रोजगारीका लागि देश छोड्नेहरुको एउटा ठुलो भिड हामीसँग सधैँ भइरहन्छ । कसैले त्यसलाई बाध्यता भन्छन् । कसैको लागि त्यो रहरको विषय पनि हुन सक्छ । त्यो विवादको विषय पनि रहेन । घरपरिवार र देशभन्दा पर हुनुको मानसिक पीडालाई एकातिर थन्काएर आफ्नो दैनिकी चलाइरहेका छन् हरेक परदेशीले । परदेश आएकाहरु प्रायः सबैको एउटै उद्देश्य रहन्छ, धेरै भन्दा धेरै काम गर्ने र धेरै भन्दा धेरै पैसा कमाउने । त्यसको लागि बिहान काममा जाने बेलुका कोठा फर्किने अथवा बेलुका काममा जाने बिहान कोठा फर्किने । फुर्सदको समयमा घर परिवार तथा साथीभाइसँग कुराकानी गर्ने र थोरै फुर्सद निकालेर सामाजिक सञ्जाल मार्फत देशको हरेक खबरबारे जानकार भइरहने । त्यसदेखि बाहेक अरु खासै दैनिकी हुन्न परदेशीहरुको । तर यसका अलवा साहित्य लेखन र सामाजिक कार्यमा सक्रिय रहनेहरु पनि थुप्रै हुनुहुन्छ प्रवासमा । जसले केही समय बचाएर अथवा केही समय निकालेर भए पनि यसमा आफ्नो सक्रियता देखाउँदै आउनु भएको छ । यसो गर्नेहरुको सङ्ख्या परदेशमा भएका नेपालीहरुको तुलनामा निक्कै कम पाइन्छ उसो त । तर जति छ त्यो पनि पर्याप्त नै हो भन्ने लाग्छ । यही भिडमा एउटा नाम हो कवि अजित क्षेत्री अर्थात अजित उत्सव । स्याङ्जा स्थायी घर भएका कवि उत्सव विगत १३ वर्षदेखि रोजगारीको सिलसिलामा युएईमा हुनुहुन्छ ।
त्योभन्दा पहिले उहाँ बहराइन, साउदी अरबिया र कतार पनि पुगिसक्नु भएको छ रोजगारीकै लागि भनेर । जहाँ पुगे पनि र जहाँ बसे पनि उहाँको साहित्य लेखन र साहित्य कर्म भने निरन्तर चल्दै आएको छ । त्यो पनि एकदमै सक्रियताका साथ । युएईमा पनि उहाँ विगत ५ वर्षदेखि साहित्यिक गतिविधिमा सहभागी हुँदै आउनु भएको छ । युएईमा आएको लामो समयसम्म उहाँ कुनै पनि सङ्घसंस्था अथवा साहित्यिक गतिविधिमा संलग्न हुनु भएन । सन् २००९ मा युएई आउनु भएका कवि उत्सवले ८ वर्षपछि अर्थात सन् २०१७ तिरबाट मात्रै यहाँको साहित्यिक गतिविधिमा सहभागीता जनाउन थाल्नु भयो । युएईमा लामो समयदेखि सक्रिय रहँदै आएको “सिर्जना वाचन डबली” र “सगरमाथा साहित्य प्रतिष्ठान” मा उहाँ सन् २०१७ देखि प्रवेश गर्नु भयो र अहिले जिम्मेवार पदमा रहेर काम गर्दै आउनु भएको छ । डबलीको उहाँ एक सदस्य हुनुहुन्छ भने प्रतिष्ठानको वर्तमान केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्दै आउनु भएको छ । युएईमा यिनै दुई संस्थाले यहाँको समग्र साहित्यिक गतिविधिको नेतृत्व गर्दै आइरहेका छ्न् ।
