डिजी शर्मा

रामप्रसाद कँडेल

नेपालमा नेपाली लोकबाजाको खोज अनुसन्धान तथा सङ्कलन भइरहेको छ र त्यसको संरक्षणका लागि नेपाली लोकबाजा सङ्ग्राहलय पनि खोलिएको छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ अहिले पनि । अथवा भनौँ यो विषयमा कुनै चासो नै नभएको पनि हुन सक्छ धेरैलाई । तर विगत २६ वर्षदेखि एउटा व्यक्ति नेपाली लोकबाजाको खोज अनुसन्धान, सङ्कलन र त्यसको संरक्षणमा दिलोज्यान दिएर निरन्तर लागिरहनु भएको छ ।

नेपालमा रहेको एक मात्र “नेपाली लोकबाजा सङ्ग्रहालय” का परिकल्पनाकार तथा संस्थापक अध्यक्ष रामप्रसाद कँडेल २०५२ सालदेखि सो कार्य गर्दै आउनु भएको छ । धादिङ मलेखुमा जन्मिएर हुर्किनु भएका कँडेलले सानो छँदा पञ्चेबाजा, सारङ्गी, बाँसुरी, शङ्ख, घण्टाजस्ता केही सीमित लोकबाजाहरू मात्र देखेको र सुनेको हुँदा नेपालमा धेरै मात्रामा लोकबाजाहरू प्रयोगमा होलान् भन्ने लागेको थिएन । जब आफू २८ वर्षको हुँदादेखि नै नेपाली लोकबाजाको खोजमा निस्कनु भयो तब कँडेलले विभिन्न जाति र समुदायका १ हजार ३ सय ५० भन्दा धेरै प्रकारका लोकबाजाहरू नेपालमा प्रयोगमा रहँदै आएको कुरा पत्ता लगाउनुभयो । र, यो कुराले उहाँलाई हर्षित मात्र तुल्याएन, यसको संरक्षणमा लाग्न झनै प्रेरित गर्यो ।

अनुसन्धानका लागि नेपालमा निक्कै पुरानो तथा परम्परागत मानिने विधि “विरेचन” को सहायतामा गरिएको अनुसन्धानले नेपालमा सबैभन्दा धेरै आर्य समुदायको लोकबाजा रहेको पत्ता लाग्यो । आर्यहरूको मात्र ३ सय ५० जति लोकबाजा रहेको र त्यसमा पनि वीणा मात्रै सय भन्दा धेरै प्रकारको रहेको कँडेलको अनुसन्धानले पत्ता लगायो । नेपालमा हरेक जाति र समुदायको आ-आफ्नो लोकबाजा रहेको भए पनि बाजाको प्रकार र सङ्ख्या भने त्यस जातिले मनाउने चाडपर्वको सङ्ख्या र उनीहरूको संस्कारअनुसार निर्धारण हुने उहाँले बताउनुभयो । यस क्रममा नेपालमा दोस्रो धेरै लोकबाजा नेवार समुदायमा रहेको पाइयो । नेवार समुदायमा करिब ८७ प्रकारका लोकबाजा रहेका छन् ।

अनुसन्धानले पत्ता लगाएकामध्ये ६ सय ५५ प्रकारका लोकबाजाहरू उहाँले सङ्कलन गरिसक्नु भएको छ । जसमा दुई सय वर्षसम्मका पुराना लोकबाजाहरू रहेका छन् । सङ्कलित ती बाजाहरू काठमाडौँको त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा अवस्थित “नेपाली लोकबाजा सङ्ग्राहलय”मा राखिएका छन् ।

थाङ्का व्यवसाय गर्दै आउनु भएका कँडेलले २०५४ सालमा “नेपाली लोकबाजा सङ्ग्राहलय” लाई एउटा सामाजिक संस्थाको रुपमा दर्ता गरेर नेपाली लोकबाजाको खोज अनुसन्धानमा थप व्यवस्थित भएर लाग्नु भयो ।

