उपन्यासकार शुकदेव उपाध्यायकाे उपन्यास लिखित ‘भर्चुअल लभ’ (अलौकिक प्रेम) को लोकार्पण भएको छ । उपन्यास समाज नेपालको आयोजनामा समाजका अध्यक्ष शङ्कर भारतीको सभापतित्व तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अतिथिहरू नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’, संरक्षक पवन आलोक तथा समालोचक ज्ञानु अधिकारी तथा लेखक विजय चालिसेलगायतको उपस्थिति रहेको थियो।
तारागाउँ नेक्स्ट म्यूजियम, हयात रिजेन्सीमा भएको सो कार्यक्रममा दुई चरणमा पुस्तकको लोकार्पण गरिएको थियो।
पहिलो चरणको लोकार्पण प्रमुख अतिथि घिमिरेले टेबलमाथि छोपिराखेको पुस्तकलाई कपडा हटाएर गरेका थिए पनि दोस्रो चरणमा मञ्चमा आसीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा गरिएको थियो।
प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले जीवनको उत्तरार्धमा आएर उपन्यास लेखेर प्रकाशनमा ल्याउन सक्नु नै प्रशंसनीय कार्य रहेको बताउँदै लेखकलाई हार्दिक बधाई तथा शुभकामना दिएका थिए। पाण्डुलिपि पढेर नै आफू प्रभावित भएको र उपन्यासमा रहेको विषयवस्तु पठनीय रहेको बताउँदै पुस्तकमा आफूले भूमिका समेत लेखिदिएको बताएका थिए।
सभापतिको आसनबाट बोल्दै उपन्यासकार शङ्कर भारतीले उपन्यास समाज नेपालको निम्तोलाई स्वीकार गरेर उपस्थित हुने सबैमा हार्दिक बधाई दिनुका साथै लेखकको कृतिमाथि संक्षिप्त टिप्पणी समेत गरेका थिए।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,संरक्षक पवन आलोक,पत्रकार तथा लेखक विजय चालिसे तथा प्रेस काउन्सिलका पूर्व सदस्य चेतनाथ धमलाले शुभकामना मन्तव्य राखेका थिए।
लोकार्पित उपन्यास’भर्चुअल लभ’ (अलौकिक प्रेम) माथि बोल्दै समालोचक ज्ञानु अधिकारीले आफ्नो संक्षिप्त समीक्षात्मक टिप्पणी राख्दै पाँच वर्षको उमेरदेखि सत्तरी वर्षको उमेरसम्ममा गरिएको प्रेम प्रसङ्ग उठाएकी थिइन् । उपन्यासभित्र आदर्श प्रेम रहेको,सम्वाद मीठो रहेको र विषयवस्तु सुरुचिपूर्ण रहेको कुरा बताइन्।साथै,उनले तराईको परिवेशमा लेखिएको उपन्यास रोचक तथा पठनीय रहेको कुरा पनि बताएकी थिइन् ।
कार्यक्रममा आफ्नो लेखकीय मन्तव्य राख्दै उपन्यासकार उपाध्यायले सत्तरी वर्षको उमेरमा जन्माएको आफ्नो सन्तानको रूपमा रहेको कृतिको न्वारनमा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका थिए।
मन्तव्यका क्रममा उनले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पार्दै पुरातन सोच अनुसार निस्वार्थ प्रेम तथा वर्तमान सोच अनुसार टाढा रहेका प्रेमी प्रेमिका बीच सञ्चारका अत्याधुनिक साधनद्वारा नजीक रहेर गरिने प्रेमको प्रसङ्ग उठाएका थिए।
इतिहासका प्राध्यापक लेखक उपाध्यायको यो पहिलो कृति हो भने यस अघि उनका विभिन्न साहित्यिक रचनाहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित भइसकेका छन्।
आजै उनको ७० औँ जन्मोत्सव परेको अवसरमा यो पहिलो कृति लोकार्पण भएको हो। कार्यक्रममा सहभागी सबैको तर्फबाट जन्मोत्सवको शुभकामना तथा कृति प्रकाशनका लागि बधाई पनि दिइएको थियो। उनी नेपाल बैंक लिमिटेडका पूर्व अधिकृत कर्मचारी पनि हुन्।
कार्यक्रममा उपन्यास समाज नेपालका सदस्य विष्णुबहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए भने समाजका सदस्य चेतनपथ माधवले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको सञ्चालन कपन वानेश्वर साहित्यिक पत्रिकाका प्रधान सम्पादक निबन्ध आचार्यले गरेका थिए।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।