काठमाडौँ । नेपालको सबैभन्दा जेठो पत्रकारिता ‘साहित्यिक पत्रकारिता’ले भाषा र साहित्यको क्षेत्रमा पु-याएको दीर्घ योगदानको सम्मान गर्ने उद्देश्यले दुई पुरस्कारकाे स्थापना गरेकाे छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकबाट पहिलोपटक ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार ‘ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’को स्थापना गरेको हो ।
पुरस्कार स्थापनासँगै बैठकले पहिलो वर्षका लागि ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बाेधन गर्दै प्रज्ञा-प्रतिष्ठानका कुलपति राई भने, “साहित्यिक पत्रकारिता भनेको सम्पूर्ण भाषासेवी र स्रष्टाहरूको बौद्धिक उत्पादनशाला हो । यो सबै तहतप्काको प्राज्ञिक खुराक हो । यसले प्राज्ञिक र सांस्कृतिक सत्ताको क्षेत्रमा सर्वोपरि भूमिका वहन गर्न सक्नुपर्छ ।”
सातदशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका रोचक घिमिरेले २०१८ साल जेष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए ।
त्यस्तै, पाँच दशकदेखि साहित्यिक पत्रकारितामा समर्पित रूक्मिनी श्रेष्ठ नेपालभाषामा २००८ साल वैशाखदेखि प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालमा आबद्ध रहेकी थिइन् । त्यसपछि उनी ‘थौंकन्हे’को सम्पादक तथा प्रकाशक रहँदै आएकी छन् ।
यी दुवै पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार ) रुपैयाँ रहेको छ ।
उक्त पुरस्कार २०८० साल पुस २९ गते आइतवार दिनको ठिक १.०० बजे नेपाल प्रज्ञा-प्रतिष्ठानमा एक समारोहको आयोजना गरी प्रदान गरिने जानकारी नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले दिएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।