कँडेल एक्लैले सुरु गर्नु भएको सङ्ग्राहलयमा अहिले कँडेलसँगै २५ जनाको टोलीले नेपाली लोकबाजाको संरक्षणमा काम गरिरहेको छ ।
हरेक नेपालीले आफ्नो समुदायको कम्तिमा एउटा मात्र भए पनि लोकबाजा बजाउन जान्ने होस् र त्यसबारे ज्ञान होस् भन्ने सङ्ग्राहलयको मुख्य उद्देश्य रहेको कँडेल बताउनुहुन्छ। यसो गर्न सकिएको खण्डमा नेपाली लोकबाजाको संरक्षणमा कसैको मुख ताक्नु नपर्ने कँडेलको तर्क रहेको छ । हामीमा सचेतना जाग्ने हो भने हरेक जाति र समुदायले आ-आफ्नो लोकबाजा संरक्षण गर्न सक्ने उहाँको विश्वास पनि छ ।

डिजी शर्मा

विगत ७०/७५ वर्षदेखि हामीले नेपाली लोकसङ्गीतको विनाश मात्र गर्यौं । सञ्चार माध्यममा कतै यसको चर्चा हुन्न । पाठ्यक्रममा पनि लोकसङ्गीतबारे कतै पढाइ हुन्न । नेपालको राजनीतिक व्यवस्था पनि यसको प्रतिकूल अवस्थामा छ । साङ्गीतिक र सांस्कृतिक रुपमा नेपालीहरू पूरै सुतिरहेको अवस्था छ । मस्त निद्रामा छन् । यसले गर्दा नेपाली लोकसङ्गीत र यससँगसम्बन्धी नेपाली लोकबाजा ओझेलमा पर्ने कुरालाई मध्यनजर गर्दै यसको खोज अनुसन्धान तथा सङ्कलनमा आफू लागि परेको बताउनुभयो । त्यही सुतिरहेका नेपालीलाई सङ्ग्राहलयले शङ्ख बजाएर हुन्छ कि घण्टा बजाएर हुन्छ झकझकाउने काम गरिरहेको बताउनुभयो ।

बाजा मात्रै नभएर आफूहरूले गीत, नाच र बाजा बजाउने तरिका पनि सङ्कलन गर्दै आएको बताउनुभयो । संस्कृति भनेको निजी कुरा हो । आन्तरिक कुरा हो । आफैँले यसको संरक्षण गर्नुको विकल्प हामीसँग छैन । अहिले मान्छेहरू आफ्नो संस्कृति बिर्सेर चरा उडेजस्तै उडिरहेका छन् । जुन दिन चरी गुँड फर्किन्छ तब मात्रै चरीले गुँडको महत्त्व थाहा पाएजस्तै एक दिन मान्छेले पनि आफ्नो संस्कृतिको महत्त्व बुझ्नेछन् भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । त्यसका लागि अहिले आफूहरूले नेपाली संस्कृति र नेपाली लोकबाजाको बिउ जोगाउन मात्रै भए पनि त्यसको अभिलेख राख्ने काम गरिरहेको उहाँको भनाइ छ । भौगोलिक हिसाबले पनि नेपाल साङ्गीतिक रुपमा सम्पन्न छ । भौगोलिक विविधता अनुसारको सङ्गीत पनि भएकाले विश्वको सङ्गीतको गुरुकूल नेपाल भएको उहाँको भनाइ रहेको छ । यसलाई बुझेर यसको संरक्षण र प्रवर्द्धन गर्न सकेको खण्डमा भोलिका दिनमा विश्वबाट नेपालमा सङ्गीत सिक्न आउन सक्ने सम्भावना पनि उत्तिकै रहेको उहाँको विश्वास छ ।

सङ्ग्राहलयमा हालसम्म नेपाली लोकबाजासँग सम्बन्धित ४० हजार घण्टाको अडियो/भिडियो सामाग्री पनि सङ्ग्रहित रहेको र अहिले त्यसलाई डिजिटलाइज गर्ने काम भइरहेको उहाँले जानकारी गराउनु भयो । हरेक लोकबाजा हरेक जाति र समुदायको आफ्नो संस्कार र इतिहाससँग गाँसिएको हुँदा सङ्ग्राहलयमा अवलोकनका लागि आउने नयाँ पुस्ताले ती बाजाहरूलाई बडो चासोका साथ अवोलकन गर्ने गरेको उहाँको अनुभव छ ।

