सामान्यतया कविता लेखिसकेपछि त्यसको शीर्षक राखिन्छ, जसले सम्पूर्ण कविताको प्रतिनिधित्व गर्छ । अपवादलाई छोड्ने हो भने हरेक कविताका आ-आफ्ना शीर्षक हुन्छन् । कहिलेकाहीँ एउटै शीर्षकमा थुप्रै कविताहरू पनि लेखिन्छन् । सामान्यतया कविताले पूर्ण आकार पाइसकेपछि त्यसको न्वारान गर्नुलाई प्राय: कविले आफ्नो कर्तव्य ठान्छन् । कहिलेकाहीँ फेरि पहिले नै शीर्षक तय गरेर कविता पछि लेखिन्छन् ।

नवीन प्राचीन

नवीन प्राचीन

तर नेपाली कविहरूको भिडमा केही यस्ता पनि कवि छन्, जसलाई आफ्ना कविताको शीर्षक राख्न गाह्रो लाग्छ । त्यसका पछाडि अनेक कारण होलान्, तर शीर्षक बिनाकै कविताहरू बजारमा आइपुग्छन् । ती मध्ये एक हुन कवि नवीन प्राचीन । शीर्षकले कविताको आयतन घटाइदिन्छ भन्ने उहाँको मान्यता रहेको छ । तर शीर्षक नभए पनि उहाँका कविता सुन्दर छन्, यसमा चाहिँ शङ्का गर्ने ठाउँ छैन ।

पहिलो कविता सङ्ग्रह निकाल्ने बेला पनि उहाँले कृति बजारमा ल्याउने पक्का भएपछि मात्रै थुप्रै कविताहरूको शीर्षक जुराउनु भएको रहेछ । कवि प्राचीनको पहिलो कविता सङ्ग्रह “उभिएर एक्लै” हो । जुन २०७३ सालमा प्रकाशन भएको थियो । पहिलो सन्तान जन्माएपछि दोस्रो सन्तान कवि वर्षको फरकमा जन्माउनु पर्छ भन्ने ठोस नियम कानुन साहित्यमा हुँदैन/छैन र नहोस् पनि ।

त्यसैले होला कवि प्राचीनले दोस्रो कविता सङ्ग्रह “प्वाँख”  ६ वर्षपछि अर्थात् २०७९ सालमा बजारमा लिएर आउनु भयो । जसमा लामा छोटा गरेर ८७ ओटा शीर्षक बिनाका कविताहरू अँटाएका छन् । कविताको शीर्षकको कुरा सुरुमै किन निकालेको होला ? भन्ने लाग्न सक्छ । भूमिका बाँध्ने अरू कुनै तरिका नआएपछि यसैबाट सुरु गरेको हुँ । फरकपनको नाममा कहिलेकाहीँ यस्तो पनि गर्न पर्छ ।

कवि प्राचीन सामान्यतया छोटा आकारका कविता लेख्न रुचाउनु हुन्छ । “कविता भनेपछि लामो-छोटो भन्ने हुँदैन, कविता भनेपछि सकियो” भनेर यस्तो धारणा बनाउने कविहरू पनि थुप्रै हुनुहुन्छ उसो त । यदि छोटा कवितालाई छोटो भन्दा कविताको अपमान गरे जस्तो लाग्छ भने कवि/समालोचक महेश पौड्यालको भाषा सापटी लिन सकिन्छ – सूक्ष्म कविता ।

हुन त कविता लामा छन् कि छोटा छन् भन्नुभन्दा पनि कविले कवितामार्फत भन्न खोजेको कुरा चाहिँ आएको छ कि छैन ? त्यो महत्त्वपूर्ण हुन्छ भन्ने मान्छे फेरि म आफैं पनि हो । जुन कुरा कवि प्राचीनका कविताहरूमा मज्जाले पाउन सकिन्छ । सूक्ष्म भइकन पनि हरेक कविता आफैँमा पूर्ण छन् उहाँका कविताहरू । नपत्याए उहाँका कविताहरू पढ्न सक्नु हुन्छ । कविता बाहेक उहाँ गजल, कथा र लेखमाथि पनि कलम चलाउने गर्नु हुन्छ ।

कवि प्राचीन पढाइ र रोजगारीको सिलसिलामा पछिल्लो ५ वर्षदेखि क्यानडामा हुनुहुन्छ । व्यस्त दैनिकीका बाबजुद पनि उहाँ साहित्य लेखन र साहित्यिक गतिविधिमा सक्रिय हुनुहुन्छ । यो चाहिँ ठुलो कुरा हो । उहाँको मूल थलो झापा हो । २०४७ साल असोज ८ गते झापाको गौरीगञ्जमा जन्मनु भएका कवि प्राचीन माता कान्ता मिश्र र पिता कृष्ण प्रसाद मिश्रका दोस्रो सन्तान हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।