यसबाहेक अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को भाषा तथा साहित्य प्रवर्धन समिति र भर्खरै गठन भएको अन्तर्राष्ट्रिय नेपाली समाजको युएई राष्ट्रिय कार्यसमिति पनि साहित्यिक गतिविधिमा सक्रिय छन् । यसरी हेर्दा युएईको साहित्यिक गतिविधिमा गर्व गर्न सकिने अवस्था छ । डायस्पोराको साहित्यिक मञ्चमा युएईका नेपाली साहित्यिक अभियानताहरुले दरिलो उपस्थिति देखाउँदै आएका छन् । आफू पनि त्यसै अभियानको एक सदस्य हुँ भन्न पाउँदा गर्व लाग्ने गरेको कवि उत्सव बताउनु हुन्छ ।
प्रवासमा रहेर आफ्नो दैनिक काम बाहेक अन्य कामका लागि समय निकाल्नु र त्यसमा लाग्नु थोरै गाह्रो कुराजस्तो देखिन्छ पनि । तर कवि उत्सवको हकमा भने यो कुरा लागु हुँदैन । प्रवासमा रहेर साहित्य सिर्जना गर्नु र त्यसलाई पुस्तकको रुपमा बजारमा ल्याउनु प्रवासमा भएकालाई झन् सजिलो हुने उहाँको अनुभवले भन्छ । पछिल्लो समय प्रवास साहित्य अथवा डायस्पोरा साहित्यले नेपाली साहित्यमा मारेको गुणात्मक र सङ्ख्यात्मक फड्को यसको ज्वलन्त उदाहरण भएको उहाँ उल्लेख गर्नु हुन्छ । हुन पनि हो अहिले प्रवासमा रहेर साहित्य सिर्जना गर्ने र आफ्नो सिर्जनालाई पाठकसम्म पुस्तकमार्फत पुर्याउनेहरुको सङ्ख्या बढ्दै गएको पाइन्छ । प्रवासमा रहेका लेखकका लागि पठनीय सामाग्रीको भलै कमी होला तर उनीहरु अल्छी छैनन् । यसका साथै उनीहरुसँग लेख्नको लागि निश्चित समय हुने गरेको कवि उत्सव बताउनु हुन्छ । फेरि पनि प्रवासमा रहेर साहित्य सिर्जना गरेर मूलधार भनिएको नेपाली साहित्यमा आफ्नो दरिलो उपस्थिति जनाउन सजिलो भने पक्कै छैन । त्यसका अनेक कारण हुन सक्छन् । पहिलो र मुख्य कारण भनेको मूलधार भनिएको मिडियामा स्थान पाउन गाह्रो । त्यसैगरी मूलधार भनिएको साहित्यमा कलम चलाइरहेका लेखकहरुले प्रवासका लेखकलाई कम आँकलन गर्नु पनि अर्को कारण हुन सक्छ । तर पनि साहित्य लेखन र साहित्यिक कर्म भने रोकिएको छैन प्रवासमा ।
यसकारण पनि प्रवास साहित्यले नेपाली साहित्यको मूल प्रवाहमा वर्तमान समयमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको कुरालाई अस्वीकार गर्न सकिँदैन । प्रवासका लेखकहरुको मुलधारका मिडियामा पहुँच कमी भए पनि यसले उनीहरुको साहित्य लेखन र बजारलाई खासै असर नपार्ने कवि उत्सवको बुझाइ छ । यसरी नेपाली साहित्यको विकास र उन्नयनमा प्रवासी लेखकका अलवा प्रवासमा खुलेका/रहेका साहित्यिक सङ्घ संस्थाहरुले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाइन्छ । पछिल्लो दशकमा प्रवासमा रहेर साहित्यमा सक्रिय हुने संस्थाहरुको संख्या उल्लेख्य छ ।
त्यसमा सबैभन्दा ठुलो साहित्यिक सञ्जाल भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) देखि लिएर अन्य विभिन्न देशमा खुलेका साना ठुला सबै साहित्यिक संस्थाहरुले कुनै न कुनै रुपमा योगदान दिइरहेकै छन् ।
