डिजी शर्मा, झापा ।
‘गीत हौ तिमी, गीत म पनि, गीतमा भेटौँला
चिताए जति पुर्याएपछि चितामा भेटौँला
कथामा कहिल्यै छुट्दैनौँ हामी, कथामा भेटौँला’।।।
चर्चित कवि नवराज पराजुलीले पहिलो पटक छन्दमा लेखेको ‘कथामा भेटौँला’ शीर्षकको कविताको एक अंश हो यो । झापाको बिर्तामोडमा बिहीबार साँझ सम्पन्न कविता कन्सर्टमा कवि पराजुलीले झ्याउरे छन्दमा लेखेको सो कविता पहिलो पटक सुनाउनु भएको थियो ।
सो कविता चाँडै नै उहाँको आफ्नो युट्युब च्यानलमा पनि अपलोड गरिने कवि पराजुलीले जानकारी गराउनुभयो । त्यसका लागि कार्यक्रममा उपस्थित कविता प्रेमीहरुको समेत सहभागीता रहने गरी सो कविताको प्रत्यक्ष वाचनको भिडियो छायाङ्कन गरिएको थियो ।
कवि पराजुलीका अन्य कविता कन्सर्टहरुभन्दा फरक ढङ्गले सम्पन्न सो कार्यक्रममा अग्रिम बुकिङ मार्फत ५५ जनाको मात्र उपस्थित रहने व्यवस्था मिलाइएको थियो ।
बिर्तामोडस्थित “The Brewed Book Cafe” को आयोजना र “Feel Entertainment House” को व्यवस्थापनमा सम्पन्न कार्यक्रममा उहाँले ध्यान, बामपन्थी लभ, उसको हुनु, एक्लो, जुलपी, हेप्पी वर्थडे जस्ता आफ्ना चर्चित कविताहरु सुनाउनु भएको थियो ।
कार्यक्रममा विशेष पाहुनाको रुपमा रहनुभएका गायक पुष्पन प्रधानले कवि पराजुलीकै कविता गाएर कार्यक्रमको शुरुवात गर्नुभएको थियो ।
फरक ढङ्गले आयोजना गर्न खोजिएको र यो कार्यक्रम सफल भएकोले भोलिका दिनमा पनि यस किसिमको कार्यक्रम आयोजना गर्न सकिने कार्यक्रम संयोजक सुनिता तामाङले बताउनुभयो ।
साहित्यपोस्ट मिडिया पार्टनर रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका वार्ड नं. ३ र ४ सहित ब्रिज इन्टरनेशनल बिर्तामोड, भ्याल्ली एग्रो फुड प्रा. ली., एम बि मिसन बिर्तामोड, द स्यान्डविच पोइन्ट बिर्तामोड लगायतको सहयोग रहेको थियो । कार्यक्रममा मिडिया पार्टनर सहित सहयोगी संस्थाहरुलाई आयोजकको तर्फबाट प्रशंसा(पत्र प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।