आवाज सुनेर अब लेख्नुस् कविता भन्नुभाथ्यो । पछि रिजल्ट आइसकेपछि नजर गयो स्क्रिनमा, घडी पो रहेछ ।

कञ्चनपुर जिल्लाको महेन्द्रनगर निवासी कवि पिङ्की बोहोरा “द पोइट आइडल” को उत्कृष्ट १० मा पुगेर बाहिरिनु भएको छ । पोइट आइडलको भोटिङ राउण्डबाट आउट हुने उहाँ पाँचौं तथा दोस्रो महिला कवि बन्नु भएको छ । गत फागुन ११ गते बिहीबार प्रसारित आइडलको १७ औँ एपिसोडबाट कवि पिङ्की बाहिरिनु भएको हो । यो हप्ता फागुन १८ गते बिहीबार ताप्लेजुङ निवासी कवि लक्ष्मीप्रसाद मादेन अर्थात लेकाली कान्छा मुक्कुमले पनि आइडलको मञ्च छोड्नु परेको छ ।

आइडलको उत्कृष्ट १४ मा पाँच जना महिला कविहरु छानिएका थिए । अब तीन महिलासहित ८ जना कविहरु प्रतिस्पर्धामा छन् ।  बाँकी रहेका ८ कविहरुलाई अब भने एउटै समूहमा राखिएको छ । यसअघि A र B गरी कविहरुलाई दुई समूहमा विभाजन गरिएको थियो । पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार राती ८:३० बजे प्रसारण हुन्छ भने पछि OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ ।

ठ्याक्कै मिति याद नभए पनि स्कुले जीवनबाटै साहित्यमा कलम चलाउन थालेको कवि पिङ्की बताउनु हुन्छ । तर धेरै पछिसम्म पनि  उहाँको कविता लेखनबारे अरुलाई जानकारी थिएन । कोरोना कालको लकडाउनपछि मात्रै उहाँले आफ्ना कविताहरु सार्वजनिक गर्न थाल्नुभयो सामाजिक सञ्जालमार्फत ।

सोही बेला आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा तेस्रो स्थान पनि हासिल गर्नुभयो । कविताका अलवा गजल र मुक्तकमा पनि उहाँको कमल चल्छ । लेखनसँगै उहाँ गीत सङ्गीतमा पनि उत्तिकै रुची राख्नुहुन्छ । भोलिका दिनमा सङ्गीतको पाटोलाई पनि अगाडि बढाउने योजना रहेको उहाँ बताउनु हुन्छ । आइडलको मञ्चमा उहाँले देखाएका प्रस्तुतिका केही अंशले  गायनमा उहाँको लगाव छ भन्ने कुरा प्रमाणित गरिसकेको छ ।

कवि पिङ्कीको जन्म २०५१ साल कार्तिक ०७ गते  महेन्द्रनगर हालको भिमदत्त नगरपालिका -१४ मा भएको थियो । माता प्रेमजला बोहोरा र पिता दलबहादुर बोहोराकी उहाँ कान्छो सन्तान हुनुहुन्छ । स्नातकोत्तरसम्मको अध्ययन उहाँले महेन्द्रनगरबाटै पूरा गर्नुभएको हो । साहित्य र गायनमा केही गर्ने सपना बोकेर पछिल्लो करिब दुई वर्षदेखि भने उहाँ काठमाडौँस्थित जडिबुटीमा बस्दै आउनुभएको छ ।

काठमाडौँ बस्दै गर्दा जीवन यापनका लागि जागिर पनि गर्दै आउनुभएको छ । तर पोइट आइडलको विभिन्न चरण पार गर्दै उत्कृष्ट १४ मा पुगेपछि खाईपाई आएको जागिर छोड्नु पर्ने स्थिति आयो र उहाँले छोडिदिनु पनि भयो । कविता र पोइट आइडलप्रतिको प्रेम यहाँ देखिन्छ । उहाँको अध्ययन व्यवसायिक व्यवस्थापन भएकोले त्यसैसँग सम्बन्धित जागिर एक गैरसरकारी संस्थामा गरिरहनु भएको थियो । पोइट आइडलको यात्रा तय भएपछि भने जागिरबाट राजीनामा दिनुभयो ।