उनीहरुले साहित्यको अलवा गीत, सङ्गीत, कला, नृत्य र चलचित्रमा पनि उत्तिकै ज्ञान, सीप र लगानी खर्चिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरका महत्त्वपूर्ण पुरस्कारहरु स्थापना गरेर साहित्यमा टेवा पुर्याइरहेका छन् । नेपाली भाषालाई अन्तर्राष्ट्रियकरण गर्न, भाषा अनुसन्धान र प्रवर्धनमा प्रवास साहित्यको भूमिका महत्वपूर्ण रहेको कवि उत्सव उल्लेख गर्नुहुन्छ ।
हाल युएईको अबुधाबीमा रहेर रोजगारीसँगै साहित्य कर्ममा सक्रिय रहँदै आउनु भएका कवि उत्सवको स्याङ्जाको चापाकोट नगरपालिका ४, दार्सिङमा जन्म भएको थियो ।
माता अम्बिका क्षेत्री र पिता स्व. भिमबहादुर क्षेत्रीका काइँलो सन्तान हुनुहुन्छ उहाँ । कवितासँगै लेख, कथा र मुक्तकमा पनि उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आउनु भएका कवि उत्सव अन्तर्राष्ट्रिय नेपाली समाज, साहित्य सङ्गम नुवाकोट, शुक्लागण्डकी साहित्य सदन, राप्ती साहित्य समाज लगायत संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ । उहाँले स्नातकसम्मको औपचारिक अध्यन पूरा गर्नु भएको छ । विद्यालयको सुरुवाती चरणबाटै साहित्यप्रति रुचि पलाएको भए पनि साहित्य लेखन भने निम्न माध्यमिक तह पुगेपछि सुरु भएको कवि उत्सव सम्झिनु हुन्छ । कवितासँगको उहाँको मोह जीवनको कुनै कालखण्डमा पुगेर कसैसँग प्रभावित भएर सुरु भएको होइन । तातेताते गर्दैको अवस्थामा बुबाले दिनहुँ बिहान भट्याउने गायत्री मन्त्र र देवी भागवतको श्लोकले पनि उहाँलाई मोहित बनाइरहन्थ्यो । बुबाले श्रीस्वस्थानीको आरती मुखाग्र गाउनु हुँदा कवि उत्सवलाई पनि त्यस्तै गर्ने रहर जाग्थ्यो । दसैँमा बुवाले घटस्थापनाको दिनबाट नवमीको दिनसम्म चण्डी किताब आधा हेरेर र आधा नहेरी भाका हालेर पढेको देख्दा त्यसले पनि उहाँलाई सम्मोहित बनाउँथ्यो । विद्यालय जान र अक्षर पढ्न थालेबाट उहाँले घरमा राखिएका रामायण, महाभारत र गीता पढ्न थाल्नु भयो । त्यसले कवि उत्सवलाई नजानिँदो पारामा साहित्यप्रति रुचि जगाउने काम गर्यो ।
कालान्तरमा उहाँले पनि जानी नजानी कविता कोर्न थाल्नु भयो । बाल्यकालको आफ्नो साहित्यिक यात्राबारे सम्झिँदै उहाँ भन्नुहुन्छ, “विद्यालयमा हुने कथा, निबन्ध, कविता र वक्तृत्वकला प्रतियोगितामा भाग लिएर पुरस्कृत भएर कापी,कलम तथा चकलेट लिएर घर पुग्दा बुबा आमा लगायत छिमेकी खुसी हुने गर्नु हुन्थ्यो । रेडियोमा पत्रमार्फत गीतिकथा र कविता लेखेर पठाइन्थ्यो । पछि १० कक्षामा पढ्दा रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कविता वाचन गरेको याद छ । कलेजका सुरुका दिनमा पनि केही प्रतियोगितामा भाग लिएको थिएँ । त्यसपछि लेखन यात्रामा उतार चढाब आइरह्यो तर प्रतियोगितामा भने कहिल्यै भाग लिइएन ।” यसरी विद्यालय हुँदै क्याम्पसमा आइपुग्दा उहाँले कविता लेखेरै वाह वाह बटुल्न बन्नुभयो ।