कुनै समय नेपाल सम्पदा संघको कार्यसमिति सदस्यसमेत रहेर काम गरिसक्नु भएका कँडेललाई नेपाली लोकबाजाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मिडियासँग सम्बन्धित १ सय ४० वर्ष पुरानो जापानी एक संस्थाले “निकी एसिया पुरस्कार” को नाममा सम्मानसहित ३० लाख जापानी येन बराबरको रकम प्रदान गर्यो । सन् २०२० मा प्राप्त गरिएको सो पुरस्कार राशिलाई समेत कँडेलले सङ्ग्राहलयको लागि खर्चे गर्ने गरी सङ्ग्राहलयकै नाममा जम्मा गर्नुभयो । सरकारी निकायबाट केही सहयोग पाइन्छ कि भनेर सुरुवाती दिनमा लोकबाजासँग सम्बन्धित केही सरकारी निकायमा धाउने काम पनि गरियो । तर त्यो जुत्ता खियाउने काम मात्रै भएको र त्यसबाट खासै केही नभएपछि आफैँ केही गर्नु पर्छ भनेर लागि पर्नु भएका कँडेलले सङ्ग्राहलयको आफ्नै भवन बनाएर सङ्कलित लोकबाजाहरूको पूर्ण सङ्ग्राहलय बनाउने योजना रहेको सुनाउनुभयो । र, त्यो दिन टाढा नभएको पनि बताउनु भयो ।

राज्यको कुनै निकायले गर्नु पर्ने कामलाई एउटा व्यक्ति र संस्थाले गर्दै आइरहेकोले धेरैको साथ सहयोग पाइरहेको भए पनि सङ्ग्राहलयले प्रयोग गर्दै आइरहेको भवनको विषयलाई लिएर सङ्ग्रहालय यतिबेला कानुनी झन्झटमा फँसेको छ ।

वि. सं. २०६२ सालमा तत्कालिन संस्कृति मन्त्री बुद्धिराज आचार्यले मन्त्रीस्तरीय बैठकबाटै अहिले सङ्ग्रहालय रहेको काठमाडौँको त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको सत्तल प्रयोग गर्न अनुमति दिनुभएको थियो । संस्कृति मन्त्रालयको अनुमति पाएर २०६४ सालदेखि सङ्ग्रहालयले मन्दिरको सत्तल प्रयोग गर्दै आएको भए पनि मन्दिरले ओगटेको जमिन गुठी संस्थानको भएका कारण संस्थानले सत्तल प्रगोगको विषयलाई लिएर बखेडा निकाल्न थाल्यो । अनेक बहाना बनाएर गुठी संस्थानले सङ्ग्रहालयलाई त्यहाँबाट निकाल्ने प्रयास गरेपछि बाध्य भएर न्यायका लागि आफूहरू अदालतसम्म जानु परेको कँडेलले दुखेसो पोख्नु भयो । जिल्ला अदालत र पुनरावेदन अदालतबाट समेत न्याय नपाएपछि अब चाँडै नै आफूहरू न्याय खोज्दै सर्वोच्च अदालतको ढोका ढक्ढकाउन जाने तयारीमा रहेको कँडेलले बताउनु भयो ।

गुठी संस्थानसँग वि. सं. २०७५ सालसम्मका लागि २०७१ मा सम्झौता गरेर सङ्ग्रहालयले २०६४ सालदेखि नै भाडा तिरेर बस्दै आए पनि सम्झौता भएको एक वर्ष पनि नबित्तै सङ्ग्राहलयले प्रयोग गर्दै आएको मन्दिरको सत्तल सङ्गीत विभाग खोल्नका लागि गुठी संस्थानले काठमाडौँ विश्वविद्यालयलाई भित्रभित्रै अनुमति दिएपछि त्रिपक्षीय विवाद सुरु भएको थियो । यस विषयमा गुठी संस्थान र काठमाडौँ विश्वविद्यालयसँग छलफल भए पनि उहाँहरू सङ्ग्रहालयप्रति सकारात्मक नपाइएपछि आफूहरू अदालतको सहारा लिन पुग्नु परेको कँडेलले बताउनुभयो ।

(“सगरमाथा साहित्य प्रतिष्ठान” को फेसबुक पेज र युट्युब च्यानल “ए एस इन्टरटेन्मेन्ट” मार्फत हरेक बिहिबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदै आएको कार्यक्रम “स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।)

युएई