कवि पिङ्की केही संस्थामा आबद्ध भएर संस्थागत रुपमा सक्रिय पनि हुनुहुन्छ । दोधारा चाँदनी साहित्य समाज र नेपाली देशभक्त युवा समाजमा कार्यक्रम प्रस्तोता हुनुहुन्छ । त्यसैगरी साहित्यिक चौतारी नेपाल सुदूरपश्चिम शाखामा सहसचिव भएर उहाँले आफ्नो सक्रियता देखाइरहनु भएको छ ।

कविता के हो? वाद हो संवाद हो? भाव हो कि अनुभुती हो? उहाँलाई थाहा छैन भन्नुहुन्छ ।

तर जब उहाँ समाजमा विकृति  विसङ्गति देख्नुहुन्छ, जब केही पीडा झेल्नु हुन्छ तिनै कुराहरूलाई शब्दमा उनेर कविता बनाउने गरेको उहाँ सुनाउनु हुन्छ ।

“न थाहा छ म को हुँ ? न थाहा छ के हुनेछु ? किनकि समय छ छैन भन्ने पनि ज्ञात छैन मलाई । भूत, भविष्य, वर्तमान भन्नुहुन्छ ? तर म याद गर्छु आफूलाई र कल्पिन्छु सधैँ सरल” उहाँ भन्नुहुन्छ ।

अब लागौँ यिनै कवि पिङ्की बोहोरासँग पोइट आइडलसँग सम्बन्धित रहेर गरिएको कुराकानीको सम्पादित अंशतर्फ ।

===

अहिले कस्तो लागिरहेको छ ?

– ठिकै/राम्रै लाइराछ ।

पोइट आइडलको  विभिन्न चरण पार गर्दै भोटिङ राउण्ड अर्थात उत्कृष्ट १४ मा पुग्नु अनि उत्कृष्ट १० बाट बाहिरिनु पर्दा कस्तो हुँदो रैछ ?

– पाउँदा खुसी र गुमाउँदा दुखी हर कोही हुन्छ होला नि, होइन र?

हिजोको कवि पिङ्की र अहिले पोइट आइडलपछिको कवि पिङ्कीमा के कति परिवर्तन भएको महसुस गरिरहनु भएको छ ?

– हिजो सायद आफैँले चिनेको थिइनँ र आज देश दुनियाँले कवि हौ भनिदिए ।

पोइट आइडलको मञ्चमा एकपछि अर्को गर्दै तपाईंको कविता लेखन र प्रस्तुति निखारिँदै आएको थियो । कविता भनेको अभ्यास पनि हो रहेछ ? कि त्यहाँ कुनै विशेष प्रशिक्षण हुने गर्थो ?

– अभ्यासले नै हरेक चिज सशक्त बन्दै जान्छ । अझ पोइट आइडलमा कविता लेख्नका लागि शीर्षक दिने फर्मेट नै खतरा छ नि । अन द स्पट मात्रै थाहा हुन्छ र शीर्षक पाएको ३०-४० घण्टामै लेखेर बुझाई सक्नु पर्छ । त्यो अवस्थामा मोबाइल फोनसमेत उपलब्ध हुँदैन ।

पोइट आइडलको मञ्चमा म आफैँलाई पनि तपाईं अलिक परैसम्म पुग्नुहुन्छ भन्ने लागेको थियो । तर त्यस्तो भएन । उत्कृष्ट १४ मा पुगिसकेपछि तपाईं आफूले चाहिँ कहाँसम्म पुगिएला भन्ने सोच्नु भएको थियो ।

– म यात्राको मजा लिँदै थिएँ । गन्तव्य सायदै सोचिनँ ।

 

हिजोका दिनमा अन्य रियालिटी शोका प्रतिस्पर्धीहरुले भोट माग्ने गरेको तपाईं हामीले देख्दै आएका थियौँ । आज आफ्नै लागि भोट माग्नु पर्दा चाहिँ कस्तो हुँदो रैछ ?

