डिजी शर्मा, युएई । लेखनको छोटो समयमै मुक्तक विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल मुक्तककार निलाञ्जला भारद्वाजको पहिलो मुक्तक सङ्ग्रह “निलाञ्जला” प्रकाशनमा आएको छ । मुक्तकालय नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक भव्य समारोहका बीच सो मुक्तक सङ्ग्रहको लोकार्पण गरिएको हो ।
हालसालै स्थापना भएको मुक्तकालय नेपालको अध्यक्ष समेत रहनुभएकी काठमाडौं निवासी मुक्तककार भारद्वाज पछिल्लो एक दशकदेखि लेखनमा सक्रिय रूपमा लागिरहनुभएको छ ।
गीतकार यादव खरेलको प्रमुख आतिथ्य तथा आयोजक मुक्तकालय नेपालका संरक्षक तथा मुक्तककार सुनिल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक तथा प्राध्यापक ज्ञानु अधिकारीले कृतिमाथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बाग्लुङ निवासी शिक्षक तथा साहित्यप्रेमी डिल्लीराज अर्यालले मुक्तककार भारद्वारको बाल्यकाल र विद्यालय जीवनबारे व्याख्या गर्नुभएको थियो ।
मुक्तककार भारद्वाजकी सासु-आमा अमृता ढकाल र ससुरा-बा कृष्ण ढकालको विशेष आतिथ्यता रहेको कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, सञ्चारकर्मी अच्युत घिमिरे, मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे, घुम्तिमा मुक्तकका अध्यक्ष निर्मल रमण पराजुली, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल, नेपाल मुक्तक प्रतिष्ठानका महासचिव यादव भट्टराई, मुक्तककारद्वय राजन सिलवाल र रमेश पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मुक्तकालय नेपालका सचीव देवी बाँस्कोटाको स्वागत मन्तव्य तथा गजलकार विपिन मर्मले सञ्चालन गर्नुभएको कार्यक्रममा मुक्तककार भारद्वाजकी छोरी वर्षा ढकालले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा मुक्तककारहरू कल्पना काफ्ले, लक्ष्मी ढकाल, अजिता क्रान्ति दाहाल, आस्था निरौला, उदास कार्की, मीना चौलागाईं, चेतनपथ माधव, हिमा घर्ती र अञ्जिता रावतले विमोचित कृतिभित्रबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।
विभिन्न विषयमाथि लेखिएका ४ सय २ ओटा मुक्तक समावेश गरिएको सङ्ग्रह “निलाञ्जला”को प्रकाशकको रूपमा मुक्तककार भारद्वाजका छोरा बादल ढकाल रहनुभएको छ ।
मुक्तक सङ्ग्रहको मूल्य ३ सय रुपैयाँ राखिएको छ । विमोचनकै दिन ४ सय दुई प्रति कृति बिक्री भएको आयोजकका तर्फबाट मुक्तककार सुनिल अधिकारीले जानकारी गराउनुभयो ।
बाग्लुङमा हुर्किएर विद्यालयसम्मको पढाइ त्यहीँ पूरा गर्नुभएकी मुक्तककार निलाञ्जलाको जन्म भने भारतको देहेरादुनमा भएको थियो । पिता नरीनारायण
पोखरेल र माता सुमित्रा पोखरेलको कोखबाट २०३५ साल श्रावण २० गते उहाँको जन्म भएको थियो ।
मुक्तकका अलवा उहाँ कहिलेकाहीँ कविता र गजलमा पनि कलम चलाउने गर्नुहुन्छ । नेपाली मुक्तक विधामा सशक्त नारी हस्ताक्षरको रुपमा आफ्नो परिचय बनाउन सफल मुक्तककार निलञ्जलाले विभिन्न साहित्यिक संस्थामा आवद्ध भएर काम गरिसक्नुभएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।