ययन र सिर्जनामा प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उपन्यासकार शुकदेव उपाध्यायले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्रष्टा पुष्कर लोहनीको ८८औँ जन्मदिनसमेत मनाइएको थियो । कार्यक्रम सधैंझैं डिल्लीबजारस्थित पुष्कर लोहनीको निवासमा सम्पन्न भएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