२०५८ सालतिर साहित्य सन्ध्याको पहिलो अङ्कमा उहाँको “युद्ध” शीर्षकको कविता छापिएको थियो । साहित्य सन्ध्या स्याङ्जाका अर्का कवि मित्रलाल पङ्गेनीको समूहले सुरु गरेको साहित्यिक पत्रिका थियो । त्यसै पत्रिकामा छापिएको सोही कविता नै कवि उत्सवको पहिलो प्रकाशित कविता बन्न पुग्यो । कविता लेख्ने र प्रकाशित गर्ने क्रम चलिरहे पनि सङ्ग्रह नै निकालिन्छ अथवा कवि नै बनिएला भन्ने उहाँलाई लाग्दैन थियो पहिले । तर पनि लेख्ने कर्म भने चलिरह्यो र आजसम्म चलिरहेको छ ।
अहिले भने कवि उत्सवको पहिलो कवितासङ्ग्रह “आकाश गङ्गाको किनार” प्रकाशित भइसकेको छ । बुबाबाट प्रभावित भएर र उहाँकै हात समाएर कविताको कखरा सिकेको बताउँदै कवि उत्सवले सो सङ्ग्रह बुबा आमाप्रति समर्पित गर्नु भएको छ । गत सालको कात्तिकमा बजारमा आएको सो कविता सङ्ग्रहमा ५६ ओटा कविताहरु रहेका छन् । जसमा मायाप्रेम, देशभक्ति, अन्याय असमानता विरुद्ध विद्रोह, नारी अधिकारका कुरा, गरिब, पिछडिएका र दलित समुदायको मुद्दा, आफ्नै भोगाइ र अनुभूति, राजनीतिक अराजकताप्रति व्यङ्ग्य लगायत कुराहरु समेटिका छन् । हामीले धर्ती देखेका छौँ । खुला आकाश, आकाशका चम्किला तारा, वायुमण्डल लगायत देखेका छौँ तर आकाशगङ्गा देखेका छैनौँ । यसको अँध्यारो पक्षलाई हामीले देखेका छैनौँ । यस्तै हाम्रो समाजमा रहेको दुख, उत्पीडन, असमानता, विभेदको अँध्यारो पनि त्यसैगरी नदेखिएर अथवा दबाएर राखिएको छ । “आकाशगङ्गाको किनार” यिनै कुराहरुको प्रतिकात्मक नाम हो । समग्र सङ्ग्रहमा यो शीर्षकको भावलाई झल्काउने कविताहरु नै रहेको कवि उत्सव जानकारी गराउनु हुन्छ ।
कृति बजारमा आएको पनि केही समय भइसकेको छ । पाठकहरुबाट सकारात्मक र नकारात्मक दुबै किसिमका प्रतिक्रियाहरु प्राप्त भइरहेका छन् । यसले आफूमा थप ऊर्जा प्राप्त भएको, बजारबाट थप हौसला, थप स्याबासी र केही तारिफ मिलिरहेको कवि उत्सव बताउनु हुन्छ । कविता र पुस्तकका माध्यमबाट फ्यान फलोवर र, केही शुभचिन्तक पनि कमाइरहनु भएको छ उहाँले । कहिल्यै देख्दै नदेखेको, चिन्दै नचिनेका मान्छेहरुले पनि आत्मियता दिएर कवि भनेर बोलाउँदा उहाँलाई खुसी मिल्ने गरेको छ । तर कवितासङ्ग्रह प्रकाशित भइसकेपछि आफ्ना केही प्रतिपक्षीहरु पनि देखा पर्न