उहाँ दमक क्याम्पस साहित्यिक मञ्च, कदम थिएटर, यूथ नेटवर्क, समास फाउन्डेसन लगायत संघ संस्थामा आबद्ध भएर साहित्यिक कर्ममा सक्रिय हुनुहुन्छ । २०६५ सालमा उहाँले गजल माला पुरस्कार प्राप्त गर्नुभएको थियो । साहित्य लेखनको प्रारम्भ गजलबाट भएको उहाँ बताउनु हुन्छ । स्कुले जीवनबाटै साहित्य सिर्जना गर्दै आउनु भएका कवि प्राचीनको लेखन यात्रा जीवनको गति नरोकिएसम्म चलिरहोस् भन्ने हाम्रो कामना छ । यिनै कवि नवीन प्राचीनसँग २०८० साल कार्तिक २ गते बिहीबार झापाको

दमकमा रहेको कदम थिएटरमा साँझपख  भेट भएको थियो । त्यो हाम्रो पहिलो भेट थियो । कदम थिएटरले आयोजना गरेको “कदम साँझ” ले यो अवसर जुराएको थियो । जहाँ कवि प्राचीनसहित आख्यानकार रमेश सायन, गजलकार लोकेन्द्र बञ्जारा र कवि अनुप न्यौपानेको विशेष प्रस्तुति रहेको थियो ।

प्वाँख

प्वाँख

कविता जस्तै सुन्दर व्यक्तित्वका धनी प्राचीनसँग भेट भएकै दिन उहाँको दोस्रो कविता सङ्ग्रह “प्वाँख” मेरो हात पर्यो । त्यसभित्रका सबै कविता पढेँ । सुन्दर लागे सबै कविता । एकै पटकमा बुझ्न नसकेका केही कवितालाई दोहोर्‍याएर पढेँ । सङ्ग्रह पढिसकेपछि यति सुन्दर कविताहरू लेख्ने कविसँग अन्तर्वार्ता नलिई म कसरी बस्न सक्थेँ होला र ? त्यसपछि अन्तर्वार्ताको मेलोमेसो मिलाएँ  र आज प्रस्तुत गर्न लागिरहेको छु ।

प्रस्तुत छ कवि नवीन प्राचीनको दोस्रो कविता सङ्ग्रह “प्वाँख” र उहाँको लेखनसँग सम्बन्धि रहेर गरिएको कुराकानीको सम्पादित अंशतर्फ !

 

आफ्ना कविताहरूको शीर्षक राख्न गाह्रो मान्ने कवि हो भन्नुहुन्छ आफूलाई । त्यसैले होला दोस्रो कविता सङ्ग्रहभित्रका कुनै पनि कवितामा शीर्षक छैनन् । शीर्षक बिनाका कविताहरूको सङ्ग्रहको नाम चाहिँ “प्वाँख” कसरी जुराउनु भयो ?

– राख्न गाह्रो लागेर मात्रै हैन, शीर्षकले कविताको उडानलाई सीमित पार्छ भन्ने बुझाइले पनि हो शीर्षकप्रतिको अलगाव । प्वाँख नाम चाहिँ कविता जस्तै गरी सहजै पाण्डुलिपिमै आइबस्यो, म यही नामबाट छापिन्छु नि है ? भने जसरी । मैले हुन्छ भनिदिएँ ।

“प्वाँख” बजारमा आएको पनि निक्कै समय भइसक्यो । सङ्ग्रहलाई लिएर बजारबाट पाएका प्रतिक्रियाहरुबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? र के कस्ता प्रतिक्रियाहरू पाउनु भयो ?

– हामी नेपाली लेखक-पाठकहरू प्रतिक्रिया व्यक्त गर्ने मामलामा अलि अल्छी नै छौँ । त्यसमा म पनि पर्छु । मन पर्यो भने पनि एक्लै कुटुकुटु खाने, मन परेन भने साथी, लेखक रिसाउला कि झैँ गरी मौनता साँध्ने र मुस्कान मात्रै साट्ने । प्वाँखमाथि अक्सर प्रतिक्रियाहरू मिश्रित आए ।

केही पाठकहरूलाई कविताको आकार, शीर्षक विहीनता नौलो लागेछ, कतिलाई सहज र सुन्दर । आ-आफ्नो सौन्दर्य चेत, स्वादको आदत लगायतले फरक प्रतिक्रिया हुने नै भए ।

 

पहिलो कविता सङ्ग्रह निस्किएको ६ वर्षपछि दोस्रो कविता सङ्ग्रह लिएर आउँदै गर्दा आफूमा केही सुधार भएको, लेखनमा केही निखार आएको आफैँले चाहिँ महसुस गर्नुभयो कि भएन ?

