डिजी शर्मा, युएई । चार दशकदेखि विशेष गरी गीत लेखनमा सक्रिय रहँदै आउनु भएका गीतकार टीका चाम्लिङ यतिबेला भने क्यान्सरबाट ग्रसित हुनुभएको छ ।
५० वर्षीय गीतकार चाम्लिङलाई पछिल्लो दुई हप्तादेखि नाक कान घाँटीको बीच भाग (ENT Center) मा क्यान्सर भएको चिकित्सकले बताएका छन् । ललितपुरस्थित हरिसिद्धि क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहेको छ ।
क्यान्सरका कारण अहिले उहाँ स्पष्ट देख्न र बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ । अवस्था गम्भीर भए पनि नियमित उपचारपश्चात् स्वास्थ्यमा सुधार हुन सक्ने चिकित्सकलाई उद्धृत गर्दै खोटाङ कलाकार समाजका अध्यक्ष रुप कुमार राईले बताउनु भयो ।
साहित्यपोस्टसँग कुराकानी गर्दै अध्यक्ष राईले पहिलो चरणको किमो थेरापी सकियो र थप उपचार भइरहेको जानकारी गराउनु भयो । उपचारका लागि आर्थिक अभाव देखिएकोले खोटाङ कलाकार समाजले गीतकार चाम्लिङको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । उहाँको उपचारमा सहयोग गरिदिन समाजले सम्बन्धित सबैमा अपिल समेत गरेको छ ।
त्यसैगरी युएईबाट कवि/चित्रकार तथा “साहित्यवार्ता : स्रष्टा र सिर्जना” का संयोजक जीवित खड्का मगरको संयोजकत्वमा पनि गीतकार चाम्लिङको उपचारार्थ आर्थिक सहयोग संकलन कार्य भइरहेको छ ।
२०३० साल माघ ४ गते खोटाङको दिक्तेलमा जन्मनु भएका गीतकार चाम्लिङ लामो समयदेखि काठमाडौं स्थित वानेश्वरमा बस्दै आउनु भएको छ । गीतकार चाम्लिङका बुबा रोजबहादुर राई पनि लामो समयदेखि क्यान्सरबाट ग्रसित भएर थलिनु भएको छ । उहाँकी आमा दीलकुमारी राईको भने निधन भइकेको छ ।
२०४३ सालबाट कवितामार्फत साहित्यिक यात्रा प्रारम्भ गरे पनि ४० को दशकको उत्तरार्द्ध कालबाट भने उहाँले एकोहोरो रुपमा करिब एक दशकसम्म केवल गीत लेखनलाई मात्र प्राथमिकतामा राख्नुभयो ।
६० को दशकबाट कविता लेखनको यात्रा पुन: सुरु गर्नु भएका गीतकार चाम्लिङले पछिल्लो समय यात्रा संस्मरणमा पनि कलम चलाउँदै आउनु भएको थियो ।
साहित्य लेखनलाई नै पूर्णकालिन पेशा बनाउँदै आउनु भएका गीतकार चाम्लिङ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य समेत हुनुहुन्छ । उहाँका हालसम्म तीन ओटा गीति एल्बम र चार ओटा गीत सङ्ग्रह गरी ७ ओटा कृति प्रकाशित छन् । उहाँद्वरा रचित दुई समय भन्दा धेरै गीतहरु विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छ्न् ।
गीतकार चाम्लिङको उपचारार्थ सहयोग गर्न चाहने सहयोगी मनहरुले तल उल्लेखित बैँक खातामा सिधै रकम जम्म गर्न सकिने जनाइएको छ । गीतकार चाम्लिङको उपचारमा आर्थिक सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गर्दै साहित्यपोस्ट परिवार उहाँको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछ ।
बैङ्क : राष्ट्रिय वाणिज्य बैङ्क
खाता वालाको नाम : खोटाङ कलाकार समाज
खाता नम्बर : 1420100005975001
सहजताको लागि सम्पर्क नम्बरहरु :
रुप कुमार राई – 9851008125
पार्वन राई – 9841023029



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