थालेको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “जसरी घर बनाएपछि छिमेकमा दुस्मन बढ्छन्, त्यस्तै नै हो केही प्रगति गर्न लाग्नु भयो भने निश्चय नै खुट्टा तान्नेहरु भेटिन्छन् । पुस्तक प्रकाशनपछि केही व्यक्तिहरु पुरै असफल बनाउन, मेरो बारेमा नकारात्मक धारणा फैलाउन अथवा मेरा लेख स्टाटसहरुलाई गलत अर्थ लगाएर झगडा गर्न आएको पनि देखेको छु ।” तर यसलाई आफूले एकदम सामान्य रुपमा लिएको कवि उत्सव उल्लेख गर्नुहुन्छ ।
पहिलो कृति निकालिसकेपछि थुप्रै कुराहरुको अनुभव गर्ने अवसर पनि मिलेको छ उहाँलाई । कृति जन्माउनु सन्तान जन्माउनु सरह नै भएको उहाँको अनुभव रहन गयो । यसमा एकदम होसियारी हुनुपर्ने रहेछ । पहिलो कृति भएकोले अझ बढी जोखिम र चुनौती हुने रहेछ । बजारबाट कस्तो प्रतिक्रिया आउने होला भन्ने डर पनि हुँदो रहेछ । तर पुस्तक निकालिसकेपछिको खुसी भने अस्पतालबाट निको भएर घर फर्कँदाको जस्तै हुने उहाँ बताउनु हुन्छ । साहित्य सिर्जना मात्र गरिरहनु र त्यसलाई पुस्तकमा समेटेर प्रकाशित गर्नुले पक्कै पनि एउटा सर्जकको जीवनमा फरक पार्ने नै भयो ।
कवि उत्सवलाई पनि यस्तै केही फरक अनुभूति भएको छ कृति प्रकाशनपछि । थप जिम्मेवार बनाएको छ । केही कुरा लेखिरहँदा अथवा केही कुरा बोलिरहँदा आफू जिम्मेवार लेखक हुँ भन्ने बोध भइरहने र आफ्नो लेखकीय भूमिकालाई बचाइराख्नु पर्छ भन्ने एक प्रकारको जिम्मेवारी बोध हुने उहाँ बताउनु हुन्छ । साहित्यको बजारमा नाम चलेका र स्थापित भइसकेका लेखकका पुस्तकहरुसँग उदाउँदै गरेका नव लेखकहरुको पुस्तकले प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ । यो नव लेखकका लागि चुनौतीसँगै परीक्षाको घडी पनि हो । बजारले जहिले पनि ब्रान्ड खोज्छ । त्यसैले नयाँ लेखकले स्थापित हुन थप सङ्घर्ष गर्नै पर्छ । यो अर्थशास्त्रको नियम पनि हो । पुरानोको ठाउँमा नयाँले स्थान बनाउन गाह्रो त छ नै तर असम्भव भने छैन । गुणात्मकता र रचनात्मकताका साथ हस्तक्षेप गर्न सकियो भने पाठकले नयाँलाई पनि स्वीकार गर्छन् भन्ने कवि उत्सवको विश्वास छ । यद्यापि कवि उत्सव साहित्यका पाठकहरुका लागि बिल्कुलै नयाँ नाम भने पक्कै होइन । यसकारण पनि आफ्नो कृतिले पाठकहरुको माया पाउनेमा उहाँ आशावादी हुनुहुन्छ ।
पहिलो पटक कृति निकाल्ने नव लेखकहरुको प्रोत्साहनका लागि भनेर साहित्यपोस्टले स्थापना गरेको “उत्कृष्ट काव्य कृति पुरस्कार” को उत्कृष्ट ९ ओटा कृतिको सूचीमा कवि उत्सवको कृति “आकाशगङ्गाको किनार” पनि परेको छ । उहाँको कृतिले पाठकहरुको माया पाइरहेको छ भन्ने एउटा प्रमाण हो यो पनि । यस मनोनयनलाई आफूले आफ्नो जीतको रुपमा लिएको र यसले थप हौसला मिलेको उहाँ बताउनु हुन्छ ।