– यो चाहिँ मेरा लागि ३० मिनेटमा कविता फुराउनुभन्दा गाह्रो काम हो । हा हा हा …

यसअघिका एपिसोडहरुमा रेड जोनमा पर्ने कविहरुलाई कविता लेख्नका लागि दिइने विषयभन्दा यो पटक फरक ढङ्गले दिइएको थियो । आँखामा पट्टि बाँधेर दिइएको विषय थाहा पाउनु पर्ने थियो । कस्तो लाग्यो त्यो तरिका ?

– खतरै लाग्यो नि तरिका ।

रेड जोनमा पर्ने तपाईंहरु दुई जनाको आँखामा पट्टि लगाइसकेपछि भित्ताको डिजिटल स्क्रिनमा एउटा घडी देखाइयो र घडी बजेको आवाज सुनाइएको थियो । त्यसैको आधारमा कविता लेख्नु पर्ने थियो । सुरुमा तपाईंले चाहिँ  ठम्याउनु भएको थियो त्यो के को आवाज थियो भनेर ?

– मलाई घडीको अलार्म वा टाइम बम के होला भन्ने लागेको थियो । घडी नै रहेछ । तर म बेकुफ, कविता लेखेर प्रस्तुत गरिसक्दा पनि एकपल्ट फर्केर स्क्रिनमा हेरिनँ । किनकि आवाज सुनेर अब लेख्नुस् कविता भन्नुभाथ्यो । पछि रिजल्ट आइसकेपछि नजर गयो स्क्रिनमा, घडी पो रहेछ ।

त्यसरी आवाज सुनेको भरमा, के को आवाज हो भन्ने पत्ता लगाएर, आधा घण्टाभित्र कविता लेख्न कत्तिको गाह्रो भयो ?

– गाह्रो नि, आवाज मात्रै सुनेर कविता फुराउनु ।

तपाईं आइडलको मञ्चबाट बाहिरिँदै गर्दा निर्णायकहरुले तपाईंका लागि र तपाईंको बारेमा निक्कै राम्रो प्रतिक्रिया राख्नुभएको थियो । कसरी लिनुहुन्छ त्यसलाई ?

– प्रतिक्रिया राम्रै दिनुभो । त्यसलाई सहजै ग्रहण गरेँ । किनकि उहाँहरुले मभित्र जे देख्नुभो, त्यही भन्नुभो ।

तपाईंसँगै समूह A मा रहनु भएका  कवि मिल्सन राईसँग आफू पनि रेड जोनमा पर्दा कस्तो महसुस गर्नुभएको थियो ?

– मिल्सन छन्द र गद्य दुबैमा दखल राख्ने कवि हुन् । रेड जोनमा पर्दा जोसँग परे नि उस्तै हो प्रक्रिया । एउटाले मञ्च छोड्नै पर्छ ।

योभन्दा अघिल्लो एपिसोडमा पनि तपाईं रेड जोन अर्थात बटम टुमा पर्नु भएको थियो । लगातार दोस्रो पटक पनि बटम टुमा पर्दा चाहिँ कस्तो लागेको थियो ?

– जति पटक परे नि त्यो जोन त मौतका कुवा नै हो नि ।

यसअघि बटम टुको अन्तिम प्रतिस्पर्धामा कवि छविना मगरलाई १८ अङ्कले पराजित गर्दै आइडलमा आफ्नो स्थान सुरक्षित गर्नुभएको थियो । यो पटक कवि मिल्सनसँग प्रतिस्पर्धा गर्दैगर्दा पहिले जस्तै यो पटक पनि आफ्नो यात्रा निरन्तर रहन्छ अथवा यो पटक चाहिँ बाहिरिनु पर्छ, के लागेको थियो ?

– निर्णय पर्खिएँ, जे आए नि स्वीकार्छु भनेर ।

नेपालका अन्य रियालिटी शोलाई आधार मानेर भन्ने हो भने कार्यक्रमले  स्रष्टालाई एउटा पहिचान बनाउन सजिलो त बनाइदिन्छ तर त्यो पहिचानलाई लामो समयसम्म सम्हाल्न नसकेको जस्तो देखिन्छ, सक्रियताको हिसाबले । तपाईंको चाहिँ भोलिका दिनमा कविता लेखनको यात्रालाई कसरी अगाडि बढाउने योजना छ अथवा कसरी अघि बढ्ला ?