– मैले पहिलो सङ्ग्रह तयार गर्दैगर्दा लेख्न चाहे जस्ता कविता दोस्रो सङ्ग्रहमा भेला पार्न सकेँ ।

 

तपाईंका प्राय कविताहरूमा कविले भन्न खोजेको खास कुरा सिधा अर्थमा बुझिँदैन । मिलाएर बुझ्नु पर्ने हुन्छ । कविता भनेको अलिक जटिल नै हुनुपर्छ । अलिक भास्ट नै हुनुपर्छ भन्ने मान्यता राख्ने कविहरू थुप्रै हुनुहुन्छ । तपाईंको मान्यता पनि त्यस्तै हो ?

– कवितामाथि कुनै मान्यता बन्नु अघि कविता ‘लेखन’ छुटोस् मेरो |

 

तपाईंको लागि अथवा भनौँ तपाईंको नजरमा चाहिँ कविता के हो ?

– रहस्य हो ।

 

“अरू बेला खुलेर भन्न नसकेका आफ्ना कुराहरू अभिव्यक्त गर्नका लागि सायद म कविता लेखिरहेको छु”  भन्ने खालको आशय यहाँले कतै व्यक्त गर्नुभएको छ । जिन्दगीमा त्यस्ता के के कुरा छन्, जो सिधा भन्न नसकेर कवितामार्फत भन्नु परिरहेको छ ?

– जुन कुरा कवितामा पढिरहनु भएको छ ।

 

एउटा कविले जति बेलै कविता लेख्न सक्दैन । त्यसो हुँदा तपाईंले कविता जन्माउने समय चाहिँ कुन हो ?

– कविताको कुनै समय, साइत, ठेगाना भए त मलाई मारिदिनु ।

 

तपाईंका कविताहरू पढिरहँदा तपाईं अध्यात्मतिर पनि रुचि भएको कवि भन्ने अनुमान लगाउन सकिन्छ । यदि मेरो अनुमान सही छ भने अध्यात्म र कविताको सम्बन्ध कस्तो हुँदो रैछ ? यसले लेखनमा कस्तो किसिमको प्रभाव पार्दो रैछ ?

– कविताको सन्दर्भमा अध्यात्म भन्ने शब्द नै प्रयोग गर्दा पनि कस्तो ठोस धारणा जस्तो सुनिने रहेछ । जे लाई आजसम्म अध्यात्म भनिँदै आइएको छ यदि कसैका लागि त्यो विन्दु सर्वोच्च विन्दु हो भने कविता त्यो भन्दा पनि खर्बौं कोश परको विन्दुबाट तप्कन्छ क्यार ।

 

समकालीन नेपाली युवा कविहरूको भिडमा आफूलाई कहाँ पाउनु हुन्छ ? कविहरूको यो भिडमा आफ्नो अलग्गै पहिचान  निर्माण गर्ने कुरामा आफू कतिको सफल  भएँ भन्ने लाग्छ ?

– यस्तो वाहियात हिसाबकिताब अरू कसैले गरोस् ।

 

वर्तमान समयमा नेपाली कविता लेखनको अवस्था कस्तो देख्नु हुन्छ ?

– सुन्दर ।

 

पढाइ र रोजगारीको सिलसिलामा पछिल्लो ५ वर्षदेखि तपाईं क्यानडामा हुन्छ । व्यस्त दैनिकीको बिचमा आफूभित्रको कविलाई कसरी बचाइराख्नु भएको छ ?

– जे कुरा बचाइराख्नु पर्छ, त्यसको आयु लामो हुन्न । मभित्र कुनै कवि रहेछ र कुनै दिन उसले मलाई बाँच्न गाह्रो भयो, मलाई बचाइदे भन्यो भने म उसलाई मृत्युदण्ड दिनेछु ।

 

हाम्रा लागि त तपाईं एक क्षमतावान् कवि हो । तर प्रवासको त्यो भूमिमा तपाईं “कवि” हो भन्ने कुराले कुनै अर्थ राख्छ कि राख्दैन ?

– कविता उतारुन्जेल सबैतिर राख्छ । कविता उतार्दा बाहेक के को कवि ?

 

तपाईंको नाम नवीन प्राचीन । नवीन अर्थात् नयाँ र प्राचीन अर्थात् पुरानो । एउटै मान्छे नयाँ र पुरानो दुबै कसरी हुन सक्ला ? यो नामका बारेमा केही बताइदिनुस् न ।

– यो नाम यसै ख्यालख्यालमै आइपुगेको हो मसम्म । तर अचेल झन् झन् यो नाम र यी दुई शब्दको हल नारेर म यो सृष्टिदेखिको मेरो अस्तित्वको बाँझो चिर्दै छु,राँटा मेटाउँदै छु ।

म मात्रै हैन, यहाँ हरेक ऊर्जा सृष्टिको प्रथम बिन्दु जत्तिकै पुरानो छ र यी हरफ पढ्दै गर्दा जत्तिकै नयाँ पनि ।

 

जाँदाजाँदै अन्त्यमा केही ?

– तपाईंलाई धन्यवाद ।