कवि उत्सवको कविता कृति “आकाशगङ्गाको किनार” को भूमिकामा अर्का कवि तथा समालोचक महेश पौड्याल लेख्नु हुन्छ । “कवि अजित समय लेख्छन् कवितामा । कवितामा समय लेख्नु भनेको समयको भग्नावेशमाथि सञ्जीवनी उमार्नु हो । यानि, समयले छोडेका डोबहरु जोडेर भविष्यका लागि एउटा गोरेटो बनाउनु हो । एक युवा विविध बाध्यताका बीच विदेशी भूमिमा जीवन खोजिरहेछन् । मन, वचन र चिन्तनभरि साहित्य छ । भाषाको माया छ । संस्कृतिको समझ छ, देश छ, घर छ । तीव्र संवेदनशीलता छ । केही गर्ने आँट छ । अजितका कविताभित्र सम्बन्धहरु छ्न्- असहज, सन्दिग्ध, मृदुल, विसङ्गत, वक्र, असमान, अचम्म अचम्मका । सम्बन्धलाई राजनीतिले छोएको छ । अविश्वासले छोएको छ । भ्रमहरुले छोपेको छ । उता घर छोडेर गएको प्रेमी पनि गुलाफको डसनामा सुतेको कहाँ छ र ? ऊ पनि भर्खर आफ्नै रहरको मलामी गएर फर्किएको छ कोठामा । उसको दलिल छ – छिटै घर फर्कन सक्दैन ऊ । यसरी तोडेको छ क्रुर समयले सम्बन्धहरुको धागो । र, कवि अजितका कवितामा भेटिन्छन, चुँडिएको त्यस धागोका सासाना टुक्राहरु । ठम्याउनु पर्छ मिहिन ढङ्गले । तर पनि एउटा कुरा सत्य छ । समयको बहावको बाटो फेर्ने इच्छाशक्ति सर्जकहरुसँगै छ । कविहरुसँगै छ । समयलाई निल्ने अँध्यारोको पनि शत्रु सिर्जनात्मक इच्छाशक्ति हो । कवि अजितको यो सङ्ग्रह त्यसै इच्छाशक्तिको सन्देशवाहक हो ।”
प्रवासमा रहेर साहित्य सिर्जना गरिरहेकाहरुले यहाँको विषय र आफूले यहाँ रहँदा अनुभव गरेको कुरालाई आफ्नो सिर्जनामा निक्कै कम मात्रामा सम्बोधन गर्ने गरेको पाइन्छ । प्रवासमा रहँदा पनि घरदेशकै बारेमा धेरै लेखेको पाइन्छ । यस सवालमा कवि उत्सवले भने आफ्नो लेखनमा स्वदेश तथा विदेशका आफ्ना अनुभव र अनुभूतिहरु प्रसस्त मात्रामा समेटिरहनु भएको छ । कोरा कल्पनाभन्दा आफू बाँचिरहेको समय र भोगिरहेको वास्तविकतालाई नै लेख्न मन पराउने कविभित्र पर्नु हुन्छ उहाँ । जुन उहाँको लेखनमा पाइन्छ पनि ।
आफ्नो कविता कृति प्रकाशनको केही समयपछि कवि उत्सवले फेसबुकमा “कविताका पाठक छैनन्, कविता कृति बिक्री हुँदैनन्, अब कविता लेखिँदैन, बरु कथा लेखिन्छ ।” भन्ने आशयको एउटा स्टाटस राख्नु भएको थियो । लामो समयदेखि कवितामा सक्रिय रुपमा कलम चलाउँदै आएको एउटा कविले पहिलो सङ्ग्रह निकालेपछि यस्तो भन्नु पर्ने अवस्था किन आयो होला ? भन्ने जिज्ञासा मेरो थियो ।
