डिजी शर्मा, झापा । पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुन: निर्वाचित हुनुभएको छ ।

बिर्तामोडमा शुक्रबार सम्पन्न निर्वाचनमा खसेको २ सय ३ मत मध्ये सर्वाधिक १ सय ३१ मत प्राप्त गर्दै पत्रकार गिरी लगातार दोस्रो कार्यकालका लागि महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

पत्रकार गिरीसँगै अध्यक्ष पदका लागि पत्रकारहरु टीकाराम नेपाल ‘नेती’, डिकेश लामा र राजेन्द्र गौतम प्रतिस्पर्धामा हुनुहुन्थ्यो । त्यसमा नेतीले ४, लामा र गौतमले बराबर ३४-३४ मत प्राप्त गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष गिरी पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । अध्यक्षमा निर्वाचित भए लगत्तै उहाँले पत्रकारहरुको हित र महासंघको संस्थागत विकासमा सेवा गर्ने अवसर पुनः प्रदान गरेकोमा सम्बन्धित सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

यहाँ कसैकाे हार र कसैकाे जित नभई केवल प्रजातान्त्रिक प्रक्रिया पूरा गरेको बताउँदै अध्यक्ष गिरीले   निर्वाचनका क्रममा विभिन्न समूह बनाएर अघि बढे पनि अब ती सबै प्रक्रिया पूरा भएको र सबै पत्रकारहरु महासंघको छातामा एकढिक्का भएर व्यवसायिक हितमा अघि बढ्नु पर्ने अभिभारा रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी महासंघको उपाध्यक्षमा १ सय २२ मत प्राप्त गर्दै पत्रकार सुव्रत न्यौपाने विजयी हुनुभएको छ  । उहाँसँगै उपाध्यक्षको प्रतिस्पर्धामा रहनुभएका पत्रकार गणेशमान मुखियाले ८१ मत प्राप्त गर्नुभएको छ  । त्यस्तै महिला उपाध्यक्षमा १ सय ६ मत प्राप्त गर्दै विनिशा गौतम निर्वाचित हुनुभएको छ । उहाँसँगै प्रतिस्पर्धामा रहनुभएकी पत्रकार शुशीला सङ्ग्रौलाले ८९ मत प्राप्त गर्नुभएको छ ।

यता सचिव पदका लागि भएको निर्वाचनमा भने पत्रकारद्वय प्रदिप परियार र राजु पाठकले बराबर ९९-९९ मत प्राप्त गर्नुभएको छ । उहाँंहरुको हकमा प्रचलित कानून, विधान र निर्वाचन कार्यविधि अनुसार टुङ्गो लगाइने निर्वाचन समितिले जनाएको छ ।

सह-सचिवमा पत्रकार रमेश तिवारी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । प्रतिस्पर्धामा रहनुभएका अर्का पत्रकार नरेन्द्र ढकालले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि पत्रकार तिवारी निर्विरोध चयन हुनुभएको हो ।

त्यसैगरी सह-सचिव (समावेशी) तर्फ भने पत्रकार चिरञ्जीवी घिमिरेलाई पराजित गर्दै पत्रकार तिलक तामाङ योञ्जन विजयी हुनुभएको छ ।कोषाध्यक्षतर्फ ९९ मत प्राप्त गर्दै पत्रकार मुक्तिनाथ पौडेल निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धामा रहनुभएका पत्रकारद्वय पुष्पलाल खड्काले ५४ र शम्भुजित दाहालले ४६ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी कार्यसमिति सदस्य (खुला) पदका लागि भएको निर्वाचनमा पत्रकारहरु अस्मिता साँखी (१४८), ईशा प्रधान (१३५),  दिपेश राजवंशी (११७), देवेन्द्र प्रसाईं (९५), द्रोण अधिकारी (१२८), भूमिराज परजुली (९४),  विनोद पाण्डे (१३३), सुदिप अधिकारी (१२६), र स्वस्तिका आचार्य (१३३) मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

त्यसैगरी सदस्य (महिला) तर्फ १ सय १२ मत प्राप्त गर्दै पत्रकार भू-कुमारी लिम्बू निर्वाचित हुनुभएको छ  । त्यस्तै सदस्य (आदिवासी जनजाति) तर्फ १ सय १० मत प्राप्त गर्दै पत्रकार इन्द्रकुमार राई विजयी हुनुभएको छ ।

सदस्य (दलित) पदका लागि पत्रकार मनकुमार गदाल निर्विरोध चयन हुनुभएको छ भने सदस्य (मधेशी) तर्फ १ सय मत प्राप्त गर्दै पत्रकार सन्तोष शर्मा निर्वाचित हुनुभएको छ । प्रदेश परिषद सदस्य (आदिवासी जनजाति) तर्फ पत्रकारद्वय आत्माराम राजवंशी र पुकारचन्द्र राजवंशी निर्विरोध चयन हुनुभएको छ । त्यस्तै प्रदेश परिषद सदस्य (खुला) तर्फ पत्रकारहरु अनुषा चुँडाल, उमानाथ भण्डारी, कमला श्रेष्ठ, तुलसीप्रसाद निरौला, रश्मीशेखर सुवेदी, रामप्रसाद निरौला, लक्ष्मी उप्रेती, विष्णुप्रसाद पौडेल, वेणुप्रसाद अधिकारी, सुष्मा राजवंशी र सुष्मादेवी नेपाली निर्विरोध चयन हुनुभएको छ ।

त्यस्तै केन्द्रीय परिषद सदस्यतर्फ पत्रकार लीला अनमोल र केन्द्रीय परिषद सदस्य (आदिवासी जनजाति) तर्फ पत्रकार विशाल नेम्वाङ निर्विरोध चयन हुनुभएको छ । त्यसैगरी केन्द्रीय परिषद सदस्य (खुला) तर्फ अर्जुन कार्की (८९) र विष्णु सुब्बा (१०१) मतका साथ निर्वाचित हुनुभएको छ ।

झापामा क्रियाशील २ सय २० जना पत्रकारहरु महासंघमा आवद्ध रहेको र त्यसमध्ये २ सय ५ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएको महासंघले जनाएको छ ।  बिर्तामोडस्थित अग्रसेन भवनमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।