– मैले आफ्नो तवरबाट नेपाली कला साहित्यलाई सक्दो समय दिने प्रयत्न गर्नेछु । तर चर्चा पाउनका लागि होइन कि, नेपाली साहित्य क्षेत्रमा केही न केही आफ्नो योगदान दिन सकूँ।

आइडलको क्लोज क्याम्पको माहोल चाहिँ कस्तो थियो ? साथै त्यहाँ हुने कविहरु आफैँमा एक अर्काका प्रतिस्पर्धी पनि हुन् । आपसी सम्बन्ध चाहिँ कस्तो रह्यो ?

– रमाइलो थियो । हामी प्रतिस्पर्धीभन्दा बढी पारिवारिक भइसकेका थियौँ ।

विभिन्न विषय दिएर कविता लेखाउने पोइट आइडलको तरिका कस्तो लाग्यो ?

– बडो गज्जबको । सायदै कसैले कल्पना गर्न सक्दो हो त्यसरी शीर्षक दिने कुरा ।

द पोइट आइडल हुँदैछ भनेर कहिले/कसरी थापा पाउनु भएको थियो  र यो समाचार पहिलो पटक सुन्दा/पढ्दा कस्तो महसुस गर्नुभएको थियो ?

– फेसबुकमा बुस्ट गरिएको थियो । साथै एकजना साथीले पनि भन्नु भएको थियो र अब चाहिँ कविहरुका पनि दिन आए भन्ने लागेको थ्यो ।

पोइट आइडलमा भाग लिएर कहाँसम्म पुग्छु भन्ने सोच्नु भएको थियो  सुरुमा चाहिँ ?

– कहाँसम्म भन्दा पनि जहाँसम्म पुगिनेछ यात्रा, यादका सङ्ग्रहालयमा अविस्मरणीय रहनेछ भन्ने लागेको थ्यो ।

पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नुभयो कविता सम्बन्धि ?

– आशु कवि बन्न ।

पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमहरुले नेपाली कविताको क्षेत्रमा कस्तो  प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?

– अहिलेको युवा पुस्तालाई कविताप्रति मोहित बनाएको छ र यसरी प्रस्तुत गर्दा पनि कविताको रस त खासै मर्दैन रहेछ । बरु कविता भन्ने बित्तिकै मुख बङ्ग्याउनेहरुले पनि खोजीखोजी कविता हेर्न र सुन्न थालेका छन् ।

पोइट आइडलको यात्रा अवधिभरमा अहिले तपाईंले सबैभन्दा धेरै मिस गर्ने कुरा के हो ?

– याद आउने भनेको त्यही विषयवस्तु पाएर कविता लेखेर प्रस्तुति दिँदासम्मको यात्रा वा भनौँ प्रक्रिया र पोइट आइडलले जुराएको राष्ट्रिय र अन्तर्राष्ट्रिय कविहरुसँगको भेट ।

पोइट आइडलको उत्कृष्ट १४ मा छानिएर क्लोज क्याम्पमा बस्नु पर्ने भएपछि आफूले खाँदै आएको जागिर नै छोडिदिनु भयो । बिदा मिलाएर पनि आउन सकिन्थ्यो होला नि ?

– बिदा मिलाउन नै नसकिने जस्तो अवस्था देखाउनु भयो अफिसबाट । मैले त बेतलबी बिदासम्म पनि मिल्छ भने भन्ने कुरा गरेको हो । त्यत्रो लामो समय, अब कति हो भन्ने पनि यकिन छैन भन्ने कुरा भयो । ठिक छ उसो भए,  पछि केही  न केही भइहाल्छ जिन्दगीमा । अहिले अब छोडिन्छ भने पनि ठिक छ भन्ने लागेर मैले छोडेको हो ।

जाँदाजाँदै अन्त्यमा केही ?

– जाँदाजाँदै, अमनप्रताप अधिकारी सर अनि पोइट आइडल सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहन्छु । साथै अनलाइन मिडिया पार्टनर “साहित्यपोस्ट” र हजुरलाई हार्दिक धन्यवाद ।