खासमा आफूले पाठक र शुभचिन्तकहरुको प्रतिक्रिया बुझ्नको लागि मात्रै सो स्टाटस लेखेको उहाँ स्पष्ट पार्नु हुन्छ । आफूले कथा पनि लेख्ने र धेरैले अब दोश्रो पुस्तकको रुपमा कथासङ्ग्रह निकाल्न सुझाब दिइरहनु भएको अवस्थामा बजारको चाहना बुझ्न मात्रै सो स्टाटस राखिएको उहाँ दोहोर्याउनु हुन्छ । खासमा कविता बिक्रीको लागि नलेखिने र कविता बिक्री भएन भनेर चिन्तित हुने विषय पनि होइन भन्ने कुरामा कवि उत्सव स्पष्ट हुनुहुन्छ । तर साहित्यको अन्य विधाको तुलनामा कविताका पाठक र कवितासङ्ग्रहको बिक्रीको मात्र कम छ अथवा कम हुन्छ भन्ने कुरामा भने कवि उत्सव सहमत हुनुहुन्छ । कविताका निश्चित पाठक हुने भएकाले अन्य विधाका पुस्तकले जस्तो कविता सङ्ग्रहले बिक्रीको त्यस्तो उल्लेख्य रेकर्ड राख्न नसक्ने उहाँको बुझाइ छ । तथापि कविता जीवन्त रहने भएकोले यसले कविलाई अमर बनाइराख्न सक्छ ।
आज लेखिएका कविता अथवा कवितासङ्ग्रहलाई दशकौँपछि पनि पाठकले खोजिरहन सक्छन् । तसर्थ अहिले तत्कालै कविताको बजार छैन भनेर आत्तिनु नपर्ने उहाँको सुझाब छ । साहित्य लेखनबाट महत्त्वपूर्ण उपलब्धी पाउने गरी साधना र सेवा गरेको जस्तो नलागे पनि अहिलेसम्म यसबाट जे जति प्राप्त भएको छ त्यसमा आफू सन्तुष्ट रहेको उहाँको धारणा छ । साहित्य लेखनलाई लिएर आगामी दिनमा त्यस्तो खास योजनाहरु केही नभए पनि निरन्तर साहित्य सिर्जनमा लागिरहने र त्यसलाई प्रकाशन गर्दै लैजाने योजना रहेको कवि उत्सव सुनाउनु हुन्छ ।
कवि अजित उत्सवको नवीनतम कवितासङ्ग्रह “आकाशगङ्गाको किनार”बाट शीर्ष कविता :
हजुरले हेर्छु भन्नुभयो र देखाइदिएँ
मेरा जीवनका पानाहरु
जहाँ मैले मयुँरको प्वाँखले
सजाइराखेको थिएँ मेरा सपनाहरु
मैले मेरा दुखका पानाहरुलाई त
हजुर आउनु अगावै
च्यातेर राखिसकेथेँ झोलाभित्र
हजुरले हेर्छु भन्नुभयो र देखाइदिएँ
अनुहारभरि खुसी र हाँसो
त्यस अगावै मैले
पीडाका पिरामिडहरुलाई लुकाइसकेथेँ परेलीभित्र
उड्छु भन्नुभयो र उघारिदिएँ मेरो आकाश
तर हजुर आउनु अगावै मैले लुकाइसकेथेँ
मलाई थुनिएका पिँजडाहरु
भन्नोस्
कसरी हुन सक्छ हजुर र मेरो एउटै भूगोल ?
कसरी हुन सक्छ एउटै बगैँचा ?
कसरी पिउन सक्छौँ एउटै मूलको पानी ?
कसरी रुझ्न सक्छौँ एउटै झरीमा ?
दिनमा सूर्य चम्किन
हजुरलाई आफ्नै संसार प्यारो छ
मलाई बादलले ढाकिरहेको मेरै आकाश प्यारो छ
महोदय,
जे देखिन्छ त्यो मात्र सत्य हुँदैन
नदेखिएका हजारौँ खाल्डाहरु
अँध्यारोमा यसरी छोपिरहेका हुन्छन्
हजुरले देखेको उज्यालोभन्दा धेरै पर
आकाशगङ्गाको किनारमा
मैले प्रेम गर्ने
मेरो आफ्नै अँध्यारो क्षितिज बाँचिरहेको छ ।
(साहित्यपोस्टका लागि कवि अजित क्षेत्री उत्सवसँग गरिएको कुराकानीमा आधारित ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।